अमेरिका-चीन युद्ध टार्ने सूत्र
अमेरिका र चीनले 'व्यवस्थित रणनीतिक प्रतिस्पर्धा' मार्फत आपसका मुख्य चासोलाई धोका नदिई सहअस्तित्वको बाटो खोज्न सके भूराजनीतिक विपद् अझै पनि टार्न सकिने चीन विज्ञ केभिन रढले औंल्याएका छन्।
विश्व भूराजनीतिका अध्येता डा. पराग खन्नाले समकालीन विश्वलाई बुझ्न तीन कुराको आवश्यकता औंल्याएका छन्ः भू-राजनीति, भू-अर्थनीति र भू-प्रविधि। यी तीनै विषयका जानकार केभिन रढले चीन-अमेरिका द्वन्द्वबारे पुस्तक निकालेका छन्, द एभोइडेबल वारः द डेन्जर्स अफ अ क्याटास्ट्रोफिक कनफ्लिक्ट बिट्वीन द यूएस एन्ड सी चिनफिङ्स चाइना।
अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री रढ थिङ्कट्याङ्क ‘एशिया सोसाइटी’ का अध्यक्ष हुन्। अमेरिका र चीन दुवै राष्ट्रका नेता र नीतिलाई नजिकबाट अध्ययन गरेका उनी खासमा चीन विज्ञ हुन्। अस्ट्रेलियाको राजनीतिमा प्रवेश गर्नुअघि उनले बेइजिङमा अस्ट्रेलियाली कूटनीतिज्ञका रूपमा काम गरेका थिए। अध्ययन र कामको सिलसिलामा चीनमा ४० वर्षभन्दा बढी बसेका उनले आधुनिक चीन, माओत्सेतुङदेखि सी चिनफिङसम्मका नेतृत्वको अध्ययन गरेका छन्। यो पुस्तक उनको त्यही विज्ञताको दृष्टान्त हो।
रढको विश्लेषणमा सीको चीन आधुनिक चीनका प्रणेता तङस्याओ फिङको भन्दा फरक छ। उनका अनुसार, चीन र अमेरिका रणनीतिक साझेदारीबाट आज रणनीतिक प्रतिस्पर्धाको तहमा पुगेका छन्। विश्व महाशक्तिको होडमा अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको चीनलाई अमेरिकी रणनीतिमा प्रमुख प्रतिद्वन्द्वीको रूपमा चित्रण गरिन्छ।
यी दुई देशको सम्बन्धको इतिवृत्त केलाउँदा चीनले अमेरिकी राष्ट्रपति अब्राहम लिंकनलाई पत्राचार गरेको भेटिन्छ। आजको चीन पश्चिमीकरणभन्दा आधुनिकीकरणमा जोड दिन्छ, इसाई, यहुदी परम्पराको भन्दा आफ्नो कन्फुसियाली मान्यताको कार्यान्वयन चाहन्छ, तर राष्ट्रपति सी मार्क्सवादी लेनिनवादी विश्व दृष्टिकोण राख्छन्।
सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्शनले चीन भ्रमण गरेपछि चीन-अमेरिका सम्बन्धले नयाँ गति लिएको हो। तत्कालीन साम्यवादी सोभियत संघलाई एक्लो पार्न चीनलाई रणनीतिक रूपमा आफ्नो पक्षमा पार्न अमेरिका सफल भयो। चीनले अमेरिकाबाट विज्ञान, प्रविधि, व्यापार र वैदेशिक क्षेत्रमा सहयोग पायो, जस मार्फत चीनले द्रुत गतिमा विकास गर्यो। सन् १९९० को दशकसम्म चीन शान्त र सन्तुलित राष्ट्र थियो। राष्ट्रपति बिल क्लिन्टनको पालामा अमेरिकी सहयोगमै चीन विश्व व्यापार संगठनको सदस्य बन्यो, जसले उसलाई भूमण्डलीकरणसँग जोड्यो। आर्थिक विकास र आधुनिकीकरणसँगै चीनमा प्रजातन्त्र आउने अमेरिकी नेता र नीतिनिर्माताको विश्वास थियो, तर त्यसो भएन।
जनवादी गणतन्त्र चीनका संस्थापक माओत्सेतुङपछि सबैभन्दा शक्तिशाली बनेका सीको विचारधारालाई संविधानमै उल्लेख गरिएको छ। सी विचारधारा कम्युनिष्ट पार्टीको प्रभुत्व र सीको एकल नेतृत्व रहने उपाय हो। हरेक वर्ष चीनको सैन्य बजेट बढ्दो छ। सैनिक, आर्थिक र रणनीतिक विस्तारबाट चीन सोभियत संघ विघटनपछि निर्मित नयाँ विश्व व्यवस्थामा आफ्नो वर्चस्व दाबी गर्ने राष्ट्र बनेको लेखक रढ बताउँछन्। एशिया प्रशान्तबाट अमेरिकालाई धकेलेर अबको १० वर्षभित्र ताइवानको मुख्य भूमि आफ्नोमा गाभ्ने चिनियाँ लक्ष्य छ।
आफूकेन्द्रित एशिया बनाउन चाहने चीन अन्य देशसँगको विवाद र द्वन्द्वमा उत्तिकै रुमलिएको छ। पूर्वी समुद्री टापुहरूमा जापानसँग टकराव छ भने हिमालय क्षेत्रको लद्दाख र दोक्लाममा भारतसँग सीमा विवाद छ। चीनको उदयसँगै एशियामा नयाँ समीकरण र सन्तुलन बन्दो छ।
नयाँ विश्व व्यवस्थामा आफ्नो पकड स्थापित गर्न चीन र अमेरिकाबीच विश्व महाशक्ति बन्ने तीव्र प्रतिस्पर्धा भइरहँदा यसले अर्को शीतयुद्ध निम्त्याइरहेको विश्लेषण गरिंदै छ। लेखक रढ भने दुई देशबीचको यो द्वन्द्व बेवास्ता गर्न वा टार्न सकिने बताउँछन्। उक्त अवधारणा अमेरिकी कूटनीतिज्ञ एवम् पूर्व विदेश मन्त्री हेनरी किसिन्जरले ल्याएका थिए। रढका अनुसार, चीनको उदयलाई व्यवस्थापन गर्न एशिया प्रशान्त समुदाय बनाउनुपर्ने हुन्छ, जसमा भारत पनि सामेल हुनेछ। चीनको उदय दोस्रो विश्वयुद्ध ताकाका जर्मनी र जापान जस्तो हिंस्रक नहुन पनि सक्छ। तर, निरङ्कुश बन्दै गएका सी चिनफिङको चीन कसरी अगाडि बढ्छ भनेर अहिल्यै भविष्यवाणी गर्न सकिंदैन।
एकले अर्कालाई प्रतिद्वन्द्वी माने पनि आर्थिक रूपमा भने चीन र अमेरिका छुट्याउनै नसकिने गरी आपसमा गाँसिएका छन्। यही अन्तर्विरोधी चरित्रलाई हार्वर्ड विश्वविद्यालयका प्राध्यापक ग्राहम अलिसनले ‘थुसिडिडिज् ट्र्याप’ को जोखिम भनेका छन्। थुसिडिडिज् प्राचीन ग्रीसका इतिहासकार हुन्। पाँचौं शताब्दीमा उदाउँदो एथेन्सले स्थापित स्पार्टा राज्यलाई चुनौती दिंदा उत्पन्न द्वन्द्वलाई प्राध्यापक अलिसनले चीनले अमेरिकालाई दिएको चुनौतीसँग दाँजेका छन्। हार्वर्ड विश्वविद्यालयमा उनले यही पासोको अध्ययन गर्दा पाँच सय वर्षमा संसारमा १६ वटा थुसिडिडिज् ट्र्यापको अवस्था देखियो, जसमध्ये १२ वटामा युद्ध भएको थियो। यसै अध्ययनका आधारमा डेस्टन्ड फर वार पुस्तक लेखेका उनले अमेरिका र चीनले यस्तो पासोमा परेर विनाश निम्त्याउन नहुने सुझाव दिएका छन्।
चीन सोभियत संघ जस्तो होइन। सोभियत संघ आर्थिक रूपमा कमजोर थियो भने चीन विश्वकै एक नम्बर बन्नेतर्फ लम्किरहेको छ। ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) अर्थात् कृत्रिम बौद्धिकताको विकासमा चीन पाँच वर्षमा अमेरिकाको हाराहारी पुग्नेछ। सेना र आणविक हतियारको विकासलाई पनि प्राथमिकता दिइरहेको छ। चीनलाई एशिया, यूरोप र अफ्रिकासँग जोड्ने बेल्ट एन्ड रोड अभियान (बीआरआई) राष्ट्रपति सीको महत्त्वपूर्ण सपना हो। हालसालै चीनले आफ्नो रणनीति ब्रिक्स, साङ्हाई कोअपरेशन अर्गनाइजेशन मार्फत अगाडि बढाएको छ। यसै क्रममा युक्रेन युद्धबाट थकित रुस पनि चीनतर्फ ढल्किएको छ।
आजको चीनमा राष्ट्रको पुनर्ताजगीसँगै चिनियाँ सपना साकार पर्ने अवधारणा मार्फत जनतालाई एकताबद्ध पारिएको छ। सी चिनफिङ आफ्नो विचारधारा मार्फत जनतालाई सम्पन्न बनाउन र सांस्कृतिक पहिचान भएको राष्ट्र निर्माण गर्न चाहन्छन्। गत अक्टोबरमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको बीसौं अधिवेशनले यही कुरा अनुमोदन गरेको छ।
चीनको उदय यहुदी र इसाईभन्दा फरक सभ्यताको उदय हो। १७औं शताब्दीको आफ्नो गौरव र शक्ति फर्काउन चीन लागेकाले पश्चिमा जगत् चिन्तित छ। जसलाई सभ्यताको द्वन्द्व पनि भन्न सकिन्छ। राष्ट्रपति बराक ओबामाको कार्यकालमा अमेरिकाले खाडी क्षेत्रबाट एशियामा आफ्नो रणनीतिक संलग्नता बढाउँदै ‘एशिया पिभोट’ को नीति ल्याएको थियो, जसलाई वर्तमान प्रशासनले पनि निरन्तरता दिएको छ। चीनको उदय रोक्न अहिले इन्डो-प्यासिफिक रणनीति सक्रिय छ, जसमा अमेरिका, जापान, भारत, अस्ट्रेलिया आदि छन्।
पुस्तक: द एभोइडेवल वार । लेखकः केभिन रढ । प्रकाशकः एन एशिया सोसाइटी इन्स्टिच्यूट पब्लिकेशन ।