मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुरू
नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १०औं संस्करण काठमाडौंमा शुरू भएको छ।
आइतबार नेपाल पर्यटन बोर्डको हलमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महोत्सवको उद्घाटन गरेका छन्। महोत्सवको उद्घाटनमा शान्ता नेपाली निर्देशित वृत्तचित्र क्लाइम्बिङ ट्याम्पेचर्स, टप अफ द वर्ल्ड प्रदर्शन गरिएको छ।
महोत्सवमा विश्वभरबाट खुला आवेदनबाट सङ्कलन गरिएका कथानक फिल्म, वृत्तचित्र, एनिमेशन लगायतका नेपाल सहित २५ देशका ६४ वटा फिल्म देखाइने महोत्सवका अध्यक्ष अरुणदेव जोशीले बताए।
महोत्सवमा नेपालबाट निर्देशक अविनाशविक्रम शाह, भारतबाट लेखक तथा निर्देशक अनिर्वाण भट्टाचार्य, कोरियाबाट मानव अधिकार अभियन्ता तथा महोत्सव निर्देशक सु–ली दिलबर र इजरायलबाट लेखक तथा निर्देशक ओश्रा स्वार्ज रेम जुरीका रुपमा रहेका छन्।
मानव अधिकार चलचित्र केन्द्रले आयोजना गरेको महोत्सवमा चार विधाका उत्कृष्ट फिल्मलाई नगद सहित अवार्ड प्रदान गरिनेछ। त्यस्तै, महोत्सवमा एक उत्कृष्ट नेपाली महिला निर्देशकलाई अवार्ड प्रदान गरिनेछ।
‘जलवायु परिवर्तन र पर्यावरण न्याय’ को नारा सहित आयोजना भएको महोत्सव पुस ६ सम्म चल्नेछ।