पहिचानको नाममा अनियमितता
पछिल्लो समय स्थानीय पहिचान‚ इतिहास झल्किने संरचना बनिरहेका छन्। तर‚ कला, शिल्प, निर्माण सामग्री हरेक हिसाबले कम गुणस्तरका तिनले प्राकृतिक सौन्दर्यलाई मात्रै होइन सांस्कृतिक मान्यताहरूलाई समेत कुरूप बनाइरहेका छन्।
गत स्थानीय चुनावमा भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा प्रतिस्पर्धी दलहरूका प्रमुख चुनावी मुद्दा बन्यो, मूर्ति। चुनाव नजिकिंदै आयो मूर्तिको मुद्दा झन् पेचिलो बन्दै गयो। त्यो मुद्दाको नाम राखियो‚ ‘मूर्तिकाण्ड’। चुनाव सकियो। मूर्तिको मुद्दा पनि सेलायो। प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिएपछि फेरि मूर्तिकाण्ड ब्युँतियो। चुनाव सकियो, मूर्ति मुद्दा बिस्तारै सेलाउँदै छ।
कुरो टेम्केमैयुङ गाउँपालिका वडा नं १ मा पर्ने हाँसपोखरीको डिलमा राखिएको सुम्निमा–पारुहाङ र सावागाउँमा राखिएको यलम्बरको मूर्तिको हो। मूर्ति राखिएका स्थानहरू २०७५ कात्तिक १५ गते नेपाल सरकारले सूचीकृत गरेको देशभरका उत्कृष्ट सय गन्तव्यमध्ये एक मुन्दुम पदमार्ग क्षेत्रमा पर्दछन्। ती मूर्ति राख्नुको उद्देश्य मुन्दुम पदमार्गको सांस्कृतिक पहिचान उजागर गर्नु हो। तर‚ आर्थिक अनियमितता‚ निर्वाचनमा विपक्षीलाई लखेट्ने मुद्दा बन्यो।
विवादै विवाद
२०७७ जेठ-असारको एक दिन टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष इन्द्रवती राईलाई फोन आयो, ‘गाउँपालिकाको सामान आएको छ बुझिदिनुपर्यो।’ उनी हस्याङफस्याङ गर्दै वडा नं ४ मा पर्ने खोङटाङ घुम्ती पुगिन्। एउटा गाडीमा छोपिएको अवस्थामा सामान थिए। सोधीखोजी गर्दा थाहा पाइन् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट आर्थिक वर्ष २०७६/७७ मा पर्यटन पूर्वाधार विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाका लागि विनियोजित ५० लाख बजेटबाट किनिएका तीन वटा मूर्ति रहेछन्।
आफूलाई मूर्तिकार बताउने एक युवकले मूर्तिहरू राम्ररी सुकिनसकेकाले छोए बिग्रिने भन्दै छुन पनि नदिएको उपाध्यक्ष राई बताउँछिन्। उनले भनिन्, “हामीलाई बोल्नै दिएन, ऊ मात्रै बोलिरह्यो। हाम्रो अनुमान थियो एउटालाई पाँच लाखसम्म पर्ला। ५० लाखभन्दा छक्कै पर्यौं।” गाउँपालिकाका तर्फबाट बुझेपछि मूर्तिहरू त्यहींको एउटा घरमा थन्काइए।
मूर्ति त आयो तर कहाँ‚ कसले, कसरी, कहिले राख्ने भन्ने केही पनि खुलेन। यसबारे कसैलाई पनि थाहा भएन। ६ महीनापछि स्थानीय नेता हरि राईले वडा नं १ स्थित सप्तकन्या आधारभूत विद्यालयका शिक्षक स्थानीय प्रेम साम्पाङलाई फोन गरी मूर्तिहरू लगेर राख्न बताए। मूर्तिको दाम तिर्नुनपर्ने तर अरू खर्च बेहोर्नुपर्ने प्रस्ताव थियो। सावाका बासिन्दा साम्पाङले गाउँले परिचालन गरी नयाँखर्क सामुदायिक वन क्षेत्रमा रहेको हाँसपोखरीको डिलमा सुम्निमा र पारुहाङको मूर्ति राखे। यलम्बरको मूर्ति चाहिं आफ्नै घुर्यानको सुँगुरखोर नजिकै सुँगुर हेरालु जसरी ठड्याए।
हाँसपोखरीका मूर्तिमा केही समयपछि जस्ताको छाना ओढाइयो। मूर्तिको ढुवानी भाडा, जस्तापाता र मूर्ति राख्दा श्रमदान सहित दुई लाख रुपैयाँ खर्च भएको साम्पाङ बताउँछन्। वडाध्यक्ष नरबहादुर राई भने यसबारे आफूलाई कसैले थाहा नदिएको, धेरैपछि साथीभाइबाट जानकारी पाएको बताउँछन्। मूर्ति राखेको केही महीनापछि कसले पारुहाङको दाहिने हात भाँचेर मिल्काइदिए, लगत्तै सुम्निमाको देब्रे हात पनि।
स्थानीय चुनावसम्म जनता समाजवादी पार्टी र संघीय चुनावअघि नेकपा (एमाले) प्रवेश गरेका रामसिंह राईले स्थानीय चुनाव ताका भएको चुनावी भेलाहरूमा मूर्तिबारे यसो भनेका थिए, “डीपीआरमा धातुको भनिएको छ। राख्नुपर्ने चखेवा र टेम्केमा। तर‚ धातुको सट्टा फाइबरको किनिएको छ। मानिसको बाक्लो जमघट हुने ठाउँमा होइन‚ हत्तपत्त मान्छे नपुग्ने एकान्तमा राखिएको छ। बढीमा पाँच लाख खर्च गरेर ५२ लाख सकिएको छ।”
गाउँपालिका उपाध्यक्ष तथा योजना अनुगमन समितिका संयोजक इन्द्रवती राई रकम निकासा गर्नेबारे कार्यपालिकाबाट निर्णय भएको बताउँछिन्। राईले हस्ताक्षर गरेको २०७७ असार ३० गतेको पत्रमा काम गुणस्तरीय भएकाले बिलभर्पाईका आधारमा रु.३८ लाख ९३ हजार ३५० भुक्तानी दिन गाउँपालिकालाई सिफारिश गरिएको छ। गाउँपालिकाका तत्कालीन अध्यक्ष ध्रुव राई केन्द्रबाट आउने योजनामा गाउँपालिकाको कुनै भूमिका नहुने बताउँछन्।
टेम्केमैयुङतिर मूर्तिबारे व्यापक आरोप प्रत्यारोप चलिरहेको थियो। वैशाख ३० गतेको चुनाव आउन करीब पाँच-६ दिनअघि जिल्लाको दक्षिणी क्षेत्रको केन्द्र हतुवाबजार चोकमै भग्नावशेष मात्रै रहेको पोखरी धमाधम खन्न थालियो। स्थानीयलाई किन खनिरहेको, उक्त काम कसले गरिरहेको भन्ने जानकारी थिएन। यसबारे दोस्रो कार्यकालका लागि चुनावमा होमिरहेका गाउँपालिका अध्यक्ष प्रेमकुमार राईलाई समेत अत्तोपत्तो थिएन। त्यहाँ पुरानो पोखरीको आकृतिसँग नमिल्ने एक फप्लेटा चिन्डो जस्तो सिमेन्टको संरचना निर्माण गरियो। चुनावपछि त्यसको नामकरण गरियो‚ चिन्डो पोखरी, बान्तावा राई भाषामा वाबुक पोखरी।
उक्त पोखरी निर्माणका लागि प्रदेश १ सरकारले ३३ लाख रुपैयाँ छुट्याएको रहेछ। अध्यक्ष राईका अनुसार‚ हतुवागढीभित्रका ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीय वस्तु तथा क्षेत्रहरू संरक्षण, संवर्द्धन र व्यवस्थापनका लागि विस्तृत योजना बनाउन गाउँपालिका जुटिरहेको वेला पोखरीको प्रदेशबाट डीपीआर बनाउन टोली आएको तर टोलीले के गर्यो भन्ने गाउँपालिकालाई थाहै दिइएन।
उदयपुरको बेलका नगरपालिकाले वडा नं ७ मैनामैनी मूलगाउँमा १२ फीट उचाइ र १६ फीट लम्बाइको सुँगुरको मूर्ति बनायो। मूर्तिका लागि ६० लाख रुपैयाँ खर्च भएको भनियो, तर त्यो कुरा कसैले पत्याएन। १०-१५ लाख रुपैयाँ खर्चेर बाँकी नेता, ठेकेदार र कर्मचारीले मिलेर खाए भन्ने आम बुझाइ छ। नगरपालिकाले पार्क समेतको हिसाब हो भनिरह्यो, तर पत्याउने कोही निस्केन।
उता, खोटाङको ऐंसेलुखर्क गाउँपालिका वडा नं ७ मा गाउँपालिकाको तीन लाख ८० हजार लागतमा कुकुरको मूर्ति बनाइयो। त्यस भेगका आदिवासी दुमी राईहरू आफ्ना पुर्खा बसाइँ सर्ने क्रममा माखी नामको कुकुरले बाटो देखाएको विश्वास गर्छन्। दुमी राई मिथकमा उल्लिखित उक्त कुकुरको सम्मानमा मूर्ति बनाइएको दुमी राई समुदायका अगुवा पत्रकार भीम राई बताउँछन्। यो पनि विवादरहित रहेन।
आस्थामाथि प्रहार
पछिल्लो समय कतै संस्कृति, कतै इतिहास, कतै कृषि, कतै केसँग सम्बन्धित स्थानीय पहिचान झल्किने संरचना धमाधम बनिरहेका छन्। जसमध्ये धेरैजसो मूर्ति छन्। ती मूर्ति अधिकांश सिमेन्ट‚ फाइबर वा प्लास्टिकका छन्। ती मूर्तिहरू कला, शिल्प, निर्माण सामग्री हरेक हिसाबले कम गुणस्तरका छन्। तिनले प्राकृतिक सौन्दर्यलाई मात्रै होइन, सांस्कृतिक मान्यताहरूलाई समेत कुरूप बनाइरहेका छन्।
टेम्केमैयुङको मूर्तिका निर्माता धनु याक्खाले उक्त मूर्तिमा भएको आर्थिक अनियमितताबारे एक भिडिओमा यसो भनेका छन, “ती मूर्तिहरू ३३ लाखमा बनेका हुन्। नकारात्मक टिप्पणी गर्नेहरू अबुझ हुन्। मूर्ति कला हो‚ कलाको मूल्य असीमित हुन्छ। कला नबुझ्नेले जे पनि भन्छ।”
कुरा पैसाको मात्रै होइन। मूल कुरा संस्कार, संस्कृति, आस्था र पहिचानका हुन्। कुनै पनि समुदाय र स्थानको नाममा निर्माण गरिएका भौतिक वस्तुले स्थानीय विश्वास, लोकोक्ति, दर्शन, मिथक, मनोविज्ञानलाई कस्तो प्रभाव पारे भन्ने प्रश्न हो। किरात राईहरू सुम्निमा-पारुहाङलाई सृष्टिकर्ता मान्छन्। सुम्निमा पारुहाङ कस्ता थिए, कसैलाई थाहा छैन। तर‚ गहिरो आस्था र विश्वास छ।
हाँसपोखरीमा राखिएका मूर्तिहरूले किराती विश्वासलाई समेट्न नसकेको यसबारे जानकारहरू बताउँछन्। मूर्ति हेरेका अधिकांश व्यक्तिहरू भन्छन्‚ “रूप न रङको, मुर्कुट्टा जस्तो, भूत जस्तो।”
आफ्नो आस्थाको नाममा बनेको मूर्तिको मुखाकृतिमा चमक देखिनुपर्ने सरोकारवालाको बुझाइ हो। यलम्बर काठमाडौं उपत्यकामा हजार वर्ष शासन गर्ने किरात वंशका पहिलो राजा हुन्। राजामा शौर्य, विजयभाव र दृढता देखिनुपर्छ। तर‚ टेम्केमैयुङमा राखिएका सुम्निमा-पारुहाङ र यलम्बरका मूर्तिको अनुहार ठुस्स परेको देखिन्छ। बान्तावा राई भाषामा ‘उत्थुरुरु’। साथै‚ ती मूर्तिहरू हेरेपछि ‘शोकेस’ मा सजाएर राख्ने र खुला ठाउँमा राख्ने फरक हुनुपर्छ भन्ने ज्ञान मूर्तिकार र बनाउन लगाउने दुवैमा नभएको देखिन्छ।
संस्कृतिविद् प्राज्ञ नारद हार्तम्छाली सांस्कृतिक तथा मिथकीय पात्रहरूको मूर्ति वा चित्र बनाउँदा संस्कृति र मिथकका भाव समेट्न नसकिने हुनाले प्रतीकात्मक हुनुपर्ने बताउँछन्। भाव समेट्न र लामो समय रहिरहने ढुङ्गा र धातुको बनाउनुपर्ने उनको भनाइ छ।
किराती मुन्दुमको खोजकर्ता चन्द्रकुमार हतुवाली पहिचानको नाममा जथाभावी निर्माण गर्नु पहिचानमाथिको प्रहार ठान्छन्। हतुवागढीका बासिन्दा हतुवाली हतुवाबजारमा रहेको पोखरी विगतदेखि नै अतिक्रमणमा पर्दै आएको बताउँछन्। उक्त पोखरीले अनिष्ट हुन लागेको जानकारी दिने गरेको स्थानीयहरूले बताएको हतुवालीको भनाइ छ।
“हतुवागढीका किराती शासकहरू उक्त पोखरीको रङ हेरेर निर्णय गर्थे। अनिष्ट आउन आँट्यो भने पोखरीको रङ रातो हुन्थ्यो‚” स्थानीयले भनेको कुरा हतुवालीले सुनाए‚ “गोरखाली फौजले आक्रमण गर्ने वेला पोखरी पूरै रातो भएको थियो। १९९० को भूकम्प आउनुअघि पनि पोखरी रातो भएको थियो।”
तर‚ २०४० तिर वामपन्थीहरूले ‘रूढिवादी’ भन्दै पोखरी मासेर भलिबल मैदान बनाएको हतुवाली बताउँछन्। बहुदल आएपछि त्यहाँ सरस्वती मन्दिर बनाउन जग हालेर छाडिएको थियो। संरक्षणको नाममा भएको सिमेन्टको संरचना बनाउनु अतिक्रमणको पछिल्ला संस्करण मान्छन् उनी।
हतुवागढीका अध्यक्ष प्रेमकुमार राई तीन तहका सरकारबीच समन्वयको संयन्त्र नहुँदा केन्द र प्रदेशका योजनामा समस्या हुने गरेको बताउँछन्। स्थानीय समुदाय, सरकारहरूबीच समन्वय नहुँदा नै समस्या हुने गरेको छ। त्यस्तै‚ स्थानीयले स्वामित्व ग्रहण गर्ने गरी योजना निर्माण र कार्यान्वयन नहुँदा समस्या सिर्जना हुने गरेको छ।