बल्यो ‘विद्रोहको झिल्को’
चुनावी परिणाममा अभिव्यक्त नयाँपनको चाहनाले मुलुकभित्र स्रोतसाधन दोहनमा लिप्त भोगी समूहलाई धक्का दिँदै देश उथलपुथलको पर्खाइमा रहेको छनक दिएको छ।
मंसीर ४ को चुनावको अन्तिम परिणाम आइसक्दा कसैले सत्ता गठबन्धन त कसैले विपक्षी दलको पक्षबाट तर्क गर्दै आआफ्नो पक्षलाई केही सुधारको अभिनय गरिदिन अनुनय गर्दै छन्। यी ‘तर्कप्रसाद’ सबैको समानता के हो भने तिनले ठूला दलको केही आकार घटाउँदै अप्रत्याशित रूपमा उदाएका दल र नेतालाई (खास गरी राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र स्वतन्त्र) ‘तिम्रो सिद्धान्त के हो, अजेन्डा के हो, ढल्काइ कतातिर हो’ भन्ने प्रश्न गर्दै छन्।
मतदाताले कुनै सुइँको विना उथलपुथल गरिदिएपछि भोगी समूहले यथास्थितिलाई झन बलियो र विकल्पहीन देखाउन अब सम्पूर्ण शक्ति खर्चिनेछ। चुनावी परिणामको दबाबले साँच्चै केही नयाँ हुने आश गर्नुभन्दा अझ् जब्बर बनेर निस्कने पुरानोलाई कसरी झेल्ने भन्ने तयारी गरे हुन्छ मतदाताले।
भोगी समूह नेपालको इतिहासमै सबैभन्दा धेरै अवसर र स्रोत पाएको जमात हो, जसले पुर्खाको विरासत र अहिलेका युवाको मिहिनेत र श्रमको दोहन गर्दै स्रोतसाधनमा एकलौटी गर्दै आएको छ। भोगी समूहका सदस्य प्रौढ उमेरका भए पनि तिनका खास खम्बा भने सबै उमेरका सत्तानिकट राजनीतिकर्मी र तिनको पक्षपोषण गरेर तर मार्दै आएका व्यवसायी, कर्मचारी र ‘तर्कप्रसाद’ हरू हुन्।
भोगी तर्कप्रसादको भाष्य अनुसार, चुनावमा ‘प्रतिगमन’ र ‘अग्रगमन’ बीच प्रतिस्पर्धा हुँदै थियो। सत्ता वा विपक्षी जुनै खेमाका भए पनि सबै भोगी तर्कप्रसाद आफूलाई अग्रगामी र अरूलाई प्रतिगामी भन्छन् र यसकै आधारमा आफ्नो दर्जा उँचो हुने ठान्छन्। चुनावी नतीजाले भने यो वर्गीकरणमा नअटाउने मतदाताको संख्या उल्लेख्य र बढ्दो देखाएको छ। केपी ओली नेतृत्वको सरकारले गरेको संसद् विघटनलाई मतदाताले अस्वीकार गरेको भए त्यसैको विरोधमा फुटेका-ब्युँतिएका नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)ले मत बढाउनुपर्ने हो, तर तिनैले सबैभन्दा ठूलो अस्वीकृति भोगे।
कम्युनिष्टभन्दा फरक भन्ने चिनारीले नेपाली कांग्रेसको पक्षमा काम गरेको देखिएन। समानुपातिक सूची फरक भएको भए कांग्रेसको मत बढ्ने थियो भन्ने अडान चुनाव अघि कसैले राखेको सुनिएन। न्यायालयमा हस्तक्षेप बढ्नु, महाभियोगलाई प्रतिशोध साँध्ने हतियार बनाइनु, बजेट-सीसीटीभी क्यामेरा र अन्य प्रकरणका कारण कांग्रेसले गठबन्धन हुँदा पनि मतदाता थप्न सकेन। धेरै मत पाए पनि नेकपा (एमाले)को दाबी झैं मतदाताले उसलाई रुचाएको देखिएन। कोभिड-१९ महामारीकै बीच व्यक्तिवादी शक्तिसंघर्षको मञ्चन, एकपछि अर्को अनियमितता र इतर पक्षप्रति शत्रुवत् व्यवहारको कारण एमाले शहरी केन्द्रहरूमा पराजित हुन पुग्यो।
फरकपनको चाहनाले मतदातालाई कति उकुसमुकुस पारेको रहेछ भने सुहाउँदो छनोट भएको ठाउँमा मजाले मत दिएका छन्। बाबु-बाजे कांग्रेस वा कम्युनिष्ट भएका कारण त्यसै अनुसार मत दिने चलन नयाँ पुस्ताले रुचाएनन्।
नतीजाको विस्तृत विश्लेषण हुँदै गर्ला, तर कोही कम अग्रगामी वा कोही बढी समाजवादी भएको कारण मतदाता यताउता भएको पुष्टि गर्ने कुनै आधार भेटिँदैन। सुशासनका मुद्दा नै चुनावमा निर्णायक बने। फरकपनको चाहनाले मतदातालाई कति उकुसमुकुस पारेको रहेछ भने सुहाउँदो छनोट भएको ठाउँमा मजाले मत दिएका छन्। बाबु-बाजे कांग्रेस वा कम्युनिष्ट भएका कारण त्यसै अनुसार मत दिने चलन नयाँ पुस्ताले रुचाएनन्। चुनावले के पनि देखायो भने भोगी समूह र तिनका तर्कप्रसादभन्दा फराकिलो बुझाइ भएको मतदाताको हिस्सा उल्लेख्य भइसकेको छ र उसले बासी मान्यताको रटानबाट उन्मुक्ति चाहेको छ।
यस पटक उदाएका नयाँ दल र नेताले पनि अब आफ्ना नीति, क्षमता र सान्दर्भिकताबारे आश्वस्त पार्नुपर्ने नै छ, त्यसका निम्ति आवश्यक विचार, कार्यक्रमबारे प्रष्टता देखाउनुपर्नेछ। तर, त्योभन्दा ठूलो चुनौती हुनेछ, भोगी समूहको दबाब र जालझेल थेग्नु। जनमत अनुसार अघि बढ्न कडा अनुशासन चाहिनेछ। शक्तिको खेलमा अभ्यस्त वर्गद्वारा प्रयोग हुने, फुटाएर राज गरिने वा सुधारको अभिनय सार्थक देखाउन सहायक पात्र झैं उभ्याइने प्रयास प्रशस्तै हुनेछ। अहिलेलाई हामी अपेक्षा मात्रै गर्न सक्छौं, राजनीतिका नयाँ शक्ति र नेताहरूले यी सबै अड्चनबीच भोगी समूहको पकडले निस्सासिएको समाजलाई मुक्त बनाई स्वच्छ हावामा सास फेराउन सकून्।
भविष्यको कुरा पछिलाई नै छोडेर यो चुनावमा देखिएका प्रवृत्ति र रुझानबारे केही चर्चा गरौं। उपलब्ध मतपरिणाम तथा समृद्धि र उमेर समूहको तथ्याङ्कलाई आधार मानेर हरेक निर्वाचन क्षेत्रमा मुख्य दलहरूको प्रदर्शनी केलाएको छु। तथ्याङ्कगत विश्लेषणका सबल र दुर्बल दुवै पक्षलाई ध्यान दिई विविध विश्लेषणको समग्रतामा यसलाई लिन अनुरोध छ।
यसपालि चितवन र जुम्लाले त्यस्तो जिल्लाको पहिचान बनाए, जहाँ पुराना ठूला राष्ट्रिय दलले कुनै क्षेत्रमा जितेनन्। नयाँ दल रास्वपा र पुरानो दल भईकन सुधार गरेको राप्रपाले देशभरि पाएको मतलाई स्थापित दलसँग तुलना गर्दा एउटा स्पष्ट विभाजन देखापर्छ। रवि लामिछाने नेतृत्वको रास्वपाले सबैभन्दा बढी समानुपातिक मत पाएका २० क्षेत्रमध्ये दुई बाहेक सबै उच्च युवा जनसंख्या भएका ४० क्षेत्रभित्र पर्छन्। सम्पन्नताको हिसाबले यी २० क्षेत्रमध्ये एउटा बाहेक सबै उच्च सम्पन्न ४० मध्ये पर्छन्।
२० उच्च युवा जनसंख्या हुने क्षेत्रमध्ये आधाभन्दा बढी र २० उच्च सम्पन्न क्षेत्रमध्ये पनि आधाभन्दा बढी स्थानमा पहिलो हुने दल रास्वपा हो। रास्वपा कमजोर भएका स्थान कम युवा वा कम सम्पन्न क्षेत्र हुन्। नेपालको आर्थिक भूगोलको कारण यो संयोग मात्र होइन, रास्वपा शहरी स्थानमा बलियो र ग्रामीण क्षेत्रमा कमजोर रह्यो- शहरी क्षेत्रमा युवा र सम्पन्न दुवैको उपस्थिति ग्रामीण भेगमा भन्दा धेरै भेटिन्छ।
देशैभरको मत अनुपात सँगै राखेर हेर्दा सबैभन्दा विविध जनसंख्याको मत पाउने दल कांग्रेस र एमाले रहे। खास गरी ग्रामीण र कम सम्पन्न क्षेत्रमा यी दुई दल र केही मात्रामा माओवादी केन्द्र प्रभावशाली देखिए। कांग्रेस र एमालेको लामो इतिहास, संगठन विस्तार, वैचारिक आस्था र लाभमा आश्रित समूह आदि सबै कारणले विविध क्षेत्र र वर्गको साथ अझै पनि यिनैलाई छ। तर, प्रचार गरिए जस्तो यी दुई दलको वर्गीय स्वभावमा खासै धेरै फरक देखिँदैन।
युवा मतदाताले केही बढी एमालेलाई र प्रौढ मतदाताले केही धेरै कांग्रेसलाई मत दिएको भेटियो भने कम सम्पन्न क्षेत्रमा एमालेलाई र बढी सम्पन्न क्षेत्रमा कांग्रेसलाई केही बढी मत प्राप्त भयो। तैपनि, दुवै दललाई युवाभन्दा प्रौढ मतले धेरै फाइदा गर्यो। अर्कातिर, रास्वपा र केही मात्रामा राप्रपालाई सम्पन्न र युवा बाहुल्य क्षेत्रमा धेरै मत प्राप्त भयो। माओवादी केन्द्रलाई सबैभन्दा कम सम्पन्न र कम युवा भएका क्षेत्र बाहेक सबैतिर यी दलले पछि पारे।
रवि लामिछाने र हरि ढकालले चितवनमा मत सोहोरे झैं काठमाडौं उपत्यका, कास्की, रुपन्देही, झापा, नवलपरासी जस्ता स्थानमा पनि रास्वपाले ठूला दललाई पछि पार्ने अनुपातको मत पाएको छ। तर, शहरी क्षेत्र मात्र होइन, डडेल्धुरामा सागर ढकालले पाएको मतले ग्रामीण भेगमा समेत मतदाताले ताजा हावा खोजिरहेको बुझ्न सकिन्छ। नयाँ दल र नेताले पाएको मत स्थापित दल विरुद्धको आक्रोश होला धेरै मात्रामा, तर हरेक चुनावमा बढिरहेको शहरी र युवा मतको बेचैनी स्वीकार नगर्नु मूर्खता हुनेछ।
फैलिँदो दबाब
विवेकशील नेपाली दल स्थापना हुनु अगावै २०७० सालको संविधानसभा चुनावमा काठमाडौं-५ बाट उठेका उज्ज्वल थापाले एक हजार १६३ मत ल्याएका थिए। विवेकशील दल शुरू हुँदै गर्दाका छलफलमा म पनि सहभागी भएकाले त्यति वेला नयाँ उम्मेदवारहरूलाई प्रचार गर्न र मत पाउन कति गाह्रो थियो भन्ने कुरा बुझाउन कुकुर चुनाव चिह्न र विवेकशील भन्ने नामलाई नै तर्कप्रसादहरूले मुख्य मुद्दा बनाएको कुरा स्मरण गराउन चाहन्छु। तर, त्यसपछिका चुनावहरूमा हजार, दशौं हजार हुँदै आज लाखौंमा पुगेको मत अब सजिलै पुराना दलमा फर्किने देखिँदैन।
नयाँ पुस्ताको दबाब थेग्नै नसक्ने हदसम्म नपुगी अहिलेको राजनीतिक-सामाजिक परिपाटी फेरिने सम्भावना दूर क्षितिजमा पनि देखिँदैन र नफेरिएमा व्यवस्था झन असफल भई दुर्घटनाग्रस्त हुनेछ।
बरु युवा मतदाता थपिँदै जाँदा, रेमिटेन्सले सम्पन्नता र सामाजिक सञ्जालले भोगी समूहभन्दा फरक विचार बिस्तार गराउँदै जाँदा ग्रामीण भेगमा पनि नयाँपनको चाहना विस्तारित हुनेछ र पुस्तैनी आबद्धता तथा कार्यकर्ताको वफादारीमा टिकेका पुराना दललाई झन गाह्रो पर्दै जाने देखिन्छ।
गगन थापा, विश्वप्रकाश शर्मा, योगेश भट्टराईहरूले आफ्ना दललाई यो कुरा कति बुझाउन सक्छन्, त्यसले नै यी दलको भविष्य निर्धारण गर्नेछ। नभए बालेन्द्र शाह, हर्क साम्पाङ, रवि लामिछाने, धवलशमशेर राणा, तोसिमा कार्की, सोबिता गौतम, विराजभक्त श्रेष्ठ, शिशिर खनाल, रवीन्द्र मिश्र, पुकार बम, सागर ढकाल लगायतले केही नयाँपन अवश्य नै दिनेछन्, यिनले नसके यीभन्दा फरक कोही दृश्यमा देखिनेछन्।
नेपालमा बितेको दुई दशकमा विभिन्न अनियमितताका घटना भए पनि कसैमाथि अनुसन्धान नहुने, कोही जेल नपर्ने र कसैको राजनीति वा व्यवसायमा असर नपर्ने मिलिभगतको राज देखियो। यसलाई गतिलो लोकतन्त्रमा भए स्वीकार गरिँदैनथ्यो। त्यसैले नयाँ दललाई हियाउनु र मतदातालाई सिकाउनु साटो ‘लूटतन्त्र’ कै बीच हालसम्मको सहनशीलताका लागि भोगी समूहले धन्यवाद भन्नुपर्छ। तर, यस्तो सहनको अवस्था सधैं नहुन सक्छ र अहिले ‘भयो, नो-नट-अगेन’ भन्ने जमातले छिटै ‘अबको पालो जेलमा’ भन्न थाल्नेछ।
मेरो बुझाइमा नेपालको अहिलेको मुख्य विभाजन हालीमुहाली गर्दै आएको भोगी समूह र बाँकी सबै (खास गरी देशभित्र आफ्नो भविष्यप्रति आश्वस्त हुन नसकेको युवा पुस्ता)बीच हो। यो विभाजनले वर्गीय र क्षेत्रीय आकांक्षा पनि धेरै हदसम्म समेटेको छ। हरेक वर्ष युवा उमेरका एक चौथाइभन्दा बढी नेपाली विदेश जाने तर्खर गरिरहेका हुन्छन्। यति तीव्र र यति ठूलो संख्यामा युवा पुस्तालाई अविश्वास हुने देश अरू भेटिँदैन। तैपनि, नयाँ पुस्ताले पूरै तिरस्कार गरेको भाष्य बोकेर देशभित्र मोज गरिरहेको सीमित वर्ग बलशाली बन्दै गएको देखिन्छ।
नयाँ पुस्ताको दबाब थेग्नै नसक्ने हदसम्म नपुगी अहिलेको राजनीतिक-सामाजिक परिपाटी फेरिने सम्भावना दूर क्षितिजमा पनि देखिँदैन र नफेरिएमा व्यवस्था झन असफल भई दुर्घटनाग्रस्त हुनेछ। राम्रो कुरा के हो भने, त्यस्तो दबाब जागेर बिस्तारै बलियो हुने सङ्केत देखिँदै छन्, तर गुणात्मक परिवर्तन गर्न सक्ने विद्रोहको तहसम्म यो विकास हुन सक्छ वा सक्दैन भन्ने कुराले नै यसको सफलता निर्धारण गर्छ। तात्कालिक आक्रोशको बलमा हठात् उठ्ने अभियानको पतन पनि छिटै हुने गर्छ। लोकरिझ्याइँ र छिटो लाभ पाउने हतारोमा रहेका समूहद्वारा अपहृत भई पूरै अभियान बरालिने डर पनि हुन्छ।
अहिले विकास भइरहेको दबाबले यी चुनौती पार गर्दै र शहरी युवाकेन्द्रित आक्रोशमा सीमित नभई निश्चित राजनीतिक कार्यक्रम सहितको फराकिलो, समावेशी र नैतिक शक्ति बन्न सक्छ कि सक्दैन, त्यो हेर्न बाँकी नै छ। यही शान्त विद्रोहको पर्खाइमा अहिले देश सास रोकेर बसिरहे जस्तो भान निर्वाचन परिणामले दिएको छ।
(पौडेल अमेरिकास्थित स्टानफोर्ड विश्वविद्यालयका कम्प्युटर वैज्ञानिक हुन्। हिमालको २०७९ पुस अंकबाट।)