‘पारिजातबारे धेरै बकवास लेखिएको छ’
‘हाम्रा समीक्षक गहिरोसँग अध्ययन नगरी समीक्षा गर्छन्। मेरा बारे टिप्पणी गर्दा मैले लेखेका फरक फरक विधाका किताब पढ्नुपर्यो नि!’
नेपाली साहित्यमा धेरै चर्चा हुने लेखकमा पारिजात पनि पर्छिन्। आफ्नो समयकी चर्चित साहित्यकार पारिजातको जीवन साहित्य अनुरागीका लागि सधैं चासोको विषय बन्छ। शिरीषको फूलबाट मदन पुरस्कार पाएकी पारिजात समयक्रमसँगै प्रगतिशील लेखकका रूपमा चिनिइन्।
उनै चर्चित साहित्यकार पारिजातको जीवनका विविध पक्ष समेटेर लेखक गोविन्द गिरी प्रेरणाले लेखेको सुश्री पारिजात पुस्तक प्रकाशन भएको छ। २० वर्ष लगाएर लेखेको यो पुस्तकले पारिजातबारे थुप्रै भ्रम चिर्न सहयोग पुग्ने उनी बताउँछन्। पुस्तक सुश्री पारिजात तथा लेखनमा केन्द्रित रहेर हिमालखबरको साप्ताहिक प्रस्तुति किताबका कुरामा उनै लेखक गिरीसँग सागर बुढाथोकीले कुराकानीः
किताबको नामबाटै शुरूआत गरौं। पारिजात जस्तो विद्रोही चेत भएको लेखकको जीवनीको नाम सुश्री पारिजात राखेकोमा केही पाठक तथा समीक्षकले असन्तुष्टि जनाएका छन्। ‘पारिजात’ को अगाडि ‘सुश्री’ राख्न किन आवश्यक लाग्यो?
पारिजात नाम ‘कमन’ पनि भयो। अलिकति ‘अनकमन’ होस् भन्न यो नाम राखेको हुँ। अचानक ‘सुश्री पारिजात’ लेखेको पनि होइन। उहाँले शुरूआततिर लेखेका रचनामा पनि ‘सुश्री पारिजात’ नै उल्लेख छ। त्यस्तै जीवनभर अविवाहित मान्छेलाई सुश्री लेख्दा के फरक पर्ला र भन्ने सोचेर सहज ढङ्गले नै सुश्री पारिजात नाम राखेको हुँ। किताब प्रकाशन भएपछि धेरैले राम्रो नाम भयो भनेर प्रशंसा पनि गरेका छन्, त्यस्तै कतिपय पाठक र समीक्षकले आपत्ति जनाएका छन्। यो स्वाभाविक पनि हो।
यसअघि पनि पारिजातको जीवनी लेखिएको छ। त्यसमा यो पुस्तक पनि थपिएको छ। पारिजातप्रति यति धेरै आकर्षण हुनुको कारण के होला?
नेपाली साहित्यका तीन जना साहित्यकार शंकर लामिछाने, भूपी शेरचन र पारिजातको जीवनी लेख्छु भनेर सन्दर्भ सामग्री सङ्कलन गर्न थालेको थिएँ। तर, तीन जनाको जीवनी एकैपल्ट लेख्न गाह्रो हुँदो रहेछ। त्यसैले शुरूमा पारिजातबारे लेख्न मन लाग्यो। उहाँ आफ्नो समयको सशक्त लेखक, मदन पुरस्कार विजेता र धेरै विवादमा आएको लेखक पनि हुनुहुन्छ। पारिजातको जीवनका धेरै पाटो देखेपछि शुरूआतमा उहाँकै बारे लेख्न मन लाग्यो।
पारिजातबारे राजेन्द्र सुवेदी, खिम दाहाल, चूडामणि रेग्मी, डीआर पोखरेल र नरेन्द्रराज प्रसाईंले लेखेका जीवनी पढिसकेको छु। सन्दर्भ सामग्री खोज्दै जाँदा पढिसकेको भन्दा अथाह चिज बाहिर छ भन्ने लाग्यो। यसअघि छापिएका किताबमा जति तथ्यहरू छन्, ती सबै सुश्री पारिजातमा भएका तथ्यको तुलनामा २० प्रतिशत जति पनि छैन। त्यसैले नेपाली साहित्यका पाठकलाई धेरैभन्दा धेरै जानकारी दिन पारिजातको जीवनी लेखेको हुँ।
यो किताब लेख्न कसरी पूर्व तयारी गर्नुभयो, कति समय लाग्यो?
सबैभन्दा पहिले त पारिजातबारे छापिएका किताब, शोधपत्र पढें। किताब र शोधपत्रमा दिएका सन्दर्भ सामग्रीको मुख्य स्रोत पनि खोजें। पारिजातबारे प्रकाशित तर किताबमा आउन बाँकी एउटा किताब हुने बराबरका सामग्री जम्मा गरें।
त्यस्तै, पारिजातका विभिन्न समय र सन्दर्भमा लिइएका अन्तर्वार्ता खोजें। जस्तो- पवन चाम्लिङले निकालेको किताबमा पारिजातको समग्र रचना र अन्तर्वार्ता समेटिएका छन्। त्यहाँ समेटिएका र समेटिन बाँकी अन्तर्वार्ता तथा रचना पनि सङ्कलन गरें। त्यस्तै, पारिजातले विभिन्न व्यक्तिलाई लेखेका चिठी पनि सङ्कलन गरें।
धेरै सन्दर्भ सामग्री सङ्कलन भयो। त्यसपछि पारिजातको नजिकका साथी समाजशास्त्री बारबरा निम्री अजिजले भन्नुभयो, “गोविन्द, तिमीले राम्रो काम थाल्यौ, अध्ययन र अनुसन्धान कहिल्यै पनि सकिंदैन। किताब नै लेख्ने हो भने ‘डेडलाइन’ तोकेर काम गर।”
अनि म झसङ्ग भएँ। किताब लेख्न शुरू गरिहालें। १६ वर्ष अध्ययन तथा अनुसन्धान र चार वर्ष लेखनमा काम गरेपछि किताब तयार भयो।
सन्दर्भ सामग्रीका लागि १६ वर्ष लाग्नुको कारण सहजै नभेटिएर हो?
२० वर्षअघि किताब लेख्ने सोच बनाएदेखि नै पारिजातबारे लेखिएका लेख, रचना तथा अन्तर्वार्ता सङ्कलन गर्न थालेको थिएँ। मदन पुरस्कार पुस्तकालय, त्रिभुवन विश्वविद्यालयको पुस्तकालय र प्रेस काउन्सिलको ‘डिजिटल आर्काइभ’ बाट पनि सन्दर्भ सामग्री सङ्कलन गरिरहेको थिएँ। पारिजात पाल्पा जाँदा लेखेको डायरी विनयकुमार कसजूले उपलब्ध गराउनुभयो। लेख्न हतार नगरी सामग्री खोज्नमै केन्द्रित भएकाले पनि धेरै समय लागेको हो।
पारिजातबारे अत्यन्त गहिरोसँग चाख राखेकाले कहींकतै थोरै लेखेको भेटिए पनि सङ्कलन गरिहाल्थें। जस्तो, विराटनगरकी विन्दा सुब्बा अमेरिकामा बस्छिन्। उनकी आमा पारिजातकी साथी हुनुहुँदो रहेछ। पारिजात विराटनगर जाँदा उनकै घरमा बस्नुहुँदो रहेछ। विन्दा सुब्बा पनि काठमाडौंमा पारिजातकै घरमा बसेर पढेकी रहिछन्। पारिजातका कतिपय रचना उनले नै साफी गरेकी रहिछन्। तिनै विन्दा सुब्बा अमेरिकामा छिन् भन्ने थाहा पाएपछि त्यहाँ गएको वेला उनलाई भेटेर केही सन्दर्भ सामग्री ल्याएँ। मैले यसै गरी सामग्री खोज्न धेरै कोशिश गरें, तैपनि कतिपय सामग्री पाइएन।
यो किताबमा ‘पारिजात र विमल राल्फा’ शीर्षकमा एउटा अध्याय छ। त्यसमा कतिपय व्यक्तिगत कुरा खोतल्नुभएको छ। यस्तो लेख्न जरुरी थियो?
मैले त्यो कुरा अचानक लेखेको होइन। त्यसलाई पुष्टि गर्न पारिजातको भनाइ राखेको छु। साहित्यमा मान वा अपमान र कसैलाई चित्त दुख्ला कि भन्ने सोचेर लेखिन्न।
मैले विमलजीलाई इमेल लेखेर ‘पारिजातको जीवनी लेख्दै छु, त्यसमा तपाईंको भनाइ राख्न चाहन्छु’ भनेको पनि थिएँ। तर, उहाँले त्यो इमेलको ‘रेस्पोन्स’ गर्नुभएन। मैले उहाँलाई लागेको आरोप खण्डन गर्ने अवसर दिएकै थिएँ। विमल राल्फालाई मैले आरोप लगाएको होइन, उहाँबारे पारिजातले लेखेको प्रमाण सहित उल्लेख गरेकाले त्यस्तो अप्ठ्यारो लागेन।
यो किताबमा चाहेर पनि लेख्न नसकेका केही प्रसङ्ग छन्?
छन्। पारिजात जीवित हुँदा जीवनी लेख्छु भन्ने सोचेको भए धेरै कुरा सोध्न सकिन्थ्यो। शिरीषको फूलमा एउटा हाइकु छ, जुन शंकर लामछानेले लेखेको भनिन्छ। तर, शंकर लामिछानेले लेखेको हो कि पारिजातले लेखेको भन्ने यकीन छैन। किनकि, उहाँहरू दुवै जना अहिले जीवित हुनुहुन्न। पारिजात भएकै वेला सोध्न पाएको भए निर्क्योल हुन्थ्यो। पारिजातले हाइकू लेखेको कतै उल्लेख छैन। शंकर लामिछानेले भूमिका लेख्दा सुहाउँदो हाइकुले लेखेको भन्ने चर्चा छ, तर त्यो हो वा होइन, यकीन छैन।
त्यस्तै, पहिलो प्रेमी भनेर पारिजातले नै भन्नुभएको र धेरै साहित्यकारलाई थाहा भएको धनवीर मुखियाको चर्चा हुने गर्छ। धनवीर मुखियाबारे धेरै चर्चा भए पनि उनी कस्ता थिए भने कसैलाई थाहा छैन। उनीबारे लेख्न र तस्वीर छाप्न मन थियो, तर जति खोजे पनि भेटिनँ। किताब छाप्न दिल्ली पठाएपछि मात्रै तस्वीर पाइयो भनेर खबर आयो।
तपाईंले भेटेको पारिजात र किताब लेख्दै गर्दा सन्दर्भ सामग्रीमा भेटेको पारिजातबीच केकस्ता भिन्नता पाउनुभयो?
मैले अनौपचारिक भेटघाट धेरै गरिनँ। मसँगको अन्तर्वार्तामा ‘आफ्नो प्रेमीले म तिमीलाई स्वीकार्छु, तर मेरो दोस्रो बिहे हुन्छ’ भन्दा ‘एउटा लोग्नेमान्छेलाई दुई-दुई जना महिलाले के झुत्तो खेल्नु’ भनेको सुनाउनुभएको थियो। उहाँको जीवन खुला किताब जस्तै थियो। तर, उहाँको राजनीतिक विचारधारासँग म कहिल्यै नजिक भइनँ। उहाँका देखिने र नदेखिने धेरै पक्ष थिए।
हरेक वर्ष पारिजातको जन्मजयन्ती र स्मृति दिवसमा धेरै लेखिन्छ, तर धेरैले तथ्यभन्दा बाहिरका बकवास लेख्छन्। यो किताबले नै जवाफ देओस् भनेर यसअघि बोलेको थिइनँ। पारिजातलाई कहिल्यै नभेटेको, नदेखेको र उहाँबारे राम्ररी नपढेको मान्छेले धेरै भ्रामक लेख लेखेका छन्।
त्यस्तो केही उदाहरण भन्न सक्नुहुन्छ?
पारिजातले आफ्ना प्रारम्भिक कालमा तीन-चार वटा उपन्यास जलाइन् भन्ने सुनिन्छ। त्यो उपन्यास पारिजातलाई चित्त नबुझेर जलाइयो भनेर लेखिएका छन्, जुन बिल्कुल गलत हो। पारिजातको पहिलो उपन्यास लेखेपछि धेरै प्रकाशककहाँ धाउनुभयो, सबैले अस्वीकार गरे। त्यो उपन्यास उहाँलाई चित्त नबुझेर जलाएको होइन, प्रकाशनलाई चित्त नबुझेर जलाएको हो। लेखकलाई चित्त नबुझेर जलाएको भन्नु र प्रकाशकलाई चित्त नबुझेर जलाइयो भन्नुमा आकाश र जमीन फरक छैन र? यो त बकवास होइन र!
यस्ता हरेक चिजमा पारिजातमाथि मनगढन्ते कुरा आइरहेको छ। त्यसकारण भ्रम चिर्न सबै कुरा राखेको छु।
किताबमा पारिजातको समयका अन्य चर्चित लेखकका प्रसङ्ग तथा आनीबानी सँगै जोडिएर आएका छन्। त्यति वेलाको साहित्यिक माहोल र अहिलेमा केकस्ता समानता र भिन्नता देख्नुहुन्छ?
त्यति वेलाका गतिविधिलाई स्वाभाविक रूपमा लिनुपर्छ। हिन्दी साहित्यकारका जीवनी पढ्दा त्यो समयमा उस्ताउस्तै गतिविधि भएको देखिन्छ। साहित्यकार भेला भएर जाँडरक्सी खाने, प्रेम, यौन र अन्य विकृति विसङ्गति संसारभर नै सामान्य थियो। अहिले समय परिवर्तन भएसँगै त्यस्ता गतिविधि कम भएका छन्।
बरु अहिले लेखकहरू राजनीतिक रूपमा विभाजित छन्। जस्तो-मेरो यो किताबको विमोचनमा एक जना लेखकलाई निम्तो दिंदा ‘म प्रज्ञा-प्रतिष्ठानको गेटभित्रै नछिर्ने भएकाले विमोचनमा आउँदिनँ’ भन्नुभयो। हामी आफैंले सिर्जना गरेका विभेदले साहित्यकार ससाना समूहमा विभाजित छन्।
पारिजातको अन्तिम इच्छामा मेरो लासलाई प्रज्ञा-प्रतिष्ठानमा नलैजानु भनेर लेख्नुभएको रहेछ। किन यस्तो भन्नुभयो होला?
यसमा मेरो अलग विश्लेषण छ। २०४८ सालमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा प्रज्ञा-प्रतिष्ठानको उपकुलपति ईश्वर बराल हुनुभयो, त्यसको धेरै विरोध भयो। वामपन्थी लेखकहरूको प्राज्ञिक आन्दोलन समिति बन्यो। त्यसले प्रधानमन्त्री कार्यालयमा गएर ज्ञापनपत्र बुझायो।
प्रधानमन्त्री जे कुरा पनि ‘हुन्छ’ भन्ने, तर नगर्ने किसिमको हुनुहुन्थ्यो। उहाँले ‘तपाईंहरू सुझाव ल्याउनुस्, म गर्दिन्छु’ भन्नुभयो। त्यसपछि बैठक बसेर पारिजातलाई कुलपति बनाउने भनेर सुझाव दिए। तर, त्यो सुझाव कार्यान्वयन भएन। त्यही कारण पारिजातले आफ्नो लासलाई प्रज्ञा-प्रतिष्ठानमा नलैजानु भनेको हो कि भन्ने मैले आकलन गरेको छु।
अब प्रसङ्ग बदलौं, यतिधेरै किताब लेख्नुभएको छ। किन लेख्नुहुन्छ?
शुरूआतमा नाम आउला भन्ने सोचेर लेख्थें। किताब छाप्दा मजा हुन्छ भन्ने सोच थियो। तर, पछि लेख्दै गर्दा म लेख्नका लागि नै जन्मेको हुँ भन्ने लाग्यो। आफ्नो ब्रह्मले देखेको कुरा समाजमा बाँड्नुपर्छ जस्तो लाग्यो। लेखन मेरो जीवनको अभिन्न अङ्ग जस्तो भइसक्यो।
विविध विधामा कलम चलाउने थोरै लेखकमध्ये तपाईं पनि पर्नुहुन्छ। फरक फरक विधामा लेख्न कत्तिको गाह्रो छ?
२०३० को दशकमा जब लेख्न थालें, खूब पढ्थें। आफ्नो अध्ययनलाई फराकिलो बनाए। त्यो अध्ययनले मलाई कुन विधा कसरी लेखिन्छ भन्ने कुरा सिकायो। त्यसकारण मैले कुन विधामा लेख्ने भन्ने कुरा विषयवस्तु पाएपछि थाहा हुन थाल्यो। कुनै विषयवस्तु भेटियो भने यसलाई उपन्यास, कथा या निबन्ध के बनाउने भन्ने कुरा मेरो दिमागले स्वतः ‘फ्रेम’ मा हाल्न थाल्यो। मेरो फराकिलो अध्ययनले गर्दा जुनसुकै विधा लेख्न पनि सहज भयो।
पूर्णकालीन लेखक नभएर पनि दुई दर्जनभन्दा बढी किताब प्रकाशित गरिसक्नुभयो। संख्याको पछि लाग्दा सबै किताब उच्च स्तरको लेख्न सकिएन कि जस्तो महसूस हुन्छ कि हुँदैन?
म नियमित रूपमा लेखिरहन्छु। मेरो विचारमा लेखन भनेको एउटा किसानले खेती गरे जस्तो हो। किसानले उही खेतमा उत्तिकै मिहिनेत गर्दा कुनै साल कम उत्पादन हुन्छ भने कुनै साल बढी उत्पादन हुन्छ। कुनै साल कम उत्पादन भयो भन्दैमा किसानले खेती गर्न छाड्ने होइन। लेखन भनेको यस्तै नियमित प्रकिया हो। एउटा कागतीको बोट रोपेर कागतीको खेती गरेको छु भन्न सुहाउँदैन नि। लेखन पनि त्यस्तै हो।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले त्यति धेरै कृति लेख्नुभयो। जसमा कुनै माथिल्लो स्तरको मानिएको छ, कुनै कम। धेरै संख्यामा लेखियो भने पो राम्रो साहित्य आउने सम्भावना हुन्छ।
त्यति धेरै पुस्तकमध्ये सबैभन्दा मन पर्ने कृति कुन हो?
मेरो पाउली बुलु निबन्ध संग्रह छ। त्यो नयाँ शैलीमा लेखेको छु। स्वनामधन्य व्यक्तिले चर्चा गरिदिएको भए या पुरस्कार पाएको भए, त्यो किताबले नेपाली निबन्धमा नयाँ मोड ल्याउने थियो। मलाई पाउली बुलु मन पर्छ।
त्यस्तै, अन्तिम खाडल उपन्यास लेखेको छु, त्यो पनि मन पर्छ। नियात्रामा फेरो पनि मन पर्छ। सबै किताब बराबर गुणस्तरको पनि हुँदैन, तलमाथि हुन्छ। यी सबै किताब कति बाँच्लान् भन्ने कुरा समयले नै बताउला। तर, यो किताब नलेखेको भए पनि हुन्थ्यो जस्तो महसूस भएको छैन।
संख्यात्मक रूपमा धेरै किताब लेख्दा गुणस्तरमा ध्यान दिनुभएन भनेर समीक्षकले टिप्पणी गर्ने गरेका छन्। यसलाई कत्तिको ख्याल गर्नुभएको छ?
हामीकहाँ हेर्ने दृष्टिकोण अलिकति फरक छ। कथा लेख्नेले लेखेको कविता, नाटक लेख्नेले लेखेको उपन्यास, हाइकु लेख्नेले लेखेको निबन्ध भनेर नपढीकन ‘इग्नोर’ गर्ने चलन छ। हाम्रा समीक्षक गहिरोसँग अध्ययन नगरी समीक्षा गर्छन्। मेरो बारे टिप्पणी गर्दा मैले लेखेका फरक फरक विधाका किताब पढ्नुपर्यो नि! मेरो कविताबारे समीक्षा गर्दा म के के लेख्छु भन्नेलाई बिर्सेर त्यो कविता समकालीन कविताको तुलनामा कस्तो छ भनेर हेर्नुपर्छ। हाम्रोमा यसरी हेर्ने बानी छैन।
मेरो रचना कमजोर छैनन् भन्नेमा विश्वस्त छु। समीक्षकले समीक्षा नगर्नु र चर्चा नहुनुमा मतलब राख्दिनँ। यहाँ प्रायोजित समीक्षा र चर्चा हुन्छ, म त्यसबाट टाढै छु। किनकि, म आफ्नो लेखनमा विश्वास गर्छु।
अहिले प्रकाशित भइरहेका किताब कत्तिको पढिरहनुभएको छ? कस्ता किताब प्रकाशित भइरहेका छन्?
प्रायजसो पढिरहेको छु। अहिले नेपाली साहित्य विषय र विविधताको हिसाबले फराकिलो भयो, तर गहिराइमा जान सकेन। हरेक लेखनमा महिला समानता, जातीय, लैङ्गिक, सीमान्तीकृत मुद्दा आए, तर त्योभित्रको संवेदनशीलता आएन। धेरै लेखनमा गैरसरकारी संस्थाले बोल्ने मुद्दा आए, त्यो मात्र साहित्य होइन। त्यहाँभित्रको संवेदनशीलता आउनुपर्यो।
साहित्यभित्र मुद्दा आउँछ भने त ठीकै हो, तर मुद्दाका लागि साहित्य लेखिन्छ भने त्यो लामो समय बाँच्ने साहित्य हुन्छ जस्तो लाग्दैन। यस्ता साहित्यमा कला र गम्भीरता कम छ।
अबको लेखन योजना के छ?
नेपाली साहित्यमा महा-उपन्यास लेखिएको छैन। म त्यो लेख्ने सोच्दै छु। यो किताब कम्तीमा पनि एक हजार पृष्ठको हुनेछ।