नेपाल-भारत संयुक्त सैनिक अभ्यास शुरू
नेपाली सेना र भारतीय सेनाको संयुक्त सैनिक अभ्यास रुपन्देहीको लालझण्डीमा शुरू भएको छ।
शुक्रबार एक समारोहबीच लालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कूलमा मध्यपश्चिम पृतना मुख्यालयका पृतनापति उपरथी यामप्रसाद ढकालले सैनिक अभ्यासको उद्घाटन गरेका छन्। यो संयुक्त अभ्यासको १६औं संस्करण हो।
विपद् व्यवस्थापनको समयमा उद्धार र स्वास्थ्य उपचार लगायत प्रति विद्रोह तथा प्रति आतङ्कवाद जस्ता विषय समावेश गरी संयुक्त अभ्यास शुरू गरिएको हो। यसमा नेपाली सेनाबाट प्रमुख सेनानी विमलकुमार वाग्लेको नेतृत्वमा ३३४ जना र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा ३३४ जना सहभागी छन्। संयुक्त अभ्यास पुस १४ गतेसम्म चल्नेछ।
यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास भारतको पिथौरागढमा भएको थियो। २०६७ सालबाट नेपाल र भारतमा वार्षिक रूपमा आलोपालो गरी सञ्चालन हुँदै आएको संयुक्त अभ्यास हालसम्म दुवै देशमा गरी १५ पटक भइसकेका छन्।