सार्वजनिक शिक्षाको गुणस्तरमा सुधार ल्याउन भूइतहबाट लाग्नुपर्नेमा शिक्षाविद्हरूले जोड दिएका छन्।
ललितपुरमा बिहीबार आयोजित ‘शिक्षक अभावः कारण र परिणाम’ विषयक संवाद कार्यक्रममा सहभागी विज्ञहरूले सार्वजनिक शिक्षाको गुणस्तर खस्किँदै गएकोमा चिन्ता जनाएका छन्। शिक्षाविद् केदारभक्त माथेमाले शिक्षालाई जागिर मात्र नबुझेर समाज बनाउन माध्यमका रुपमा लिनुपर्ने बताए।
“सार्वजनिक शिक्षा विश्वभर नै खतरामा छ। नेपालमा झनै डरलाग्दो स्थिति छ,” माथेमाले भारतको दिल्ली राज्यको उदाहरण दिँदै भने, “दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले भूइतहबाटै शिक्षामा काम गरेर सकारात्मक परिवर्तन ल्याएका छन्। हाम्रो देशमा पनि भूइतहबाट सुधारमा लाग्नुपर्छ।”
त्यस्तै, अर्का शिक्षाविद् विद्यानाथ कोइरालाले शिक्षक अभावभन्दा पनि सोचको अभाव भएको औल्याए। शिक्षालाई प्रविधिसँग जोडेर शिक्षकले अरु विषयमा पनि दखल राख्नुपर्ने बताए। “शिक्षक मात्र बढाउने भन्दा पनि गुणस्तर तथा प्रविधि अनुकूल बनाउन जोड दिनुपर्छ,” कोइरालाले भने।
कार्यक्रममा बोल्दै शैक्षिक गुणस्तर प्रशिक्षण केन्द्रका महानिर्देशक चन्द्रकान्त भुुुसालले प्रभावकारी मूल्याङ्कन र अनुगमन गर्ने योजना बनाउन नसकिएको बताए। शिक्षक सेवा आयोगका प्रवक्ता सुर्दशन मरहठठले गुणस्तरीय शिक्षक सिकाइको लागि प्राथमिक तहबाटै काम गर्नुपर्ने बताए।
शिक्षक मासिक तथा ज्ञान विज्ञान शैक्षिक सहकारी संस्थाले संवाद कार्यक्रमको आयोजना गरेको थियो।