काठमाडौं उपत्यका: ६० वर्ष अघि र आज
पहिले फराकिलो क्षेत्रमा फैलिएका बागमती, विष्णुमती र मनहरा खोला साँघुरिएर कुलो बनेका छन्। खुला मैदान र हरियाली त सबै सिमेन्टले पुरिएका छन्। टुँडिखेल, लगनखेल र ताहाचललाई सेनाले कब्जा गरेर खुम्च्याएको छ।
सडकको सतहबाट हेर्दा काठमाडौं उपत्यकामा नयाँ घरहरू बनेका, बाटोघाटो चौडा बनेको देखिन्छ। अन्तरिक्षबाट हेर्दा चाहिं कस्तो देखिएला उपत्यका? पहिले कस्तो थियो? अहिले कस्तो छ? भू-उपग्रहले १६० किलोमिटर माथिबाट केही महीना अघिसम्म खिचेका तस्वीर हामी ‘गुगल अर्थ’ मा हेर्न सक्छौं। तर, ६० वर्षअघि भू-उपग्रहबाट कस्तो देखिन्थ्यो काठमाडौं?
अहिलेसम्म हामीलाई उपत्यकामा हवाईजहाजबाट खिचिएका तस्वीरहरू मात्र उपलब्ध थिए। तर, हालै ‘डिक्लासिफाई’ भएको अमेरिकी जासूसी स्याटेलाइट (भू-उपग्रह)हरूले खिचेका हाई रिजोलुशन तस्वीरहरू उपलब्ध भएका छन्। कोरोना नामक यी भू-उपग्रहहरू अमेरिकी गुप्तचर संस्था सीआईएले रूसी र चिनियाँ सैन्य गतिविधि पत्ता लगाउन सन् १९६० देखि १९७२ सम्म प्रक्षेपण गरेको थियो। ती भू-उपग्रहले ५ फेब्रुअरी १९६७ (२०२३ माघको तेस्रो साता)को बिहान ११ बजेतिर खिचेको काठमाडौंको तस्वीरसँग यसै वर्ष १५ अप्रिल (२०७९ वैशाख २)मा खिचेका तस्वीर सँगै राखेर हामी उवेला र अहिलेको फरक हेर्न सक्छौं।
ती तस्वीरहरूमा काठमाडौंको अनियन्त्रित र अव्यवस्थित शहरीकरण देखिन्छ। पहिले फराकिलो क्षेत्रमा फैलिएका बागमती, विष्णुमती र मनहरा खोला साँघुरिएर कुलो बनेका छन्। नागार्जुन र शिवपुरीमा बस्तीहरू पहाडको फेदीसम्म पुगेका छन्। काँठ क्षेत्रका धरा कोतरेर प्लटिङ भएका छन्। खुला मैदान र हरियाली त सबै सिमेन्टले पुरिएका छन्। टुँडिखेल, लगनखेल र ताहाचललाई सेनाले कब्जा गरेर खुम्च्याएको छ।
यसरी अव्यवस्थित शहरीकरण, नदी क्षेत्र तथा खुला ठाउँ अतिक्रमण र उर्वर धरामा जथाभावी बस्ती विकास हुनुको कारण सरकारी अकर्मण्यता हो। शहरीकरणको सुव्यवस्थित योजना तथा नीति निर्माण गरी त्यसलाई कार्यान्वयन गर्नेतर्फ सरकारी बेवास्ता हुँदा उपत्यकाले अहिलेको उकुसमुकुस भोगिरहेको हो।
यो अन्तरालमा सकारात्मक प्रवृत्ति पनि नदेखिने होइन। ६ दशकअघि उपत्यकामा धेरै घर थिएनन्, तर जङ्गल पनि थिएनन्। काठमाडौं वरिपरिका पहाडहरू नाङ्गा थिए। अहिले उपत्यकामा घर बाहेक केही देखिँदैन, तर पहाडहरूलाई वनले ढाकेको छ। अरूतिर घना बस्ती भए पनि काठमाडौं, भक्तपुर र पाटनका मल्लकालीन दरबार क्षेत्रहरू संरक्षित छन्।