शहर र सपनाबीचको ‘एक्लो’ सफर
शहरको किनाराको कथा भए पनि बुद्धिसागरको उपन्यास एक्लोले शहरको केन्द्रलाई हल्लाउने सामर्थ्य बोकेको छ।
शहर भीड हो वा भीड शहर हो, वा शहर ती दुवै होइन? शहर भीडमा भेटिने एक्लाहरूको सामूहिक कोलाहल हो कि? या कोलाहलबीच रुमलिने एक्लोपनको धूमिल क्यानभास हो कि? अथवा, एक्लाहरूको एक्लोपनलाई सेलिब्रेट गरेर नेपथ्यमा कतै गुन्जिने मौन सिम्फोनी पो हो कि शहर?
बुद्धिसागरको नवीनतम कृति एक्लोले भने शहरमा कहिले एक–अर्कासँग ठोक्किने, कहिले मुस्कुराउने, कहिले आँखा तर्ने एक्लाहरूको सामूहिक कथा भन्छ। शहरमा बसेर पनि शहरका नभएकाहरूका एक्लो भोगाइ उपन्यासमा सजीव रूपमा उतारिएको छ। यस्तो लाग्छ, लेखकले भनेको कथा हाम्रै हो, हाम्रो भएर पनि कहन नसकेको एक्लो संघर्ष, रोदन, सपना र सुस्केराको कथा। लेखकले पुस्तकको नामलाई सार्थक रूपमा प्रमाणित गरेका छन्। शहरमा गरीबी र सपनाबीच रुमलिने एक्लो अस्तित्वको कथा यसले बोकेको छ।
उपन्यासका पात्रहरू श्री, आदि, सूर्यबहादुर, टोपका जीवनमा शहरको कोलाहल मात्र छैन, कसैलाई भन्न नसकेका एक्ला कथाहरू छन्। कहिले उनीहरू उदास लाग्छन्, कहिले रिसाहा त कहिले संसारकै रमाइला। तर, उनीहरू सबै एक्ला छन्। शहरका भुइँमान्छेको एक्लोपनलाई लेखकले उपन्यासको क्यानभासमा रङ्ग्याएका छन्।
‘एक्लो’ को कथा समग्रमा श्रीको कथा हो। प्रा. अभि सुवेदीको भाषामा भन्दा उसको कथा शहरको भएर पनि शहरको भित्री मानिस हुन नसकेको ‘फ्लानर’ (फिरन्ते जस्तो) को कथा हो। सपनाको खोजीमा तपाईं–हामी झैं शहरमा भित्रिएको श्रीको कथा शहरको किनाराको कथा हो। ऊ शहरको हो पनि र होइन पनि। शहरको अस्तित्वभित्र अटाउनु र नअटाउनुको द्वन्द्व ऊसँग पनि छ।
ऊ भन्छ, “सोच्थें, शायद शहरमा म जस्तै एक्ला एक्ला मिलेर भीड बन्ने गर्छ। म जस्ताको मौनता जोडिएर कोलाहल बन्ने गर्छ। कोलाहलले भरिएको शहरमा लाखौं मानिस आफूभित्र बिरानो र उराठलाग्दो शहर बोकेर हिंड्छन्।”
श्रीले भने झैं ऊ जस्ताको मौनताले नै शहरको किनारालाई प्रतिनिधित्व गर्छ। शहरले बेवास्ता गर्ने तिनै किनाराका मानिसको प्रतिनिधि कथा हो यो उपन्यास। उपन्यासले शहरको वैभवबारे बोल्दैन, त्यसभित्र लुकेको गरीबी र पीडा बोल्छ।
पढेर केही बन्ने उद्देश्यले श्री शहर त छिर्छ, तर त्यो उद्देश्यमै विफल हुन्छ। न ऊसँग गाउँबाट बोकेर ल्याएको सपना बाँकी रहन्छ, न शहरले देखाउने गतिशीलताको सपनामा रमाउन सक्छ। ऊभित्रको द्वन्द्वले शहरमा एक्लो हुनुको पीडाबोध गराउँछ।
बुद्धिसागरको लेखन शिल्पले यो तेस्रो आख्यानमा पनि पाठकलाई मोहित बनाउँछ। कतिलाई उनको लेखाइ अलि लामो र बोझिलो पनि लाग्न सक्छ। तर, उनको लेखनको विशेषता नै ‘डिटेलिङ’ अर्थात् सूक्ष्म वर्णन हो। यति हुँदाहुँदै अघिल्लो कृति फिरफिरेमा जस्तो एक्लोमा कथानकलाई अनावश्यक रूपमा बढी व्याख्या गरेको महसूस हुँदैन । बरु कतिपय चरित्र निर्माणमा लेखक अलि बढी खुलेको भए हुने भन्ने लाग्छ । जस्तो कि, उपन्यासभरि रुमलिइरहने पात्र ‘आदि’ को थियो, के काम गर्छ भन्ने कुरा कहिल्यै खुल्दैन। उसको प्रेम प्रसङ्ग र बाइकप्रतिको लगावको कुरा मात्र आउँछ।
तेस्रो उपन्यासमा आइपुग्दा लेखकले केही त्यस्ता प्रयोग गरेका छन्, एउटा कोणबाट ती सुन्दर पनि लाग्छन्, तर त्यो नभएको भए पनि उपन्यासको कथानकमा खासै फरक पर्ने थिएन भन्ने पनि लाग्छ। उपन्यासभित्र अर्को उपन्यास झैं लाग्ने कथा छ, समिरा र नीलको। मेटाफिक्शन झैं लाग्ने उक्त कथाले शहरको अर्को आयाम देखाउँदै उच्च मध्यम वर्गको एक्लो कथा भन्छ।
प्रेमिल, भीडभन्दा फरक, कुनै स्वैरकाल्पनिक कथाको पात्र झैं लाग्ने समिराले श्रीलाई शहरको केन्द्रभाग बुझाउन मद्दत गर्छे। शायद यो लेखकले लिएको जोखिम तर शहरकै भव्यता र सम्पन्नताबीच मानिस कसरी एक्लो छ भन्ने देखाउन गरेको सुन्दर प्रयोग हो। कतिपय अवस्थामा चाहिं श्रीको समिराप्रतिको लगाव अलि अपत्यारिलो लाग्छ। समिराको खोजीमा ठमेलका गल्लीमा भौंतारिने, कफीमा झ्याम्मिने उसको हर्कत स्वाभाविक लाग्दैन।
यति हुँदाहुँदै समिरा र नीलको उपस्थितिले शहरको एक्लोपनको क्यानभास अझ चहकिलो बनाउँछ। शायद समिराको उपस्थिति बेगर लेखकलाई शहरको एक्लोपनको कथा भन्न सजिलो थिएन, किनकि उसको उपस्थिति हुनु शहरको केन्द्रको उपस्थिति र प्रतिनिधित्व हो। किताबमा घोत्लिरहने, भाषा र सङ्गीतलाई प्रेम गर्ने, पढ्दै नपढ्ने प्रेमीलाई किताब पढ भन्ने समिराले यदाकदा उपन्यासको प्रमुख पात्र श्रीलाई ओझेलमा पारे झैं लाग्छ।
कुनै सुदूर गाउँबाट सपना बोकेर काठमाडौं आएको श्रीको कथाले धेरै शहरवासीको जीवन बोल्छ। यद्यपि, कथा अलि बढी अँध्यारो हो कि भन्ने लाग्छ। अघिल्ला उपन्यासमा जस्तो यसमा लेखकले हास्यरसको प्रयोग धेरै गरेका छैनन्, जसले गर्दा कतिपय पाठकलाई बाँधेर राख्न गाह्रो छ।
उपन्यासले २०५५ देखि ६० को दशकको समय बोकेको छ। तर, यो अवधि धेरै आख्यानमा आइसकेकाले अझै पछिल्लो समयलाई चित्रण गरेको भए हुन्थ्यो। त्यही रेडियो, त्यही दरबार हत्याकाण्ड, त्यही सशस्त्र द्वन्द्वको कथा भएकाले पाठकमा धेरै रोमाञ्चकता भर्न नसक्ने देखिन्छ। तथापि, आख्यानमा बुद्धिसागरको शिल्पलाई नजरअन्दाज गर्न सकिन्न।
विषयवस्तुको हिसाबले पुस्तकले सूक्ष्म र बृहत् पक्ष दुवै ओगटेको छ। शहर र एक्लोपनको विम्ब र विषयवस्तु बृहत् हुन्। शहरमा भएर पनि शहरको नहुनु, शहरको भव्यतासँग कुनै साइनो नहुनु जस्तो रुग्ण परिस्थितिसँग उपन्यासका अधिकांश पात्र जुधेका छन्। जसले आजको शहरका बहुसंख्यकको परिस्थिति बोलिदिन्छ।
उपन्यास पढ्दा अड्किनु या रोकिनुपर्ने पट्यारलाग्दो छैन। कहिले आफैंलाई भेटिन्छ, कहिले आफू जस्तै अरूलाई। शहरको किनाराको कथा भएर पनि यसले शहरको केन्द्रलाई हल्लाउन सक्छ।