प्रतिनिधि सभा र प्रदेश सभाका चार हजार २८५ उम्मेदवारको धरौटी जफत
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चार हजार २८५ उम्मेदवारको धरौटी जफत भएको छ।
निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गरी निर्वाचन परिणाम सार्वजनिक गरेको छ। पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ७६.०४ प्रतिशत उम्मेदवारको धरौटी जफत भएको जानकारी दिए।
निर्वाचन सम्बन्धी ऐनअनुसार, सदर मतको कम्तिमा १० प्रतिशत मत नल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ। त्यसअनुसार, प्रतिनिधि सभा र प्रदेश सभाका चार हजार २८५ उम्मेदवारले धरौटी जोगाउन सकेनन्। प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्यक्षतर्फ ११ हजार ५४२ उम्मेदवार थिए।
आयोगका अनुसार प्रतिनिधि सभाका एक हजार ९६१ जनाको उम्मेदवारी जफत भएको हो। त्यस्तै, प्रदेश सभातर्फ दुई हजार ३२४ उम्मेदवारको धरौटी जफत भएको छ।
यसैगरी, प्रतिनिधि सभामा समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची बुझाएका ४० दलको धरौटी जफत भएको छ। निर्वाचन ऐनअनुसार, समानुपातिकतर्फ उम्मेदवारी दिएका दलले प्रत्यक्षतर्फ कम्तिमा एक सीट जित्नुपर्छ।
प्रतिनिधि सभामा समानुपातिकतर्फ बन्द ४७ दलले बन्द सूची बुझाएका थिए। त्यसमध्ये सात दल मात्रै प्रत्यक्षतर्फ जित हासिल गरेका हुन्।
त्यस्तै, प्रदेश सभामा पनि प्रत्यक्षतर्फ कम्तिमा एक सीट नजित्ने दलको दरौटी जफत भएको छ। आयोगका अनुसार प्रदेश १ मा ३०, मधेशमा २०, बागतमीमा ३३, गण्डकीमा २४, लुम्बिनीमा २२, कर्णालीमा २२ र सुदूरपश्चिममा २८ दलको धरौटी जफत भएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए।
मंसीर ४ मा सम्पन्न निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधि सभामा २७५ र प्रदेश सभामा ५५० उम्मेदवार निर्वाचित भएका छन्। जसमा प्रतिनिधि सभामा १८५ पुरुष र ९१ महिला आएका छन्। त्यस्तै, प्रदेश सभामा ३५० पुरुष र दुई सय महिला निर्वाचत भएका छन्।