यूरोपबाट सामान मगाएर पुनर्निर्माण गरिंदै केशरमहल
भूकम्पले क्षति पुगेको केशरमहल विदेशबाट सामान मात्रै होइन, कालिगड समेत झिकाएर पुनर्निर्माण भइरहेको छ।
समयमै काम गरिएको भए भूकम्पले भत्किएको केशरमहल यति वेला चिटिक्क परिसकेको हुन्थ्यो। तर, सरकारी बेवास्ता र निर्माणको कम्पनीको ढिलासुस्तीले अझै पनि कहिले तयार हुने हो, यकीन छैन। तथापि, केशरमहलको पुनर्निर्माण भने पुरानै शैलीमा चलिरहेको छ।
२०७२ सालमा गएको भूकम्पले केशरमहलमा पनि क्षति पुगेको थियो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)ले जेडसीआई खानी जोइन्ट भेन्चरलाई केशर महलको ‘रेट्रोफिटिङ’ को जिम्मा दिएको थियो।
सन् २०१९ मा भएको सम्झौता अनुसार गत वर्ष नै पुनर्निर्माणको काम सम्पन्न हुनुपर्ने हो। कोरोनाभाइरस महामारीलाई देखाउँदै एक वर्ष म्याद थपिएको छ। “यो आर्थिक वर्षभित्र जसरी पनि निर्माण सक्ने लक्ष्य राखेका छौं,” कम्पनीका इन्जिनीयर नरकान्त सापकोटा भन्छन्।
कोरोनाको समयमा सम्झौता भएकाले आवश्यक सामग्री तथा जनशक्ति जुटाउन समस्या भएको निर्माण कम्पनीको भनाइ छ। यससँगै सरकारी काममा आउने झन्झट, विवाद तथा सामग्री ओसारपसार गर्न पनि पत्राचार गरेर अनुमति लिनुपर्ने भएकाले ढिलाइ भएको इन्जिनीयर सापकोटा बताउँछन्।
“केशरमहल आफैंमा पुरातात्त्विक भवन हो। यसमा प्रयोग भएका सामग्री, बुट्टा, सिलिङ, वास्तुकला, डिजाइन सबै पुरानै शैलीमा निर्माण गर्नुपर्छ,” इन्जिनीयर सापकोटा भन्छन्, “भत्काएर नयाँ बनाउनु जस्तो सहज ‘रेट्रोफिटिङ’ गर्दा हुँदैन। यसको मौलिक स्वरूप नबिगारी सोही वास्तुकलामा निर्माण गर्नुपर्छ, जुन हाम्रा लागि निकै जटिल पनि छ।”
त्यसो भए कसरी हुँदै छ केशरमहल पुनर्निर्माण? सय वर्षभन्दा अघि केशरमहल जसरी निर्माण गरिएको थियो, अहिले पनि त्यसरी नै पुनर्निर्माणको काम भइरहेको इन्जिनीयर सापकोटा बताउँछन्।
राणा प्रधानमन्त्री चन्द्रशम्शेर जबराले पुरानो केशरमहललाई भत्काएर १९५२ सालमा आफ्नो छोरा केशरशम्शेरको इच्छा अनुसार पुस्तकालय, बगैंचा लगायत संरचना सहित नयाँ बनाएका थिए। त्यति वेला केशरमहल निर्माणका लागि विदेशी कालिगड झिकाइएका थिए। अहिले पनि नेपालीबाट दुरुस्तै काम हुन नसकेकाले बुट्टा भर्न भारतबाट ४० जना कालिगड मगाइएको इन्जिनीयर सापकोटाले बताए। “केही कालिगड आएर काम गर्न थालेका छन् र केही आउन बाँकी छन्,” उनले भने, “महलभित्र झण्डै ७० प्रतिशत बुट्टाको काम सकिएको छ।”
त्यस्तै, केशरमहल निर्माण गर्दा कतिपय सामान यूरोपबाट मगाइएका छन्। विशेष गरेर स्वप्न बगैंचा निर्माणका लागि। ती सामान अहिले पनि यूरोपबाटै मगाइएको छ। “पहिले जस्तो सामान प्रयोग भएका छन्, त्यही महत्त्वका सामान नेपाली बजार वा भारतबाट मगाएका छौं। यहाँ नपाइने सामान यूरोपबाट पनि झिकाएका छौं,” उनी भन्छन्।
प्रधानमन्त्री चन्द्रशमशेर राणा बेलायत भ्रमणमा जाँदा केशरशमशेर पनि सँगै गएका थिए। १९६२ वैशाख २० देखि साउन ७ गतेसम्मको बेलायत बसाइमा केशरशमशेरले त्यहाँका पुस्तकालय, संग्रहालय तथा बगैंचा अवलोकन गरे। त्यही क्रममा ‘किङ एडवर्ड सातौं’ को बगैंचा देखेर प्रभावित केशरशमशेरले १९७७ सालमा केशरमहल परिसरभित्र ‘स्वप्न बगैंचा’ निर्माण गरेका थिए।
बगैंचाभित्र ६ वटा ऋतुका आधारमा सदन बनाइएको थियो। पोखरी, यूरोपेली शैलीको बरन्डा, चरा बस्ने घर थप आकर्षण थिए। अहिले त्यही बगैंचा निर्माणका लागि यूरोपबाटै सामग्री मगाइएको छ। “स्वप्न बगैंचामा राखिने झण्डै डेढ करोड रुपैयाँका बत्तीहरू यूरोपबाटै मगाइएका छन्। ती सामान आइपुग्न दुई–तीन महीना लाग्छ,” इन्जिनीयर सापकोटा भन्छन्।
चुना, इँटा कुटेर बनाइएको धुलो–सुर्की, इँटा, फलामको आईबीम प्रयोग गरेर भवन निर्माण गरिएको थियो। अहिले पुनर्निर्माणमा पनि त्यस्तै प्रयोग गर्न थालिएको छ। यी आईबीममा इङ्ल्यान्ड लेखिएको छ। इङ्ल्यान्डबाट झिकाइएका आईबीम अम्लेखगञ्जबाट बोकाएर काठमाडौं ल्याइएको थियो। त्यही आकारको बीम बजारबाट खोजेर ल्याउने प्रयास भइरहेको उनी बताउँछन्।
निर्माण कम्पनीले पुनर्निर्माणका क्रममा एउटा समस्या आएको छ, ‘फल्स सिलिङ’ मा। एक सय वर्षभन्दा पनि पुरानो ‘फल्स सिलिङ’ खिइसकेकाले नयाँ बनाउन कठिन भएको छ। “यूरोपबाट कालिगड झिकाएर ‘फल्स सिलिङ’ बनाइएको थियो। यसलाई नयाँ बनाउन गाह्रो छ,” इन्जिनीयर सापकोटा भन्छन्, “प्रयोगमा ल्याउन सक्ने जति प्रयोग गरेका छौं। बाँकी ‘फल्स सिलिङ’ बारे मन्त्रालयसँग के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ।”
जेडसीआई खानी जोइन्ट भेन्चरले केशरमहलसँगै सिंहदरबार र बबरमहलको पनि ‘रेट्रोफिटिङ’ को काम गरिरहेको छ। सिंहदरबार र बबरमहलभन्दा केशरमहलमा काम गर्न गाह्रो भइरहेको प्राविधिकहरू बताउँछन्। पुरानो तथा यूरोपेली शैलीमा बनाइएका महलहरूको डिजाइन तथा आर्किटेक्चर बुझ्न नै समय लागेको उनीहरूको भनाइ छ।
इन्जिनीयरिङमा सिकेका र पढेका कुराभन्दा यसको बनोट, डिजाइन निकै फरक रहेको इन्जिनीयर सापकोटा बताउँछन्। “एकैपटक हेर्दै रेट्रोफिटिङ गर्न सकिने काम होइन, यो। भत्किएका संरचनाको विवरण र शैली बुझ्न विज्ञहरूसँग छलफल गर्छौं भने आर्किटेक्टसँग बसेर यसको विस्तृत विवरण लिएपछि मात्र कुनै संरचनालाई पुनर्निर्माण गर्न शुरू गरेका छौं,” उनी भन्छन्।
प्राविधिकहरूका अनुसार, सिमेन्ट तथा इँटाबाट बनाइने संरचना सजिलो हुन्छन्। तर, केशरमहलको भित्री संरचना बुझ्दै काम गर्नुपर्ने अवस्था रहेको छ। त्यसमा पनि भूकम्पले क्षति पुगेको संरचनालाई मात्रै पुनर्निर्माण गरिंदै आएको छ। “काम शुरू गर्नुअघि भित्ताको जाँच, त्यसलाई खोल्दा केमा समस्या भएको वा कहाँ नोक्सान भएको रिपोर्टिङ गरेपछि प्राविधिक समूह तथा विज्ञसँग बसेर छलफल गर्ने र पौराणिक विषयवस्तुलाई नमारी पुनर्निर्माण गरिरहेका छौं,” इन्जिनीयर सापकोटा भन्छन्।
यो महल पुनर्निर्माणका क्रममा पुरानो शैली सिक्ने मौका मिलिरहेको प्राविधिकहरूको भनाइ छ। कतिपय कुराले चकित पारेको उनीहरू सुनाउँछन्। “अचम्म त के छ भने कालोमाटोको प्रयोग गरेर बुट्टाहरू कोरिएका छन्, जुन सय वर्ष नाघिसक्दा पनि बिग्रिएका छैनन्,” सापकोटा भन्छन्।
अहिले भवनभित्र फ्लोरिङ, दलिन, प्लास्टर, पेन्टिङ, बुट्टाको काम भइरहेको छ। भवनको संरचना निर्माणमा ७६ प्रतिशत काम सकिएको छ भने आर्थिक हिसाबमा पनि ६३ प्रतिशत खर्च भएको इन्जिनीयर सापकोटा बताउँछन्। केशरमहल रेट्रोफिटिङ गर्न ६७ करोड २४ लाखमा सम्झौता भएको थियो।
सामान सार्न कडाइँ
केशर महल पुनर्निर्माण गर्दा बिग्रिएका, भत्किएका सामग्री सजिलै बाहिर सार्न नसकिएको निर्माण कम्पनीले गुनासो गरेको छ। महल परिसरमै थुपार्दा काम गर्न कठिनाइ भइरहेको उनी सुनाउँछन्। “एउटा काम गर्नलाई सबै सामान ओसारपसार गरिरहनुपर्छ। यसले काम गर्नै पाएका छैनौं,” इन्जिनीयर सापकोटा भन्छन्, “एउटा टुक्रा पनि सार्न शिक्षा मन्त्रालयको अनुमति लिनुपर्छ। मन्त्रालयले सार्ने ठाउँ देखाएको छैन। त्यसैले पनि पुरातात्त्विक महत्त्वका सामान छरपस्ट छन् र यताउता सार्दै काम गरिरहेका छौं।”
केशरमहलका बिग्रिएका, भत्किएका सामान बाहिर सार्न लाग्दा विवाद पनि उत्पन्न भएको छ। केशर पुस्तकालयमा रहेका बाघका छाला तथा पुराना महत्त्वपूर्ण सामग्री बाहिर लग्न खोजेको आरोप लागेको थियो। त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कुनै पनि सामाग्री अनुमति विना ओसारपसार गर्न रोक लगाएको जनाएको छ।
अहिले भने मन्त्रालयलाई आवश्यक नभएका सामाग्रीलाई मिलाउन अनुमति दिइएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए। “भूकम्पपछि मन्त्रालय सार्दा आवश्यक कागजात सँगै लिएर आएका थियौं, बाँकी त्यही छाडिएको थियो,” शर्मा भन्छन्, “घामपानीले दस्तावेज तथा कागजात बिग्रन थालेपछि सुकाउन र निर्माण गर्न सहज पार्न हटाउने अनुमति पनि दिएका छौं।”
केशरमहल परिसरमै सामान सार्दा भने केशर पुस्तकालयलाई गाह्रो भएको छ। “कहिले कुन ठाउँको सामान सार्नुपर्यो, कहिले कुन टहरा भत्काउनुपर्यो भनेर हामीलाई आग्रह गर्नुहुन्छ। हामीले राखेका किताबहरू बोरामा राख्दै विभिन्न ठाउँमा सार्नुपरेको छ,” केशर पुस्तकालयका प्रमुख सुरेशकुमार यादव भन्छन्।
समयमै निर्माण नसक्दा पुस्कालयका सामान जोगाउन सकस भएको छ। “समयमै निर्माण सम्पन्न नहुँदा पुराना किताबलाई राम्ररी व्यवस्थित गरेर राख्न पाएका छैनौं,” यादव भन्छन्। जसले गर्दा पाठकलाई पढ्ने वातावरण प्रदान गर्न नसकिएको उनको भनाइ छ।