साहित्य महोत्सवका ५० सत्रमा देश-विदेशका दुई सय वक्ता
नेपाल साहित्य महोत्सवको दशौं संस्करणमा देश-विदेशका दुई सय व्यक्तित्वकाे सहभागिता रहने भएको छ।
शनिबार पोखरामा पत्रकार सम्मेलन गरी महोत्सवको तयारीबारे जानकारी दिइएको छ। महोत्सवको दशौं संस्करण पुस ६ देखि ११ गतेसम्म पोखराको बाराहीघाटमा हुँदै छ।
महोत्सवमा आयोजना हुने ५० भन्दा बढी सत्रमा देश-विदेशका साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वको उपस्थिति रहने आयोजक बुकवर्म फाउन्डेशनले जनाएको छ। महोत्सवमा सन् २०२२ को बूकर पुरस्कार विजेता श्रीलङ्काली लेखक सेहान करुणातिलका, लेखक एवम् पत्रकार अक्षय मुकुल, लेखक सुकेतु मेहता, लेखक एवम् फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्य लगायत अन्तर्राष्ट्रिय स्तरमा चर्चित व्यक्तित्व सहभागी हुने भएका छन्।
त्यस्तै, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, सिके राउत, गभर्नर महाप्रसाद अधिकारी, डा.भगवान कोइराला, मास्टरसेफ सन्तोष साह, पत्रकार एवम् लेखक विजय कुमार, लेखक सम्राट उपाध्याय, लेखक बुद्धिसागर, सुबिन भट्टराई, सङ्गीतकर्मी रञ्जित गजमेर, अभिनेत्री स्वस्तिमा खड्का, पत्रकार रमा सिंह, गायिका झुमा लिम्बू लगायतको सहभागिता रहने भएको छ।
कोभिड-१९ का कारण रोकिएको महोत्सव फेरि सञ्चालन गर्न पाउँदा खुशी लागेको महोत्सवका निर्देशक नीरज भारीले बताए। समाजलाई मार्गदर्शन गर्नुका साथै लोकतन्त्रलाई शक्तिशाली बनाउन पनि यस्ता महोत्सवले सहयोग पुर्याउने उनको भनाइ थियो।
यस वर्ष महोत्सवको सहआयोजक गण्डकी प्रज्ञा-प्रतिष्ठान छ। त्यस्तै, प्रवर्द्धकमा पोखरा महानगरपालिका र सहयोगी संस्थाका रूपमा पोखरा प्रज्ञा-प्रतिष्ठान रहेका छन्।