थवाङकी अविचलित गुरुमा
विद्रोही बस्तीका रूपमा परिचित रोल्पाको थवाङमा चार दशकदेखि अध्यापन गराउँदै आएकी गुरुमा समाज परिवर्तन गर्न बालबालिकालाई असल शिक्षा दिनुपर्ने र त्यसका लागि कक्षाकोठामा शिक्षिकाको संख्या बढ्नुपर्ने बताउँछिन्।
रोल्पा सदरमुकाम लिवाङस्थित बालकल्याण माध्यमिक विद्यालयबाट २०३८ सालमा एसएलसी उत्तीर्ण हुँदा राममाया बुढा भर्खर १८ वर्ष पुगेकी थिइन्। त्यो साल रोल्पाबाट ४५ जनाले एसएलसी दिएका थिए। राममायाको स्मरण ताजै छ, “सात जना छात्रामा तीन जना मात्रै पास भयौं।”
एसएलसी लगत्तै राममायालाई बिहेको प्रस्ताव आयो। थवाङका पूर्णबहादुर बुढाको परिवारले बिहेको प्रस्ताव ल्याएको थियो। पूर्णबहादुर थवाङकै वीरबलभद्र प्राथमिक विद्यालय (अहिले नमूना माध्यमिक)मा सामाजिक विषयका शिक्षक थिए। “क्याम्पस पढ्न धेरै टाढा जानुपर्थ्यो, त्यसैमाथि खर्चको अभाव,” त्यो परिस्थिति सम्झिँदै उनी भन्छिन्, “बिहे गर्ने निधो गरें।”
बिहेपछि सदरमुकाम लिवाङबाट दुर्गमको थवाङ पुगिन्। उसो त सदरमुकाम भए पनि लिवाङ र थवाङमा खासै भिन्नता थिएन, त्यति वेला। तथापि, उनलाई दुर्गम नै लाग्यो, पिछडिएको क्षेत्रतिर आएको महसूस भयो।
वैवाहिक जीवनले घरायसी कामकाजमा लाग्न बाध्य बनायो। उनी घरायसी जिम्मेवारी वहन गर्न थालिन्। तर, एसएलसीको प्रमाणपत्रले त्योभन्दा ठूलो जिम्मेवारी माग गर्थ्यो। उनका पति पूर्णबहादुर गाउँकै विद्यालयमा पढाउन जान्थे। “मलाई पनि स्कूल जान पाए हुन्थ्यो, मैले पनि पढाउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो,” राममाया नयाँ नयाँ बुहारी हुँदाका दिन सम्झिन्छिन्।
त्यति वेला थवाङमा एउटा मात्रै विद्यालय थियो, वीरबलभद्र। सधैं विद्यार्थीको चाप हुन्थ्यो, तर शिक्षकको अभाव। विद्यालय सधैं शिक्षकको खोजीमा रहन्थ्यो। शिक्षक पाउनै गाह्रो हुन्थ्यो।
एक दिन विद्यालयले सूचना निकाल्यो, शिक्षकका लागि। विद्यालयकै खर्चमा तलब दिने भनिएको थियो। “मैले पनि दरखास्त दिएँ,” राममाया भन्छिन्, “मैले पढाउन पाएँ, विद्यालयले शिक्षक पायो।”
त्यसयता ४१ वर्ष गुज्रिसकेका छन्। अनुहारमा चाउरी परेको छ। बुढ्यौलीले छोप्न थालेको छ। तर, ६९ वर्षीया राममायाको जाँगर कत्ति पनि कम भएको छैन, पहिलो वर्षको जस्तै छ। “स्कूल जाँदा त मनै फुरुङ्ग हुन्छ,” उनी सुनाउँछिन्।
चार दशकसम्म उनको दैनिकी फेरिएको छैन। बिहानै उठ्नु, घरको कामकाज सक्नु, १० बजे विद्यालय पुग्नु, ४ बजे घर फर्कनु र फेरि उही घरको कामकाजमा व्यस्त बन्नु। नयाँ बुहारी हुँदा र अहिले उनले गर्ने कामकाजमा खासै फरक आएको छैन। यसले थवाङको पारिवारिक तथा सामाजिक वातावरणमा खासै परिवर्तन नआएको सङ्केत गर्ने उनको ठम्याइ छ। “पहिले जस्तै घरको काम सकेर स्कूल जान्छु,” राममाया भन्छिन्।
थवाङलाई विद्रोही बस्तीका रूपमा लिइन्छ। २००७ सालदेखि अहिलेसम्म भएका राजनीतिक परिवर्तनमा यसले सधैं आफूलाई राज्य विरोधी कित्तामा उभ्याउँदै आएको छ। पञ्चायतकाल होस् या नेकपा (माओवादी) विद्रोहको समय, कम्युनिष्टलाई आश्रय दिने ठाउँ थियो, थवाङ।
२०५२ सालमा शुरू भएको माओवादी सशस्त्र विद्रोहमा थवाङले साह्रै दुःख खेपेको थियो। गाउँ छेवैकै स्कूलमा असर नपर्ने कुरै भएन। “सेना र माओवादी दुवैले दुःख दिन्थे, पढाउँदापढाउँदै दगुर्न पर्थ्यो,” राममाया सम्झिन्छिन्, “सेना आउँदा त गाह्रै हुन्थ्यो, माओवादी कहाँ छन् भनेर सोध्थे। नबताए समातेर लान्थे।”
राममाया लगायत शिक्षकशिक्षिकाले जुक्ति निकालेका थिए, सुरक्षाकर्मीलाई टाढै देख्नासाथ भागिहाल्ने। माओवादी कुनै अर्को देश र वेषभूषाका थिएनन्, केही राममायाले पढाउने विद्यालयकै विद्यार्थी थिए। उनले नै पढाएका सन्तोष बुढा र नन्दबहादुर पुनमगर कालान्तरमा माओवादीका चर्चित नेता भए। माओवादी शान्ति प्रक्रियामा आएपछि सन्तोष संविधानसभा सदस्य बने भने नन्दबहादुर अहिले उपराष्ट्रपति छन्।
राममायाले पढाउन शुरू गर्दा देशमा पञ्चायती व्यवस्था थियो। अहिले संघीय लोकतान्त्रिक गणतन्त्र छ। यसबीचमा पटक पटक आन्दोलन भए, व्यवस्था फेरिए। समाजको अवस्था फेरिएन। महिला, दलित, जनजाति आदिवासी, सीमान्तीकृत समुदायको जीवनमा परिवर्तन नआएको उनी बताउँछिन्।
अझ महिलाको अवस्थामा सोचे जसरी परिवर्तन नआएको उनको बुझाइ छ। राज्यका तहमा महिला सहभागिता नबढेकोमा उनी चिन्तित पनि छिन्। राममाया शिक्षा क्षेत्रकै उदाहरण लिंदै भन्छिन्, “शिक्षण पेशामा अझै पनि पुरुष नै बढी हुनुहुन्छ। चाहेको परिवर्तन यो त होइन नि!”
उनको ४१ वर्षे शिक्षण अनुभवले भन्छ- समाज परिवर्तनका लागि असल शिक्षामै जोड दिनुपर्छ। बालबालिकालाई पढाइप्रति रुचि जगाउनुपर्छ।
राममायाले पढाउन शुरू गर्दा शिक्षण पेशामा महिला सहभागिताको अवस्था अझै न्यून थियो। अहिले पनि कमै छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०७७ सालमा अद्यावधिक गरेको तथ्याङ्क अनुसार नेपालमा ३९.५ प्रतिशत महिला शिक्षक छन्। सामुदायिक र निजी विद्यालयमा गरी तीन लाख २० हजार ५७६ जना शिक्षकमध्ये ६०.५ प्रतिशत पुरुष छन्।
त्यस्तै, आधारभूत तह कक्षा १ देखि ५ सम्म ४७.४ प्रतिशत महिला शिक्षक रहे पनि कक्षा ६-८ सम्म ३२.४ प्रतिशित मात्रै छन्। झन् माध्यमिक तह कक्षा ९ र १० मा पढाउने महिला २१.७ प्रतिशत तथा कक्षा ११ र १२ मा पढाउने शिक्षिकाको संख्या १८.७ प्रतिशत छ।
अर्कातर्फ, आदिवासी जनजाति समुदायबाट शिक्षक पाउन कठिन थियो। राममायाले पढाउने वीरबलभद्र विद्यालयका प्रधानाध्यापक कुलबहादुर वली भन्छन्, “त्यति वेला राममायाको कक्षाप्रवेश आफैंमा एउटा आन्दोलन थियो।” हुन पनि २०३८ सालतिर महिला पढ्न जान त पाउँदैनथे, पढाउन जानु ठूलै सफलता पनि थियो।
उनको कक्षाकोठा प्रवेशले त्यति वेला मात्रै होइन, अहिले पनि विद्यार्थीलाई स्कूलतिर आकर्षित गरिरहेको छ। उनी विद्यार्थीलाई माया पनि गर्छिन्, विद्यार्थीले पनि उनलाई सम्मान गर्छन्। “म बोल्ने र उनीहरूले बोल्ने भाषा मिल्छ। त्यसैले पनि उनीहरू मसँग बढी नजिकिएका होलान्,” राममाया भन्छिन्।
त्यसको अर्को उदाहरण उनलाई गर्ने सम्बोधन पनि हो। विद्यार्थीले उनलाई ‘गुरुमा’ भन्छन्। खाम भाषामा आमालाई ‘मा’ भन्ने गरिन्छ। उनी भन्छिन्, “माया गरेरै गुरुमा भन्छन्।”
विद्यालयका प्रधानाध्यापक वली पनि विद्यार्थीले उनलाई आमा जस्तै मान्ने गरेको बताउँछन्। “शिक्षणप्रति हेलचेक्र्याइँ गरेको कहिल्यै थाहा पाइएन। जति उमेर बढ्दै गए पनि जाँगर घट्न दिनुभएको छैन,” प्रधानाध्यापक वली भन्छन्, “खामभाषी मगर समुदाय रहेको थवाङमा आफ्नै समुदायकी शिक्षिका पाउँदा बालबालिकाले सिकाइप्रति अझ बढी अपनत्व लिने गरेका छन्।”
समाज परिवर्तनका लागि शिक्षण पेशामा महिला बढी आउनुपर्ने राममाया बताउँछिन्। बालबालिकाको सिकाइका लागि महिला शिक्षक प्रभावकारी हुने उनको अनुभव छ। “मैले पढाउन शुरू गर्दा महिला शिक्षक थिएनन्। अहिले पनि पढाउने पेशामा महिलाहरू कमै छन्,” उनी भन्छिन्, “बालबालिकाको सिकाइका लागि महिला शिक्षक धेरै प्रभावकारी हुन्छन्। यसमा सरकारले पनि ध्यान दिनुपर्छ।”
अहिले उनी बालविकास केन्द्रका बालबालिकालाई पढाउँछिन्। राममायाले पढाउने कक्षामा ३८ बालबालिका छन्। चार दशकअघि पढाउन शुरू गर्दा भने विद्यार्थी पाउनै मुश्किल हुन्थ्यो। “त्यो पुरानो जमाना र अहिलेको नयाँ जमानामा धेरै फरक छ। अहिले पढ्न खोज्छन्, स्कूल लगाउनुपर्छ भन्ने छ, त्यति वेला यस्तो थिएन,” उनी भन्छिन्।
अब उनी कहिलेसम्म पढाउँछिन् त? राममाया भन्छिन्, “मैले अवकाश पाउने वेला भयो, आउँदो असारबाट अवकाश लिन्छु।”
त्यसपछि के गर्लिन्? स्कूले बालबालिका विनाको उनको दैनिकी कसरी बित्ला? यो सोच्दा पनि उनलाई ऐंठन हुन्छ। तैपनि, उनले एउटा योजना बुनेकी छन्।
छोरा अमेरिकामा छन्। बुहारीले होमस्टे चलाइरहेकी छन्। “बुहारी एक्लै छ। होमस्टेमा बुहारीलाई सहयोग गर्छु,” राममाया मलिन मुहार लगाउँदै भन्छिन्, “मलाई पनि स्कूल र स्कूले बालबालिकालाई बिर्सिने बहाना मिल्छ।”