पानी नआउने बाइसधारा
ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको बाइसधारा उद्यान उचित व्यवस्थापन र संरक्षणको अभावमा उजाड बनेको छ भने बाइसधारामध्ये एउटामा पनि पानी झर्दैन।
इलाम घर भई काठमाडौंको जोरपाटी बस्दै आएका रघुपति खनाल मंगलबार काठमाडौं महानगरपालिका-१६ बालाजुस्थित बाइसधारा उद्यानमा भेटिए। इलाम जान दिउँसो तीन बजेको बस टिकट काटेका उनी त्यसअघिकै केही घण्टा टहलिन उद्यान पुगेका रहेछन्। तर‚ उद्यानको अवस्था देखेर खनाल खिन्न थिए।
“केही सफा छैन। पोखरी कति फोहोर! बाटो पनि कति फाहोर!” खनालले सुनाए‚ “चार घण्टा कटाउन आएको एक छिन कटाउन पनि मुश्किल परेको छ। उद्यान नाम मात्रको रहेछ।”
पर्वतकी सन्तोषी काफ्ले पनि शहरको कोलाहलबाट केहीछिन टाढा रही प्राकृतिक वातावरणमा रमाउन उद्यान आएकी रहेछन्। शान्त भए पनि सोचेको जस्तो उद्यान मनोरम नभएको उनले बताइन्। “उद्यान पहिलाभन्दा साह्रै नराम्रो भएको छ,” काफ्ले भन्छिन्‚ “उद्यान कार्यालयले उठेको पैसा के गर्ने रहेछ?”
ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको बाइसधारा उद्यान खनाल र काफ्लेले भनेका जस्तै उचित व्यवस्थापन र संरक्षणको अभावमा उजाड बनेको छ। फूलै फूलले ढाकिनुपर्ने उद्यान रित्तो छ। पोखरीभरि रुखका पातैपात देखिन्छन्। पोखरी लेउले ढपक्क ढाकेको छ। पानीको फोहोरा आउने फाउन्टेनमा पानी आउँदैन। बाइसधारामध्ये एउटामा पनि पानी झर्दैन।
यस्तै अवस्था रहिरहे उद्यान बन्द गर्नुपर्ने दिन आउने काठमाडौं माछापोखरीका अतुल विष्ट बताउँछन्। “उद्यानले प्रवेश टिकट मात्र काट्न जानेको रहेछ‚ सफा‚ सुन्दर राख्न जानेको छैन‚” उनी भन्छन्‚ “सधैं यस्तै उराठ लाग्दो वातावरण रहे उद्यान बन्द गर्ने दिन आउन सक्छ।” साथीसँग घुम्न पुगेका अतुल उद्यानको अवस्था देखेर दुःखी भएको बताउँछन्। पोखरीमा प्लाष्टिक, बोत्तल, प्रदूषित पानी रहेको उनले बताए।
हेराल्ड इन्टरनेशनल कलेजका विद्यार्थी अतुल अवस्थी पनि साथीहरूसँग बाइसधारा उद्यान घुम्न आउने गर्दा रहेछन्। तर‚ उद्यानको अवस्थाले दिक्क बनाएको उनी बताउँछन्। “उद्यानका फूल फुल्नुपर्ने, पोखरी सफा हुनुपर्ने, बाइसधाराबाट पानी बग्नुपर्ने हो तर नाम मात्रको उद्यान छ, उद्यानमा हुनुपर्ने विशेषता छैन‚” उनी भन्छन्‚ “सफा‚ चिटिक्क भए पो मन खुशी हुन्छ।” घुम्ने, बस्ने खुला ठाउँ एकदमै कम रहेको काठमाडौंमा भएको उद्यान समेत यस्तो हुनु व्यवस्थापनको चरम लापर्बाही भएको अवस्थी बताउँछन्।
जाडो महीनामा पात झर्नु स्वभाविक भए पनि त्यसलाई सफा नगर्दा उद्यान फोहोर भएको बाइधारामा भेटिएकी आकृति ढकालले बताइन्। “उद्यान आउँदा मन शान्त हुन्छ, साथीहरूसँग आत्मीयता बढ्छ‚” उनले भनिन्‚ “तर‚ यहाँको दूषित वातावरणले मन लोभ्याउन सकेन। बूढो फूल‚ रुख काट्नु, जाडो मौसममा फुल्ने फूल लगाउनु। भत्किएका संरचना पुनर्निर्माण नगर्दा उद्यान कुरुप बनेको रहेछ।”
बाइसधारा उद्यानमा साथीसँगीसँग टहलिन मात्र मात्र होइन‚ विभिन्न विद्यालयहरूले विद्यार्थीलाई शैक्षिक भ्रमणमा पनि लाने गर्छन्। तर‚ विद्यार्थीलाई जे कुरा देखाउन ल्याएको हो त्यो नपाएको प्रोग्रेसिभ सेकेन्डरी स्कूल महाँकालकी शिक्षिका मीरा सिलवाल बताउँछन्। “युकेजीदेखि कक्षा दुईसम्मका विद्यार्थीलाई बाइसधारा देखाउन ल्याएको तर बाइसधाराबाट पानी नै आउँदैन रहेछ।”
उद्यानमा भेटिएका विन्सम इङ्लिस बोर्डिङ स्कूलका शिक्षक अंकितहाङ लावतीले बाधइसधारा उद्यान फोहोर र जीर्ण रहेको बताए। “विद्यार्थीलाई घुमाउन ल्याएको बाइसधारामा पानी झर्दैन रहेछ। चर्पी फोहोर रहेछ। साबुन तथा पानीको अभाव रहेछ‚” उनले भने।
बालाजु बाइसधारा उद्यान कार्यालय प्रमुख दामोदर लामा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले पानी नपठाएकाले बाइसधारामा पानी नआएको बताउँछन्। केयूकेएलले महानगरपलिका उद्यानसँग कुनै सहकार्य नगरेको लामाको आरोप छ।
तर‚ केयूकेएलका प्रमुख मनीष ढुंगाना भने उद्यानकै लागि पानी छाडे पनि व्यवस्थापनमा कमजोरी भएकाले बाइसधाराबाट पानी नझरेको हुनसक्ने बताउँछन्। उनी उद्यान र केयूकेएलबीच समन्वय र सहकार्य भएको पनि दाबी गर्छन्।
काठमाडौं महानगरपालिका प्रवक्ता नवीन मानन्धर उद्यानका सबै संरचना पुरानो, जीर्ण रहेकाले त्यसलाई भत्काएर नयाँ संरचना बनाउनुपर्ने बताउँछन्। “महानगरले ‘मास्टर प्लान’ बनाइसकेको छ‚” प्रवक्ता मानन्धर भन्छन्‚ “आठ करोड रुपैयाँ छुट्याइए पनि कार्यविधि बन्न नसकाले पुनर्निर्माणमा बजेट खर्चिन कठिनाइ भएको छ।”
नार्गजुन राष्ट्रिय निकुञ्जको फेदीमा रहेको बालाजु बाइसधारा घुम्न, वनभोज खान, अध्ययन भ्रमणका लागि जाने गर्छन्। संघीय राजधानीको अव्यवस्थित शहरीकरणले गर्दा खुला स्थानको अभावलाई यस उद्यानले पूरा गरेको छ। १६२ रोपनीमा फैलिएको यस उद्यान तत्कालीन राजा महेन्द्रको पालामा २०१८ सालमा शिलान्यास भई २०२१ सालमा निर्माण सम्पन्न भएको थियो।
सोही सालदेखि उद्यान सर्वसाधारणका लागि खुला गरिएको थियो। उद्यानभित्र कृष्ण मन्दिर, कुमारीस्थान‚ बालबुढानीलकण्ठ, शितलामाई मन्दिर र रन्तचुण्डेश्वर महादेवको मन्दिर छ। बालाजु उद्यान कार्यालयका अनुसार दैनिक ५०० भन्दा धेरैले पार्कको अवलोकन गर्दछन्।