काठमाडौंमा मिलेर मेट्रो रेल चलाउन चिरिबाबु महर्जनको प्रस्ताव
काठमाडौं उपत्यकाका सबै स्थानीय तह मिलेर मेट्रो रेल चलाउन ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले प्रस्ताव गरेका छन्।
ललितपुर महागनरपालिकाको १०४औं स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा मेयर महर्जनले यस्तो प्रस्ताव गरेका हुन्। “काठमाडौं उपत्यकामा अब मेट्रो रेलको विकल्प छँदै छैन,” महर्जनले भने, “कुनै योजना बनाएर भए पनि मेट्रो रेल ल्याउनैपर्छ।”
अन्तर्राष्ट्रिय अध्ययनहरूले पनि ३० लाख जनसंख्या भएको ठाउँका लागि मेट्रो रेल अपरिहार्य भएको देखाएको उनले उल्लेख गरे। “यसमा अघि बढौं। काठमाडौं र ललितपुर महानगरपालिका लगायत काठमाडौं उपत्यकाका १८ वटा पालिकाले राम्रो भूमिका खेल्नुपर्छ,” महर्जनले भने।
यो महँगो छ भनेर पछि हट्न नहुने उनको भनाइ थियो। मोटरसाइकल ल्याएर उपत्यकामा ट्राफिक जाम मात्रै बढ्ने महर्जनले बताए।