सांसदले शपथसँगै पाउनेछन् सुन, चाँदी र तामा जडित लोगो
प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन संघीय संसद् सचिवालयले तयारी थालेको छ।
प्रतिनिधि सभाका नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ खुवाउने व्यवस्था छ। त्यसपछि ज्येष्ठ सदस्यले अन्य सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाउनेछन्।
संसद् सचिवालयले ज्येष्ठ सदस्य पहिचान गर्न निर्वाचन आयोगलाई पत्राचार गरिसकेको छ। पत्रमा नवनिर्वाचत सदस्यको विवरण खुलाउन आग्रह गरिएको छ।
प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यमध्ये चित्रबहादुर केसी, महन्थ ठाकुर, महेन्द्रप्रसाद यादव र पशुपतिशमशेर जबराको सबैभन्दा बढी उमेरका छन्। उनीहरूमध्ये को ज्येष्ठ सदस्य हुने भन्ने यकीन गर्न बाँकी छ।
सांसदहरूले मातृभाषामा पनि शपथ लिन सक्नेछन्। त्यसका लागि शपथ ग्रहणको तीन दिनअघि संसद् सचिवालयलाई जानकारी दिनुपर्नेछ।
यसअघि २०७४ सालमा ४६ सांसदले नेपाली बाहेक ११ वटा मातृभाषामा शपथ लिएका थिए। जसमा मैथिली, थारू, भोजपुरी, मगर, हिन्दी, अवधि, नेपालभाषा, बज्जिका, नेवारी, उर्दू, तामाङ भाषा लगायत छन्।
सांसदले शपथ लिएसँगै संघीय संसद्को प्रतीक चिह्न (लोगो) पनि प्रदान गरिनेछ। संसद्को लोगोमा सुन, चाँदी र तामाको मिश्रण छ। प्रति लोगो पाँच हजार आठ सय रुपैयाँमा तयार भएको संसद् सचिवालयले जनाएको छ।
त्यस्तै, सबै सांसदलाई नेपाली उत्पादन अल्लोको झोला सहित नेपालको संविधान, डायरी, कलम, संसद् सम्बन्धी नियमावली, निर्देशिका, अन्य प्रकाशन उपलब्ध गराइने संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए। उनका अनुसार, पाँच दिनभित्र शपथ खुवाउने तयारी भइरहेको छ।