हात्तीको सास्ती
सुनसरीको रामधुनी नगरपालिका–७ मा ठूलो संख्यामा आएका जङ्गली हात्तीले घरहरू भत्काउँदै दुःख दिइरहँदा सम्भावित दुर्घटना रोक्न तत्कालीन र दीर्घकालीन कार्यक्रम आवश्यक देखिएको छ।
सुनसरीको रामधुनी नगरपालिका–७ स्थित कुमरखत सामुदायिक वनको सीमावर्ती क्षेत्रका घरहरूमा केही दिनयता जङ्गली हात्तीले दुःख दिइरहेका रहेछन्। घर जोगाउन स्थानीय बासिन्दा ज्यानकै माया मारेर खटिएका छन्। हात्ती लखेट्न घर अगाडि आगो बालेर टिन ठटाउँदै जाग्राम बसेको चार रात भइसकेछ।
होहल्ला गरे पनि घर नजिकका केरा, बाँस सोत्तर पारिसकेको छ। बूढापाका र केटाकेटी मात्र रहेका घर जोखिममा परेको छ। हात्तीले लालबहादुर कुँवरको घर पूर्ण रूपमा ध्वस्त पार्दै धान र अन्य अनाज खाइदिएको छ। यस्तै, महेन्द्र कार्की लगायतका घरहरूमा क्षति पुर्याएको छ।
त्यहाँ विगतमा पनि यदाकदा हात्ती आउने गरे पनि दुई–चार वटा आउँथे र मानिसले होहल्ला गरेपछि जङ्गल पसिहाल्थे। तर, यस पटक बढी संख्यामा आएको छ र विनाश गर्दै बसिरहेको छ।
अटेरीपनका कारण
रामधुनी क्षेत्रमा यो पंक्तिकारको परिवार २०२१ सालदेखि बसोबास गर्दै आएको हो। यसअघि हात्ती एकै पटक यति ठूलो संख्यामा आएको र विनाश गर्दै अटेरी भएर बसेको थाहा थिएन। यस पटक हात्ती जब्बर रूपमा प्रस्तुत हुनु र एकै ठाउँ बसिरहनुका चार कारण छन्।
पहिलो कारण, अहिले आएको हात्तीको बथानमा भैंसीको पाडो जत्रा दुई वटा छावा छन्। स्वभावैले कुनै पनि जन्तुको बच्चा सानो हुँदा माउ निकै सजग र जन्तुको प्रकृति अनुसार खतरनाक पनि हुन्छन्। सानो छावा भएको हात्तीको हुलले चाँडै र दैनिक रूपमा वासस्थान बदल्दैन, र वास बसेको ठाउँ वरपर बढी आक्रामक बन्छ। छावालाई मानिस वा अन्य जनावरबाट सुरक्षित राख्न हात्तीले अपनाउने रणनीति होला यो।
दोस्रो कारण, जङ्गली जनावर जति बढी संख्यामा भयो, उति अटेरी हुन्छ। तीन दिनअघि रामधुनीमा गोठालाहरूले देखे अनुसार, ठूला हात्ती १२ वटा जति छन्। विगतमा चाहिं त्यहाँ राति दुई–तीन वटासम्म हात्ती देखा पर्थे र लखेटेपछि जान्थे । यसपालि भने एकै ठाउँ आइरहेको छ। ६-७ सय मिटरको फरकमा एकै पटक तीन–चार ठाउँ चार–पाँच वटा हात्ती हूल बाँधेर जङ्गलबाट निस्किने गरेका छन्।
तीन दिनअघि बाख्रा चराउन गएका राज मादेनले एकाएक करीब ३० मिटर नजिकै हात्ती उभिएको देखे। उनी ज्यान जोगाउन बेतोडले घरतिर कुदे। त्यो दिन अरू गोठालालाई पनि हात्तीले लखेटेको थियो। धेरै घरका बाख्रा र खसी अझै जङ्गलबाट फर्केका छैनन्। जङ्गल जाने आँट कसैको छैन।
तेस्रो कारण, बस्ती नजिकको जङ्गलमा बाक्लो झाडी छ। जसका कारण हात्तीलाई टाढाको जङ्गलभन्दा गाउँबस्ती नजिकको बाक्लो झाडी सुरक्षित लाग्दो हो।
चौथो कारण चाहिं, जङ्गल सिमानादेखि एक-दुई सय मिटर माथिसम्म पानीका मुहान उल्लेख्य छन्। केही खाल्डाखुल्डी पनि छन्। हात्ती पानीको स्रोत र खाल्डाखुल्डी भएका ठाउँमा बस्न रुचाउँछ।
सम्बद्ध निकायको जिम्मेवारी
रामधुनी नगरपालिका–७ का वडाध्यक्ष केशव गौतम हात्ती लखेट्न मंसीर २९ गते राति प्रहरी टोली, वनरक्षकलाई लिएर बस्तीमा गए। राति पालिकाको वारुणयन्त्र साइरन बजाउँदै लगियो, तर बाटो बिग्रेको कारण धेरै अगाडि जान सकेन।
सुरक्षाबल मध्यराति फर्कियो। वारुणयन्त्र पनि फिर्ता गयो। राति १ बजेतिर हात्ती जङ्गलबाट निस्कियो। रातभर दुई दर्जन घरका मानिस टिन ठटाउँदै जाग्राम बसे। चार रात आगो बालेर बस्दा वर्षभरि बाल्ने दाउरा सकिइसकेको बस्तीका मानिस बताउँछन्।
नेपालको ऐन, कानून अनुसार वन्यजन्तुबारे प्रत्यक्ष सरोकार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले गर्छ। सुनसरीमा यो विभागको शाखा कोशीटप्पु वन्यजन्तु आरक्ष हो। तर, रामधुनी नगरपालिका उक्त आरक्षको क्षेत्रभित्र पर्दैन। यसकारण, यो भूभागको वन्यजन्तु सम्बन्धी प्रत्यक्ष सरोकार राख्ने निकाय डिभिजन वन कार्यालय सुनसरी हो। यो कार्यालयले कुमरखत सामुदायिक वन क्षेत्र वरपर भइरहेका गतिविधिमा ध्यान दिनुपर्छ।
खास गरी छावा भएको वेला हात्ती बढी खतरनाक हुन्छ भन्ने जानकारी जङ्गल आसपासका बासिन्दालाई गराउन जरुरी छ। नेपाल सरकारले हात्ती जस्तो सङ्कटापन्न वन्यजन्तु जोगाउन सम्बन्धित निकायहरूलाई पर्याप्त जानकारी गराउनुपर्छ। हात्ती आवतजावत गर्ने सामुदायिक वनका पदाधिकारीहरू पनि हात्तीका गतिविधिबारे जानकार हुनुपर्छ।
समाधानको खोजी
कुमरखत सामुदायिक वनमा एकै पटक, एउटै बथानमा यति संख्यामा हात्ती तीन-चार दशकयता कहिल्यै आएको थिएन। झापाको जलथल जङ्गलमा केही वटा हात्ती वर्षभरिजसो रहन्छन्। तर, पूरै वर्ष त्यहीं बस्छन् वा बस्दैनन्, यकीनसाथ भन्न सकिने प्रमाण छैन। झापाकै पूर्व–पश्चिम राजमार्ग उत्तरतर्फ बाहुनडाँगीदेखि मोरङसम्मका चुरे नजिकका जङ्गलमा दुई–तीन वटा हात्ती बस्ने गर्छन्। तिनीहरू पनि कहिलेकाहीं सुनसरीसम्म आइपुग्छन्। बाहुनडाँगीमा राति भारतबाट हात्तीको बथान आउँछ, र बिहान फर्कन्छ। यस पटक भारततर्फबाट आएकै हात्ती कुमरखत सामुदायिक वनसम्म पुगेको हुनुपर्छ। हात्तीको आकार पनि यताको रैथानेभन्दा केही सानो, डल्लो छ।
वडा कार्यालयले सरकारी पक्षबाट हात्तीबाट क्षति रोक्न गरेको प्रयत्न सराहनीय छ। तर, बस्तीमा सधैं सुरक्षाबलको उपस्थिति सम्भव हुँदैन। यस कारण हात्ती र मानव द्वन्द्व कम गर्ने दीर्घकालीन उपाय खोजिनुपर्छ।
जङ्गली हात्तीबाट जनधनको क्षति सकेसम्म कम गर्न सर्वप्रथम त हात्ती बस्तीतिर पसेको सबैले थाहा पाउनुपर्छ। यसको निम्ति प्रभावित ठाउँमा हात्ती आएको थाहा दिने साइरन बजाउने प्रबन्ध गर्नु उपयुक्त हुन्छ। यस्तै, हात्ती पस्ने गौंडाहरूमा आगो बाल्न दाउरा जोहो गर्नु पनि उपयुक्त हुन्छ। आगोबाट हात्ती डराउँछ। भारत लगायत कतिपय हात्ती प्रभावित ठाउँमा पुल्ठो बालेर मान्छेको हुल जाँदा हात्ती जङ्गल फर्केको घटना सुनिएको/पढिएको छ।
हात्तीबाट जनधनको क्षति भएमा राहत या क्षतिपूर्ति के कसरी उपलब्ध गराउन सकिन्छ भन्नेमा स्थानीय सरकारले पहल गर्नुपर्छ। तर, हात्तीलाई लखेट्ने नाममा हानि नोक्सानी पुर्याउनु पनि भएन। हात्तीबाट बढी प्रताडित हुनेले जङ्गल नजिक यदाकदा विद्युतीय धराप पनि प्रयोग गर्छन्। यस्तो कार्य रोकिनुपर्छ।
करीब १८ वर्षअघि आफन्त टोलभन्दा करीब डेढ किलोमिटर पश्चिमतर्फ जङ्गलको सिमानामा एक हात्ती विद्युतीय धरापमा परेर मरेको थियो। हात्तीको त ज्यान गयो नै, यस्ता घटनामा कानूनी झमेला दशकौंसम्म रहन्छ। यसकारण, सरकारी निकायले वन्यजन्तु तथा मानव द्वन्द्वले निम्त्याउने जटिलताबारे पनि बुझाउनुपर्छ।
रामधुनी क्षेत्रमा अहिलेसम्म ठूलो दुर्घटना भइसकेको छैन। समयमै आवश्यक पहलकदमी गरे दुर्घटना रोक्न सकिन्छ।