ह्वीलचेयर प्रयोगकर्तालाई त्रिविका कक्षाकोठा पुग्नै सकस
देशकै पहिलो विश्वविद्यालय त्रिविको केन्द्रीय क्याम्पसका कक्षाकोठा अपाङ्गतामैत्री नहुँदा अपाङ्गता भएका विद्यार्थीहरूले सास्ती भोग्दै आएका छन्।
मंसीर १७ गते विद्यावारिधिको प्रवेश परीक्षा दिन कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) पुगेका विद्यार्थीकाे ह्वीलचेयर परीक्षा कोठासम्म पुग्न सकेन। उनको परीक्षा शिक्षा भवनमा परेको थियो। बिहान ११ बजे शुरू हुने समाजशास्त्रतर्फको परीक्षाका लागि काठमाडौंको जोरपाटीबाट एक घण्टाअगावै पुगेका उनलाई परीक्षा हलसम्म पुर्याउन क्याम्पस प्रशासनले पनि पहल गरेन। परीक्षा दिन आएका विद्यार्थीले नै उनलाई ह्वीलचेयरसँगै उचालेर परीक्षा हलसम्म पुर्याएका थिए।
धादिङकी दुर्गा श्रेष्ठ त्रिविको कीर्तिपुरस्थित छात्रावासमा बसेर अध्ययन गर्छिन्। कक्षा १० पढ्दै गर्दा देखिएको ट्युमरले एउटा खुट्टा काट्नुपरेपछि अहिले उनी बैसाखीको भरमा छिन्। शिक्षाशास्त्रमा स्नातकोत्तर तहकी विद्यार्थी उनलाई कक्षाकोठासम्म पुग्नै सकस पर्छ। न भवन अपाङ्गता अनुकूल छ न त कक्षाकोठा।
“हाम्रो विभाग छिर्न सानो र्याम्प त बनाइएको छ, तर कक्षाकोठा छिर्न सिंढी नै उक्लनुपर्छ,” उनी भन्छिन्। र्याम्प नहुनुको असर ह्वीलचेयरमा हिंड्नुपर्ने विद्यार्थीलाई अझ बढी पर्छ। अरू विद्यार्थीले सहयोग गरेर कक्षाकोठासम्म नपुर्याइदिए उनीहरूले पढ्नै पाउँदैनन्।
त्रिविका प्रायः भवन २०१६ सालतिर बनेका छन्। शिक्षाशास्त्र केन्द्रीय विभागको भवन पनि अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग यूएसएआईडीको सहयोगमा सोही वर्ष बनेको विभाग प्रमुख कविप्रसाद पोखरेल बताउँछन्। उनका अनुसार, त्यति वेला अपाङ्गता अनुकूल भवन बनाउने सोच नै थिएन। “अब भने अपाङ्गतामैत्री संरचनाको आवश्यकता महसूस भएको छ,” उनी भन्छन्, “यसको शुरूआत शौचालयको संरचना सबैलाई अनुकूल बनाउने गरी गर्दै छौं।”
शिक्षाशास्त्र विभागमा ह्वीलचेयर जाने सानो र्याम्पसम्म रहेकोमा मानविकी, व्यवस्थापन सङ्कायका भवनमा त त्यो पनि छैन। विश्वविद्यालय परिसर पुग्नासाथ टाढैबाट देखिने ठूलो घडी भएको भवन हो, मानविकी भवन। त्यहाँ मूल ढोकाबाट पस्दा २० वटाभन्दा बढी भर्याङ चढ्नुपर्छ भने पूर्वतिर सडकको बाटो जाँदा पनि अपाङ्गता भएकाहरूले अरूको सहारा विना सक्दैनन्।
व्यवस्थापन सङ्काय पुग्न झनै मुश्किल छ। कच्ची सडकबाट क्याम्पस हाताभित्र छिर्नै शारीरिक अपाङ्गता भएकालाई निकै समय लाग्छ। कक्षा सञ्चालन र प्रशासन शाखाका लागि अलग अलग भवन छन्। तर, दुवैमा सिंढी नचढी पुगिंदैन। पाँचतले भवनका कक्षाकोठा उक्लन न ‘लिफ्ट’ छ न त ‘र्याम्प’।
“पुरानो संरचना भएकाले अपाङ्गतामैत्री नभएको हो। अब केही समयमै नयाँ भवन बनाउने योजना छ,” स्कूल अफ म्यानेजमेन्टका कार्यकारी निर्देशक गोविन्द तामाङ भन्छन्। “एक–दुई जना दृष्टिविहीन विद्यार्थी मात्र भएकाले पनि हामीलाई त्यसको आवश्यकता रहे जस्तो लागेन,” उनी भन्छन्, “तर अब बन्ने भवनका डिजाइनमा र्याम्प र लिफ्ट राखेका छौं।”
कीर्तिपुरमै भारत सरकारको अनुदानमा ३६ करोड ११ लाख ६६ हजार २५१ रुपैयाँ लागतमा त्रिवि केन्द्रीय पुस्तकालयको भवन बन्दै छ। भवन अपाङ्गता भएका व्यक्तिलाई अनुकूल हुने गरी नै बनाउन लागिएको ठेकेदार कम्पनी हनुमान कन्स्ट्रक्शनका साइट इन्जिनीयर सुदीपकुमार ठाकुर बताउँछन्। “अपाङ्गता भएका व्यक्तिलाई ध्यानमा राखेरै प्यासेज चौडा र अग्लो बनाएका छौं। लिफ्ट र शौचालयको ढोका पनि फराकिलो छ। पार्किङदेखि भवनभित्र छिर्न स्लोप राख्नेछौं,” उनी भन्छन्।
अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त प्रणाली सम्बन्धी निर्देशिका, २०७८ अनुसार, सार्वजनिक प्रयोजनका लागि खुला गरिएका कुनै पनि भवनका प्रवेशद्वार, खुला स्थान, पार्किङ स्थल, प्रतीक्षालय, शौचालयको ढोका र अन्य सुविधा, लबी वा प्यासेज, लिफ्ट, भर्याङ आदि ह्वीलचेयर र बैसाखी प्रयोगकर्ता, होचापुड्का, दृष्टिविहीन, बौद्धिक अपाङ्गता भएका सबैको पहुँच हुने गरी निर्माण गर्नुपर्छ।
पुराना भवनलाई अपाङ्गता अनुकूल संरचनामा ढाल्न भने उति सहज देखिंदैन। यसमा शिक्षाशास्त्र विभाग प्रमुख पोखरेल बजेट अभावलाई मुख्य कारण औंल्याउँछन्। “सरकारले संरचना निर्माण गर्न भनेर बजेट पठाउँदैन। शिक्षकहरूको तलबभत्ता र अन्य खर्चका लागि आउने बजेटले निर्माण कार्य गर्न सकिन्न,” उनी भन्छन्।
अहिले आन्तरिक स्रोतबाटै शौचालय निर्माण थालेको र क्रमशः अन्य संरचना पनि अपाङ्गता अनुकूल बनाउन प्रयास गर्ने पोखरेलको भनाइ छ।
सबै कक्षाकोठा अपाङ्गमैत्री बनाउने सोच मात्रै हुने हो र्याम्प वा लिफ्ट राख्न कुनै महाभारत गर्नु पर्दैन।