नारायणगढ-मुग्लिन सडक फेरि दिउँसो बन्द हुने
नारायणगढ-मुग्लिन सडकखण्ड पुल निर्माणका गर्न फेरि दिउँसो बन्द हुने भएको छ।
नागढुङ्गा मुग्लिन सडक आयोजनाले सूचना प्रकाशित गरी पुस ५ गतेदेखि दिउँसो बन्द हुने जनाएको छ। आयोजनाका अनुसार बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सवारी साधन रोकेर निर्माण हुने भएको छ।
पुल निर्माणका लागि सडकको भित्तो काट्न लागिएको आयोजनाले जनाएको छ। दिउँसो काम हुने समयमा सवारी साधन रोकिने भएको छ।
चार पुल बनाउने ठाउँमा सडकको भित्ता काट्नुपर्ने भएकाले सडक बन्द लागिएको छ। सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि सडकको भित्तो काटिने भएको छ।
नारायणगढ-मुग्लिन सकडमा अझै १५ पुल निर्माण गर्न बाँकी छ। सबै पुल निर्माण हुने अझै एक वर्ष लाग्ने आयोजनाले जनाएको छ। अहिलेसम्म पाँच पुल निर्माण भइसकेका छन्।
आगामी असारसम्ममा १० पुल निर्माण सक्ने गरी काम अघि बढाइएको नागढुङ्गा मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए। २०७६ चैत १० गते ३३ महीनामा पुल सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो। यही पुस ९ गते सम्झौताको अवधि सकिँदै छ।
आयोजना प्रमुख कार्कीले भने, “कोभिड-१९ का कारण समयमा काम सकिएन, अझै एक वर्ष लाग्ने देखिन्छ।” घरटहरा हटाउन र भित्तो काट्नुपर्ने ठाउँमा काम जटिल भएकाले समय धेरै लाग्ने देखिएको उनको भनाइ छ।
असारसम्म १३ पुल सम्पन्न गर्ने गरी काम भइरहेको जनाइएको छ। तीमध्ये सेतीदोभान, डुम्रे, तोपे, लामो बालुवा र खहरे-२ को पुल तीन महीनाभित्रमा सम्पन्न हुने कार्कीले बताए।
विश्व ब्यांकको ऋण सहयोगमा पुल निर्माण गर्न लागिएको हो। निर्माणको काम अनक कन्स्ट्रक्सनले गरिरहेको छ।