लुम्बिनी केबलकारको निर्माण ९० प्रतिशत सकियो
नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तोयनारायण ज्ञवाली, उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी लगायतको सरकारी टोलीले लुम्बिनी केबलकारको स्थलगत निरीक्षण गरेको छ।
शनिबार सरकारी टोलीले केबलकार निर्माणाधीन क्षेत्रको निरीक्षण गर्दै निर्माण सम्बन्धी जानकारी लिएको हो। निरीक्षणका क्रममा मुख्य सचिव वैरागीले केबलकार निर्माण सम्बन्धी प्रगति विवरण लिनुका साथै केबलकारको सञ्चालनपछि यस क्षेत्रमा पर्ने आर्थिक तथा सामाजिक प्रभावबारे जिज्ञासा राखेका थिए। उनले उक्त केबलकार परियोजनाले नेपालको पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै आयोजनालाई यथाशक्य छिटो सञ्चालन गर्न आग्रह समेत गरे।
उक्त अवसरमा लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार निर्माणको प्रगतिबारे जानकारी गराउँदै केही महीनाभित्रै सञ्चालनमा आइसक्ने जानकारी गराएका थिए। उनले केबलकारको झण्डै ९० प्रतिशत काम सकिए पनि रिसोर्ट लगायत अन्य पूर्वाधारको काममा भने केही समय लाग्ने बताए।
कम्पनीले एक-दुई महीनाभित्रै केबलकार सञ्चालनमा आउने जनाएको छ। यद्यपि, केबलकारको चढ्ने स्थान र ओर्लने ठाउँमा निर्माणाधीन रेस्टुरेन्ट, रिसोर्ट तथा अन्य पूर्वाधारको निर्माण सम्पन्न हुन अझै केही महीना लाग्ने जनाएको छ। केबलकारबाट पाल्पाको वसन्तपुर डाँडामा पुगेर त्यहाँ रहेको मन्दिरको दर्शन गर्न सकिनेछ। उक्त स्थानबाट हिमालदेखि तराईसम्मको दृश्यावलोकनको आनन्द लिन सकिने कम्पनीले बताएको छ।
लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटक र नेपालको सीमा क्षेत्रका भारतीय पर्यटकलाई यो केबलकार सहितको रिसोर्ट नयाँ पर्यटकीय गन्तव्य बन्ने कम्पनीले विश्वास राखेको छ।