अमेरिकी हस्तक्षेपका कारण इरानी आणविक समस्या बढेको चीनको आरोप
अमेरिकाको ‘दादागिरी’ विद्यमान इरान आणविक सङ्कटको कारक भएको चीनले सोमबार बताएको छ।
चीनको उक्त भनाइ अमेरिकाले इरानमाथि एकपछि अर्को गर्दै इरानमाथि लगाएका आर्थिक नाकाबन्दीपछि इरानले युरेनियम प्रशोधनको उच्च सीमालाई तोड्ने घोषणापछि आएको हो ।
“तथ्यले यो बताइसकेको छ कि एकतर्फी दादागिरी गम्भीर समस्याका रूपमा देखिइसकेको छ,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले बेइजिङमा भएको नियमित पत्रकार भेटमा भने ।
उनले भने, “अमेरिकाले इरानमाथि सिर्जना गरेको अत्यधिक दबाब इरानी आणविक सङ्कटको कारण हो ।”
यदि सन् २०१५ मा इरानसँग विभिन्न शक्ति राष्ट्रद्वारा गरिएको आणविक सम्झौताका हस्ताक्षरकर्ताले अमेरिकाले इरानी सामान निर्यातलाई रोक्न गरेको आर्थिक नाकाबन्दीविरुद्ध यथोचित कदम नचालेमा आगामी ६० दिनमा इरानले सम्झौतालाई मानिराख्न बाध्य नहुने चेतावनी दिएको थियो।
इरानले सन् २०१५ को आणविक सम्झौतामा यदि आफूमाथि लगाइएका प्रतिबन्ध हटाइएमा उसले हतियार निर्माणलाई व्यापक कटौती गर्ने प्रतिबद्धता गरेको थियो ।
सम्झौतामा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको पहलमा अमेरिका, बेलायत, रूस, चीन, फ्रान्स, जर्मनीका र इरानले हस्ताक्षर गरेका थिए।
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा समेत इरानसँगको आणविक सम्झौता न्यायसङ्गत नभएको र यसबाट अमेरिका पछि हट्नुपर्ने धारणा राखेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता अमेरिकालाई मान्य नहुने भन्दै गत वर्षको मे मा फिर्ता हुने घोषणा गरेका थिए ।
वासिङ्टनले इरानमाथि गत वर्षको अगस्तदेखि आर्थिक नाकाबन्दीको घोषणा गर्दै इरानबाट हुने तेल निर्यात, ब्याङ्किङ प्रणालीलगायत महत्वपूर्ण क्षेत्रहरूमा लक्षित गरी एकतर्फी आर्थिक आक्रमण गरेपछि समस्याले थप जटील मोड लिएको छ ।
जर्मनीले तेहरानद्वारा युरेनियमको भण्डारणलाई बढाउने निर्णयको विरोध गर्दै इरानलाई सम्झौताविपरीत कुनै पनि काम नगर्न आग्रह गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङले पनि तेहरानको युरेनियम भण्डारमा कटौती गर्ने आणविक सम्झौता सम्बन्धी निर्णयबाट फिर्ता हुने तयारीप्रति दुःख प्रकट गरेका छन् ।
यसै सम्बन्धमा मस्कोले पनि इरानी निर्णयप्रति चासो व्यक्त गर्दै सम्झौतालाई जोगाउन रूसको कूटनीतिक प्रयास निरन्तर रहने बताएको छ ।
रूसी प्रशासनिक केन्द्र क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार मस्कोमा सञ्चारकर्मीसँग भने, “अवस्था पक्कै पनि चिन्ताजनक छ । रूसले वार्तालाई निरन्तरता दिँदै कूटनीतिक क्षेत्रमार्फत सम्झौतालाई जोगाउने छ । हामी अहिले पनि इरानसँग भएको आणविक सम्झौताको समर्थक हौँ ।”