‘किम्फकाे कार्यकारी भूमिकाबाट विश्राम लिन चाहन्छु’
‘नेपालका हिमाललाई पर्यटनमा मात्र खुम्चाएर हेर्न मिल्दैन। यसले नेपालको परिचय र पहिचानलाई बोक्छ। हिमालबारे ज्ञान बढाउन किम्फ शुरू गरेका हौं।’
काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को २०औं संस्करण मंसीर २६ मा सम्पन्न भयो। ३० देशका ६० फिल्म प्रदर्शन भएको यो महोत्सवसँगै किम्फका अध्यक्ष वसन्त थापाले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न चाहेको संकेत गरेका छन्।
“कता कता मनमा यसले निरन्तरता पाउन सक्दैन कि भन्ने त लागेको छ। छोराछोरी‚ नातिनातिले कसो गर्लान् भन्ने पीर भएजस्तै पीर त छ” उनी संशय र विश्वास एकै पटक व्यक्त गर्छन्, “मलाई लाग्छ, हामीसँग काम गरिरहेका युवा पुस्तामा त्यो क्षमता र उत्साह छ। प्रोत्साहन र साथ दियो भने उनीहरूले गर्न सक्छन्।”
दुई दशकदेखि लगातार फिल्म महोत्सव गर्दै आएका थापा काठमाडौंलाई सांस्कृतिक रूपमा गतिशील सहर बनाउन फिल्म लगायत विभिन्न विधाका महोत्सव आयोजना गर्न सरकारले पहल गर्नुपर्नेमा जोड दिन्छन्। चलचित्र विकास बोर्ड, पर्यटन बोर्ड लगायतका संस्थाहरूबाट पनि हातेमालो हुनुपर्ने उनको अपेक्षा छ। अध्यक्ष थापासँग प्रभाकर गौतमले गरेको संवादः
तपाईं कुनै वेला हिन्दी पत्रिका पहाडको नियमित पाठक हुनुहुन्थ्यो। त्यस बाहेक हिमालको सम्पादक पनि हुनुभयो। पहाड र हिमालसँग सधैं नजिक हुनु संयोग मात्र हो?
संजोग नै भन्नुपर्छ, मेरो रुचि, अध्ययन र मैले गर्ने कामले मलाई हिमाल-पहाडको संस्कृति र जनजीवनसँग जोडिरह्यो। हिमाल र पहाड मेरो अर्धचेतनमा थियो, सायद। तपाईंले हिन्दी पहाडको कुरा गर्नुभयो, म पहिला नेपाली ‘पहाड’को कुरा सुनाउँछु। संखुवासभाको चैनपुरका कवि ज्ञान उदासको सम्पादनमा पहाड नामक पत्रिका नेपालबाट पनि निस्कन्थ्यो। २०२८/०२९ सालतिर मैले पनि जानी नजानी उहाँसँग जोडिएर सम्पादनको काम गरेको थिएँ।
त्यस्तै, भारतको उत्तराखण्ड, नैनीतालबाट शेखर पाठकको सम्पादनमा पहाड नामकै हिन्दी पत्रिका निस्कन्थ्यो। त्यो विचारप्रधान पत्रिका थियो। हिमाली पहाडी क्षेत्रको पर्यावरण, वातावरण, समाज, संस्कृति, जीवनशैली यावत् विषय समेटिएको त्यो गहन पत्रिकाको म नियमित ग्राहक थिएँ। हुलाक मार्फत त्यो मेरो ठेगानामा आइपुग्थ्यो। त्यस बाहेक हिमाल पत्रिका र हिमाल एशोसिएशनसँग पनि म जोडिएँ। मैले जीवन बाँच्ने क्रममा जीविकोपार्जनका लागि सिर्जनात्मक क्षेत्रइतरका धेरै काम गरेँ। प्रारब्धले घुमाउँदै घुमाउँदै मलाई हिमाल-पहाडमै ठोक्कायो।
तपाईं पहाडमै जन्मेको मान्छे। तपाईंलाई बाल्यकालमा पहाडको के के कुराले रोमाञ्चित बनाउँथ्यो?
धनकुटामा जन्मेको म बाल्यकालमै पहाडी सौन्दर्य र जनजीवनप्रति आकर्षित भएँ। बुवाको कामको सिलसिलामा केही समय विराटनगर अनि त्यसपछिको बसाइ धरानमा भयो। धरान बसे पनि धनकुटासँग एकदमै नजिकको सम्बन्ध थियो। दशैं-तिहार बाहेक एक दिने, दुई दिने चाडपर्वमा पनि म धनकुटा नियमित जान्थें। वैशाख पूर्णिमामा हुने गोठपूजा होस् वा माघे संक्रान्ति, म धनकुटा पुगिहाल्थें। धनकुटामा बस्ने बज्यैसँग म आत्मीय रूपमा ज्यादै निकट थिएँ।
धरानमा गर्मीको वेला स्कूलमा लामो छुट्टी हुन्थ्यो। त्यो बिदाको समय पनि धनकुटामै बित्थ्यो। दाउरा काट्न‚ गाईवस्तु चराउन म बाजेसँग जंगल जान्थें। त्यहाँका बोटवृक्ष, फलफूल, उकाली-ओरालीले खुब आकर्षित गर्थ्यो। कलेज जान थालेपछि भने धनकुटासँगको संसर्ग पातलिंदै गयो।
पर्वतसँगको यो बालापन जस्तै फिल्मसँगको बालापन पनि सम्झनुस् न।
ममा सिनेमाप्रति आकर्षण जगाउने काम धरानको परिवेशले गर्यो। जमानामा धरान, इटहरी, विराटनगरतिर टुरिङ टाकिज हुन्थ्यो। खासगरी जाडो याममा पाल टाँगेर ठाउँठाउँमा सिनेमा देखाइन्थ्यो। दर्शक पराल बिछ्याएर भुइँमा बस्थे। विराटनगरको हिमालय टाकिज पनि सानैमा पुगें।
धरानमा हामी बस्ने नजिकको ठाउँलाई अहिले इन्डियन पेन्सन क्याम्प भन्छन्‚ पहिले कोलोनी भन्थे। भीमनगरको ब्यारेज निर्माण गर्ने वेला भारतीय शासकले त्यसमा संलग्न कर्मचारीहरू बस्ने ठाउँ बनाएका थिए। त्यसैलाई मानिसहरू ‘इन्डियन कोलोनी’ भन्थे। गाडी, डोजर र अन्य उपकरणहरूको स्टेसन थियो त्यो। कोलोनीमा उनीहरूले वेलाबखत सिनेमा देखाउँथे। खासगरी विश्वकर्मा पूजा र दुर्गा पूजा जस्ता अवसरहरूमा। त्यहाँ धेरै यन्त्र भएकाले विश्वकर्मा पूजा भव्य रुपमा मनाइन्थ्यो।
घोपामा क्याम्प बन्नुभन्दा पहिले ब्रिटिसको सबै अस्थायी क्याम्प फुस्रेमा थियो। ब्रिटिसले छोडेपछि हाल त्यहाँ नेपाली सैनिक बस्छन्। त्यहाँ तम्बु, पाल टाँगेका अस्थायी टहराहरू बनाइएका हुन्थे। गर्मीका वेला त्यहीं आउटडोर सिनेमा देखाइन्थ्यो। त्यो माहोल खुब रमाइलो हुन्थ्यो। त्यसबेला सिनेमा बुझ्ने क्षमता बनिसकेको थिएन। हरेक पुरुष र महिला पात्र उस्तै लाग्थ्यो। अंग्रेजी भाषा नबुझ्ने म, कथा त कहाँबाट बुझ्नु!
२०३० आसपास धरानमा शिव सिनेमा हल खुल्यो। त्यसको दुई-तीन वर्षपछि गणेश टाकिज खुल्यो। दुइटा हल खुलेपछि धेरै सिनेमा हेर्न पाइने भयो। धरान सानो ठाउँ भएकाले हप्तैपिच्छे जस्तो सिनेमा फेरिन्थे। बरु, हरेक हप्ता सिनेमा हेर्ने पैसा कहाँबाट ल्याउने भन्ने चिन्ता हुन्थ्यो। पर्दाभित्रको सिनेमाले रोमाञ्च त पैदा गर्थ्यो नै, पर्दाबाहिरको प्रचार शैलीले समेत खुब आकर्षित गर्थ्यो। त्यस वेला रसियन जीपको दायाँ-बायाँ फिल्मको पोस्टर टाँसेर माइकिङ गर्ने चलन थियो। आउनुस् आउनुस् शिव सिनेमा वा गणेश टाकिजको रजतपटमा फलानो कलाकारको फिल्म प्रदर्शन भइरहेको छ भन्दै पर्चा पनि फालिन्थ्यो। हामी पर्चा लिन जीपको पछिपछि दौडन्थ्यौं। ती हलमा धेरै सिनेमा हेरियो।
२०२० को दशकमै काठमाडौंबाहिर अंग्रेजी फिल्मसँग तपाईंको सम्बन्ध कसरी गाँसियो?
२०२१ सालमा एसएलसी दिएपछि सिनेमा हेराइको अर्को चरण शुरू भयो। ब्रिटिस क्याम्प घोपामा सरेपछि त्यहाँ उनीहरूले हप्तैपिच्छे सिनेमा देखाउँथे। त्यहींका कर्मचारी र उनीहरूको परिवारका लागि सिनेमा देखाइन्थ्यो। बाहिरका मान्छेलाई सिनेमा हेर्ने अनुमति थिएन। कलेज पढ्दा त्यहाँ बस्ने साथीहरूसँग मेरो चिनजान थियो। कलेज सकिएपछिको समय वा बिदामा नियमित त्यहाँ जान्थें। सिनेमा बेलुका देखाइन्थ्यो तर त्यो दिन म दिउँसै पुग्थें।
त्यसपछिको चार-पाँच सालसम्म कुनै हप्ता नबिराई सिनेमा हेरियो। धरानका हलमा हिन्दी सिनेमा र ब्रिटिस क्याम्पभित्र खास गरी अंग्रेजी भाषाका फिल्म हेरियो। त्यही क्रममा फिल्मका नायक, नायिका, विषयवस्तु र विधागत विविधताबारे बुझ्न थालियो। त्यहाँ वार, डिटेक्टिभ, क्राइम थ्रिलर, फेमेली ड्रामा, काउब्वाय/वेस्ट्रन, कमेडी, हिस्ट्री जस्ता विधाका धेरै फिल्म हेरियो। शुरू शुरूमा अंग्रेजी कम बुझे पनि लवज, कन्टेक्स्ट हेरेर सिनेमा बुझ्न सकिने भइयो।
धरानमै विश्व सिनेमा हेर्न पनि पाएँ। त्यस मानेमा म एकदम भाग्यमानी ठान्छु। अंग्रेजीसँगै हिन्दी सिनेमा पनि हलमा धेरै हेरियो। त्यसवेला हिन्दी फिल्मको भाषा उर्दूमिश्रित हुन्थ्यो। सिनेमा जति धेरै हेरियो, हिन्दी भाषा पनि उति उति बुझ्ने भइयो। सिनेमाको विषयदेखि संगीतसम्मको आकर्षणले मलाई यहाँसम्म ल्याइपुर्यायो।
तपाईंको यही यात्रामा साहित्य कसरी जोडियो?
हाम्रो घरकै छेउमा लक्ष्मी वाचनालय खुलेको थियो जहाँ हिन्दी‚ अंग्रेजी भाषाका भारतीय पत्रपत्रिकाहरु पढ्न पाइथ्यो। धरानमै राणाकालमा खुलेको सार्वजनिक विद्या भवन पुस्तकालय पनि थियो। हाम्रै हाइस्कूल अगाडि ब्रिटिस पुस्तकालय पनि खुल्यो। त्यहाँ बेलायतबाट निस्कने पत्रपत्रिकाहरू पढ्न पाइयो। पत्रिकामा हुने सिनेमा सम्बन्धी सामग्री पनि नछुटाइ पढ्थें। जसरी विदेशी सिनेमा हेरियो, त्यसरी नै धरानमै विदेशी पत्रपत्रिका र पुस्तक पढ्ने अवसर मिल्यो। यसले जानीनजानी किताब, साहित्यप्रति झुकाब बढ्दै गयो।
त्यसवेला धरानको साहित्यिक-सांस्कृतिक माहोल पनि त्यस्तै थियो। नाटक मञ्चन, साहित्यिक गोष्ठी, सांगीतिक कार्यक्रमहरू बराबर भइराख्ने। यस्तै माहोलका कारण मैले साहित्य र सिनेमा लगायत विधामा खुट्टा टेक्न पाएँ। गतिलो फिल्म हेर्दा असल साहित्य पढे जस्तो लाग्थ्यो। राम्रो साहित्य पढ्दा असल फिल्म हेरे जस्तो। असल साहित्यमा थुप्रै राम्रा फिल्म बनेका छन्। मलाई यी विधा कहिल्यै फरक लागेन।
जुन वेला किम्फ शुरू गर्नुभयो, त्यो समयमा यहाँका धेरै दर्शक बलिउड फिल्म हेर्न अभ्यस्त थिए। त्यस्तो माहोलमा वृत्तचित्र महोत्सव आयोजना गर्न डर लागेन?
नेपालमा फिल्म हेर्ने चलन पुरानै हो। तर‚ दर्शक माया-प्रेम, नाचगान र द्वन्द्व भएका बम्बईया फिल्ममा अभ्यस्त थिए। त्यस्ता फिल्ममा बानी परेका दर्शकलाई फरकधारको फिल्म देखाउने काम सजिलो थिएन। अझ, वृत्तचित्र महोत्सवमा दर्शक आउलान् कि नआउलान् भन्ने डर थियो। यस्ता फिल्ममा दर्शकको रुचि जगाउन मेहनत त गर्नुपर्यो। शुरूवाती समयमा ७० प्रतिशत दर्शक विदेशी हुन्थे। तिनमा काठमाडौं बस्ने विदेशी र नेपाल घुम्न आएका विदेशी। बाँकी ३० प्रतिशत नेपाली।
तेस्रो/चौथो संस्करणपछि ठ्याक्कै उल्टो भयो। बिस्तारै नेपाली दर्शकको संख्या बढ्यो र विदेशीहरूको संख्या घट्यो। शुरूमा रुसी सांस्कृतिक केन्द्रमा सानो हलमा दर्शक पनि थोरै हुन्थे। सन् २००० मा किम्फ शुरू गर्दा दुई वर्षमा एक पटक हुने गरी आयोजना गरिन्थ्यो। सन् २००७ मा आएर हरेक वर्ष आयोजना गर्न थाल्यौं। त्यही सालदेखि हामी राष्ट्रिय सभाको ठूलो हलमा आयौं। यो हामीले बडो यत्नसाथ निर्माण गरेका दर्शकहरूको जमात हो। किम्फमा देखाइने फिल्म सिनेमा हलमा हेर्न पाइँदैन। दर्शकहरूले पनि नयाँ स्वाद पाए। अहिलेसम्म आउँदा धेरै दर्शक किम्फ पर्खने भएका छन्।
२२ वर्षअघि पर्वतीय फिल्म विशेष महोत्सव गर्ने प्रेरणा के थियो?
विदेशीलाई नेपालप्रति अभिरुचि जगाउने भनेको हाम्रो पर्वतमाला नै हो। तर‚ हामीमा काठमाडौं वरपरका डाँडा र यहाँबाट देखिने हिमालबारे सामान्य ज्ञान पनि छैन। किम्फ शुरू गर्नुको एउटा मुख्य कारण यही ज्ञान बढाऔं भन्ने हो। नेपालका हिमाललाई पर्यटनमा मात्र खुम्चाएर हेर्न मिल्दैन। यसले नेपालको परिचय र पहिचानलाई बोक्छ। अन्य देशमा नेपालमा जत्तिकै अग्ला हिमाल नहोलान् तर त्यहाँ पनि हिमाल छन्। नेपाल जस्तै विश्वका अरु पनि पर्वतीय समाज छन्।
विदेशका पर्वतीय भेगका जनजीवन बुझ्न र त्यसलाई 'रिलेट' गर्न त्यहाँका फिल्महरूले मद्दत गर्छन्। त्यसैगरी संसारभरका मानिसलाई यहाँको पर्वतीय भेगको जनजीवन बुझाउन फिल्मले सघाउँछ। सामाजिक, सांस्कृतिक सबै पक्ष ओगट्ने खालको महोत्सवको खाँचो र सम्भावना देखेर किम्फ शुरू गरिएको थियो। हरेक वर्ष अन्तर्राष्ट्रिय पर्वत दिवसकै वेला (डिसेम्बर ११) पर्वतीय फिल्म महोत्सव हुन्छ भनेर ब्रान्डिङ पनि गरिरहेका छौं। यस्ता महाेत्सवले पर्यटनको विकास, फिल्म क्षेत्रको ज्ञान र अवसर पनि विस्तार गर्छ। फिल्म 'लिटरेसी' बढाउन पनि योगदान दिन्छ भन्ने सोचेर किम्फ शुरू गरेका थियौं।
किम्फका यी २२ वर्ष विविधतायुक्त छन्। तै पनि महोत्सवको खास 'थिम' केका आधारमा छनोट गरिन्छ?
नामै किम्फ भएकाले शुरूको 'थिम' त 'माउन्टेन' नै थियो। सन् २००७ देखि हरेक महोत्सवमा एउटा 'थिम'लाई प्राथमिकता दिन थाल्यौं। कुनै खास सवाललाई प्राथमिकता दिन मुख्य थिम राख्ने गरेका हौं। जस्तैः यस पटकको थिम ‘सस्टेनेबल समीट’ थियो। तर, सबै फिल्म त्यही थिममा भने थिएनन्। यसअघि पर्यावरण, लैङिकता लगायतका थिम थिए।
देश-विदेशको राजनीतिक-प्राकृतिक प्रकोपले महाेत्सवको थिमदेखि फिल्म निर्माण र चयनसम्मलाई कसरी प्रभाव पार्दो रहेछ?
विषयवस्तु नजानिंदो पाराले समयसँगै परिवर्तन हुने रहेछ। देशको सामाजिक-राजनीतिक परिस्थिति जस्तो छ, फिल्ममेकरको ध्यान स्वतः त्यतै जाने रहेछ। द्वन्द्वकालमा धेरै द्वन्द्व सम्बन्धी फिल्म बने र महोत्सवमा त्यस्तै फिल्म आए। द सारी सोल्जर्स हेर्न दर्शकको ओइरो लागेको थियो। प्रहरीले समेत निगरानी गरेको थियो।
भुइँचालोपछि त्यसका असरबारे फिल्म बने। कोभिड-१९को प्रभावलाई पनि फिल्ममेकरले महत्त्व दिने नै भए। जस्तो समय छ, जस्ता विषयमा फिल्म बनिरहेका छन्, किम्फमा स्वभावैले त्यस्तै विषयमा बढी हुन सक्छन्। अहिले नेपालमा तुलनात्मक रूपमा शान्तिकाल छ। त्यसैले फिल्ममेकरहरूको ध्यान यात्रा विवरण, 'एडभेन्चर' लगायतका विषयमा पनि पर्न थालेको छ। विषयमा पहिलाभन्दा विविधता देखिन थालेको छ। कतिलाई माउन्टेन भन्दा पर्वतारोहण र एडभेन्चर सम्बन्धी फिल्म मात्र देखाइने ठाउँ जस्तो लाग्न सक्छ। विदेशमा माउन्टेन विशेष फिल्म फेस्टिभल छन्। हाम्रो फेस्टिभलमा पनि त्यो महत्त्वपूर्ण हिस्सा हो। तर‚ यहाँ माउन्टेन भने तापनि विविध विषय समेटेका छौं। सामाजिक-सांस्कृतिक पक्ष देखाउनमा केन्द्रित छौं। दायरा फराकिलो बनाउँदै अघि बढिरहेका छौं।
भनिन्छ, फिल्म मान्छेका निजी र सामूहिक जीवनका मुद्दालाई केन्द्रमा ल्याउने प्रभावकारी माध्यम हो। किम्फमा प्रदर्शन हुने फिल्मले नेपाली समाजका सरोकारलाई बहसमा ल्याउन भूमिका खेलेको कुनै उदाहरण दिन सक्नुहुन्छ?
किम्फको १९औं संस्करणको थिम ‘क्लाइमेट कर्मा’ थियो। क्लाइमेट चेन्ज भनौं वा ग्लोबल वार्मिङ पछिल्लो दशककै जल्दोबल्दो विषय हो। यो हिमाल, प्रकृति, पर्यावरण र राजनीतिसम्म जोडिएको स्थानीय र विश्वव्यापी विषय हो। किम्फको पहिलो संस्करणदेखि नै यो विषयमा फिल्म देखाइएका छन्। शब्द फेरियो होल तर त्यसपछिका संस्करणहरूमा पनि यो विषयको विविधता र जटिलतालाई देखाउने फिल्महरू प्रदर्शन भएका छन्। फिल्म प्रदर्शनसँगै किम्फमा भएका छलफलले पनि यस्ता विषयमा बहस गर्न सघाएको छ भन्ने लाग्छ। यसबाहेक भुइँचालोदेखि कोभिडजस्ता समाजमा दीर्घकालीन असर छोड्ने विषयलाई किम्फले प्राथमिकतामा राख्दै आएको छ।
फिल्मको कोणबाट बताउन सकिने उपलब्धि के छ?
किम्फको प्रभाव कस्तो रह्यो भन्दा यहाँ हामीले विश्वका धेरै देशबाट आएकामध्ये राम्रो राम्रो फिल्म देखाउँछौं। धेरैजसो फिल्म आफैं पठाउँछन्, केही राम्रा फिल्म हामी माग्छौं पनि। हाम्रो फिल्म उद्योग सोझै भारतीय फिल्मबाट प्रभावित हो। त्यो धार त यहाँ रहिरहन्छ। तर‚ त्यो धारबाट बाहिर निकाल्न पनि यस्ता महोत्सवको महत्त्व छ। खुसीको कुरा, किम्फका फिल्महरू हेर्न अहिले एउटा जमात जम्मा भएको छ। किम्फमा प्रदर्शन हुने फरकधारका फिल्म हेरेर हाम्रा फिल्ममेकरहरूमा केही नयाँ विचार, नयाँ सोच आउनु र त्यसबाट प्रभावित हुनु स्वाभाविक हो।
हामीकहाँ प्रतिभाको कमी छैन। कमी छ, प्रोत्साहनको। किम्फ र किम्फ जस्तै अन्य फिल्म महाेत्सवले नयाँ र प्रतिभावान फिल्ममेकरलाई 'प्लाटफर्म' दिने हो। किम्फले मञ्च दिएका केही निर्देशक अहिले विदेशमा समेत स्थापित भएका छन्। दीपक रौनियारको पहिलो फिल्म चौकट हामीले नै देखाएको हो। पहिलो पटक किम्फकै मञ्च पाएर विदेशमा समेत पुरस्कार जित्ने थुप्रै फिल्म छन्। सुनकली, जर्नी टु यार्सा, भाग्यले बाँचेकाहरू केही उदाहरण हुन्।
किम्फको प्रभाव नै भन्नुपर्छ, मेरी सहकर्मी रम्यता लिम्बू कति ठाउँमा जुरी भएर गएकी छन्। म पनि एक-दुई ठाउँमा गएँ। मलाई जुरीमा बस्न मन पर्दैन किनकि धेरै फिल्म हेर्नुपर्छ। किम्फ शुरू गर्दा नेपालमा फिल्म लिटरेसी बढाउनमा पनि यसले योगदान गर्छ भन्ने अपेक्षा थियो। किम्फले यतातिर पनि योगदान दिएको छ कि छैन भनेर मैलेभन्दा पनि अरुले मूल्यांकन गर्ने कुरा हो।
किम्फबाहेक तपाईंसँग फिल्म साउथ एशियाको अनुभव पनि छ। यी दुवै महोत्सवको आयोजकका रूपमा तपाईंको अनुभव के छ?
यी दुवै महोत्सवको आयोजक हिमाल एशोसिएशन हो। सन् १९९७ मा फिल्म साउथ एशिया (एफएसए) शुरू भयो। म १९९८ देखि हिमाल एशोसिएशनको कार्यकारी निर्देशक भएँ। एफएसए बिजोडी र किम्फ जोडी वर्षमा आयोजना हुन्थ्यो। हो, मसँग दुवै फेस्टिभलको व्यवस्थापकीय काम गरेको अनुभव छ।
एफएसए क्षेत्रीय भौगोलिक सीमांकन तोकिएको वृत्तचित्र मात्र देखाइने फेस्टिभल हो। यहाँ अलि बौद्धिक, पत्रकार, लेखक तथा बुद्धिजीवीको जमातमा छलफल हुने फिल्मले स्थान पाउँछन्। दक्षिण एशियाका खास विषय र मुद्दामा बनेका फिल्महरू देखाइने यहाँ यसै भेगमा चर्चित फिल्ममेकरले स्थान पाउँछन्। भारत र पाकिस्तानमा प्रदर्शन गर्न नपाइएका फिल्मसमेत यहाँ प्रदर्शन हुने गरेका छन्।
किम्फमा पनि बाहुल्य वृत्तचित्रकै छ। तर‚ यहाँ फिक्सन फिल्म पनि देखाइन्छ। एनिमेसन र एक्सपेरिमेन्टल सर्ट्सहरूले पनि यसमा ठाउँ पाउँछन्। यस हिसाबले किम्फ अलि विविधतायुक्त छ। आम मान्छे रुचिकर पनि होस् भनेर पर्वतीय फिल्म २५-३० प्रतिशत र बाँकी अन्य विषयका फिल्म समेट्छौं। यो ग्लोबल र मास बेस्ड फिल्म फेस्टिभल हो।
क्लास र मासको कुरा गर्नुभयो। के यस्ता फेस्टिभलले यहाँ मासलाई तान्न सकेको छ र?
हाम्रो उद्देश्य सकेसम्म धेरैभन्दा धेरै दर्शकसम्म पुग्ने हो। हामीले घुम्ती किम्फ आयोजना गरेर विभिन्न गाउँ-नगरमा फिल्म प्रदर्शन गर्नुको कारण पनि यही हो। काठमाडौंका दर्शकमा मात्र सीमित नभएर बाहिरका दर्शकसम्म पुग्ने प्रयास पनि गरेका थियौं। हामीले घुम्ती किम्फमा नेपाली समाजका लागि उपयुक्त देखिने फिल्महरू छानेर गाउँगाउँ र नगरहरूमा देखाउँथ्यौं। हाम्रो लक्षित समूह युवा हुन्।
किम्फको विशेषता भनेको प्रदर्शन स्थल पनि हो। हामी रुसी सांस्कृतिक केन्द्रबाट राष्ट्रिय सभागृह आउनुको अर्थ पनि दर्शकको पहुँचसँग जोडिएको छ। सभागृह काठमाडौंको मुटुमा छ। यहाँ बाटो हिँड्ने मानिस पनि के भइरहेको रहेछ भनेर आउन सक्छन्। अझै प्रचार गरेर जान सक्ने ठाउँ छ।
अन्तर्राष्ट्रिय स्तरको फिल्म महोत्सव आयोजना गर्न सबैभन्दा ठूलो चुनौती के रहेछ?
सबैभन्दा ठूलो चुनौती त पैसा नै हो। किम्फ शुरू गर्ने वेला यहाँसम्म आइपुगिएला भन्ने सोचिएको थिएन। आज पनि हामीसँग लामो रोडम्याप छैन। पहिलो पटक महोत्सव गर्दा कहाँबाट पैसा जुटाउने भन्ने चिन्ता थियो। त्यो चिन्ता आज पनि उस्तै छ। पटके काम जस्तै एक पटक महोत्सव गर्यो अनि खुशी हुँदै सन्तोषको लामो श्वास लियो। त्यसपछि फेरि अर्को संस्करण कसरी गर्ने भनेर चिन्ता गर्यो।
लुडोमा साँप-सिढी खेल हुन्छ। त्यसमा तलबाट भर्याङ चढ्दै अघि बढेको खेलाडीलाई सर्पले खायो भने फेरि तल शून्यमा पुग्छ। हामी पनि कुनै जोगाड गरेर एक पटकको फेस्टिभल आयोजना गरेपछि फेरि शून्यमा पुग्छौं। अरु देशमा नेपाली फिल्म छानियो भने उनीहरूले टिकट पठाउँछन्, मान्छे जम्मा गर्छन् र एउटा माहोल बन्छ। यहाँ त फिल्ममेकर र जुरीमा बस्न आएका विदेशी अतिथि पनि आफ्नै पैसा तिरेर आइरहेका छन्। एकाधलाई थोरै सहयोग गरे पनि हामीले पूरै टिकट खर्च दिएका छैनौं। हामीले जम्मा पाँच रातको होटल र खानपिनको व्यवस्थापन गर्ने हो। उनीहरु किन आफ्नै खर्चमा आउँछन् भन्दा नेपाल, हिमालय पर्वतको मायाले। अहिले पनि हिमालय पर्वतले नेपालको चिनारी बोकिरहेको छ।
उमेर दुई दशक पार गरेको फेस्टिभलले पनि किन आर्थिक आधार बनाउन सकेन?
लामै समय भए पनि हामीले फेस्टिभल गर्न एकै ठाउँबाट ठूलो स्रोत अहिलेसम्म प्राप्त गर्न सकेका छैनौं। तपाईंले किम्फ पोष्टर र प्रचार सामग्रीहरूमा धेरै संघ-संस्थाको नाम देख्नुहुन्छ। ती लोगो संकेत चिह्न मात्र हुन्। देउसी खेले जस्तै एउटाबाट अलिकति, अर्कोबाट अलिकति पैसा पाएका छौं। तर हामीसँग ढुक्कले फेस्टिभल आयोजना गर्न सक्ने बजेट दिने सहयोगी छैनन्। जे जति जुट्छ, त्यो पनि अन्तिम समयमा जुट्ने हो।
यस्ता महोत्सवलाई ढाडस दिने, सहयोग र साथ दिने जिम्मा कसको हो? तपाईं किम्फकै प्रतिनिधित्व गरेर विदेशका फेस्टिभलहरूमा पनि सहभागी हुनुभएको छ। विदेशमा यस्ता महोत्सव कसरी हुन्छन्?
पछिल्लो १४ वर्षमा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध पनि बिस्तार भयो। माउन्टेन फिल्म फेस्टिभलहरूको पनि एउटा अन्तर्राष्ट्रिय संस्था छ, एलायन्स फर माउन्टेन फिल्म्स्। यसको केन्द्रीय कार्यालय वा सचिवालय भन्नुस् इटालीको टुरिन भन्ने ठाउँमा छ। २००८ देखि किम्फ त्यसको सदस्य छ। यो सम्पर्कबाट मेरो सहकर्मी रम्यता लिम्बू र मैले विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा सहभागी हुने मौका पायौं। त्यहाँ सुविधासम्पन्न र सिर्जनात्मक फेस्टिभल देख्दा नेपालमा पनि ए यस्तै फेस्टिभल गर्न सकिने रहेछ भन्ने लाग्छ। त्यहाँको सिकाइ यहाँ लागू गरौं भनेर सोच्दा मुख्य अड्चन भनेकै आर्थिक पक्ष भइदिन्छ।
हामीसँग गतिलो आयस्रोत हुँदो हो, फिल्म प्रदर्शनसँगै धेरै सहायक गतिविधि गर्न सकिन्थ्यो। छलफल, गोष्ठी, कार्यशाला, तालिम प्रशिक्षण, योसँगै बुनिएका कुरा हुन्। क्यानाडामा माउन्टेन फिल्म एन्ड बूक फेस्टिभल भनेर आयोजना हुन्छ। प्रतिस्पर्धामा किताब पुरस्कृत हुन्छ। पर्वतारोहण सम्बन्धी उपकरणको प्रदर्शनदेखि अनेक सहायक गतिविधि गर्न सकिन्छ।
विदेशतिर क्लाइम्बिङ, एड्भेन्चर जस्ता विषयमा ठूलो रुचि छ। हरेक देशमा अल्पाइन क्लब वा माउन्टेनियरिङ एशोसिएशनहरू छन्। विभिन्न संस्था र तिनका शाखा छन्। ती क्लब र एशोसिएशनहरूले फेस्टिभललाई मद्दत गर्छन्। धेरै देशमा आआफ्नो क्षेत्रमा काम गर्नेलाई सहयोग गर्न च्यारिटी बनेका छन्। तर‚ डोरबहादुर विष्टले आफ्नो किताबमा लेखेजस्तै परोपकार हाम्रो संस्कार नै होइन।
उनीहरूले कर्पोरेट समुदायबाट पनि स्पोन्सरशिप पाउँछन्। आफ्नो आयको निश्चित प्रतिशत सामाजिक प्रयोजनका लागि खर्च गर्ने भनेर कर्पोरेट सोसल रेस्पोन्सिबिलिटीका नाममा पैसा उठ्छ। हामीकहाँ कर्पोरेट कर्पोरेट धेरै भनिन्छ, तर यहाँ कुरा ठूलो गर्ने, थैली नखोल्ने कर्पोरेट छन्। हाम्रा तथाकथित ठूला कर्पोरेटहरूले राम्रो काममा खर्च गरेको देख्नुभएको छ? उनीहरूले कागजमा मात्र खर्च गरेको देखाइरहेका छन्। तर‚ त्यो पैसा कहाँ गइरहेको छ? सामाजिक प्रयोजनका लागि खर्च गरिएको भए समाजमा त्यसको सकारात्मक प्रभाव देखिनुपर्ने हो। त्यो रकम अर्बौंमा निस्कन्छ। त्यस्तो जागरुकता, इमानदारी, पारदर्शिता यहाँ छैन। त्यस्तो पैसा यस्तो सिर्जनात्मक काममा आउनुपर्यो। राज्यका निकायहरूले पनि यस्ता फेस्टिभललाई संघीय, प्रादेशिक तथा स्थानीय स्तरमा सहयोग गर्छन्।
निजी क्षेत्रले थैली खोल्दैन भन्नुभयो, राज्यले थैली खोल्छ वा खोले पनि कसका लागि खोल्छ?
मैले यस पटकको किम्फको उद्घाटन मन्तव्यमा काठमाडौंलाई सांस्कृतिक रूपमा गतिशील सहर बनाउन फिल्म लगायत विभिन्न विधाका महोत्सव आयोजना गर्न राज्यले पहल गर्नुपर्ने भनेर बोलें। हाम्रो कार्यक्रममा काठमाडौं महानगरका मेयर बालेन साह अनुपस्थित भए पनि उहाँलाई सम्बोधन समेत गरेर यसो भनेको थिएँ। त्यो सम्बोधनको अर्थ के हो भने हाम्रो कामलाई राज्यले गम्भीर रूपमा लिएकै छैन।
यहीअगाडि पर्यटन बोर्ड छ। के किम्फबाट पर्यटन प्रवर्द्धन भएको छैन? कस्ता कस्ता इभेन्टलाई सहयोग गर्दा राज्य र समाजलाई सहयोग पुग्छ भनेर उहाँहरूले सोच्नुपर्ने हो। पर्यटन बोर्डले हामीलाई कति दिएको होला भन्दिम् म? (हातमा दुई औंलाले जिरोको संकेत गर्दै।)
किम्फमा चलचित्र विकास बोर्डका अध्यक्ष आएर भाषण गर्नुपर्ने हो। तर‚ उहाँलाई मतलबै छैन। चलचित्र विकास बोर्डले एउटा गतिलो फिल्म फेस्टिभल आयोजना गरेको सुन्नुभएको छ? उनीहरूले पनि हामीलाई अलिकति पैसा दिएका छन्, तर नामका लागि मात्र। पर्वत, पर्यटन र सिनेमासँग सम्बन्धितहरूले पैसा दिन सक्छन् नि। नेपालमा पर्वतारोहण संघ भन्ने छ जो सरकारले दिएको पर्वत टोलीहरूको आरोहण शुल्क उठाएर बसेको संस्था‚ त्यसले पैसा दिन सक्थ्यो नि। मन खुला गर्ने हो भने दुई चार करोड त्यसै आउँछ क्या!
आर्थिक स्रोतको संकटको धेरै कुरा भयो, किम्फलाई निरन्तरता दिन मानवीय स्रोतको संकट पनि छ?
यहाँसम्म किम्फलाई स्वयंसेवाको स्पिरिटले तानेको हो। यही काममा रहर र रुचि भएकाहरूले थोरै पैसामा काम गरिरहेका छन्। रम्यता वा मैले अरु काम गरेर जीवन धानिरहेका छौं। यस्ता फेस्टिभल आयोजना गर्न पैसा मात्र भएर पुग्दैन‚ प्रतिबद्ध टिम र नेतृत्व क्षमता पनि चाहिन्छ। खर्च पनि कहाँ कसरी गर्ने भन्ने योजना र सुझबुझ चाहिन्छ। पैसा भयो रे‚ तर ढंग भएन भने पनि काम छैन। रहर गरेर मात्र पनि हुँदैन।
अहिलेसम्म आइपुग्दा किम्फको सिकाइलाई कसरी स्मरण गर्नुहुन्छ?
समग्रमा किम्फ सिकाइ, विचार, सपनाहरूको आदान प्रदान थलो हो। हातेमालो गर्ने अवसर हो। किम्फमा जोडिएकैले अन्तर्राष्ट्रिय सम्बन्ध कायम भयो। विभिन्न फेस्टिभलमा सहभागी हुने मौका पाइयो। यो खासमा सिकाइको प्रक्रिया नै हो। तर‚ एकदमै दबाबमा काम गर्नुपर्यो। सधैं चुनौतीपूर्ण, सधैं संशयपूर्ण। सबैकुरा अनिश्चित, ढुक्क हुन पाइएन। यसै पटकको कुरा गरौं। सभागृहको हलमा फिल्म देखाउन नपाउने भनियो। किन भन्दा चुनावको मतपत्र गन्ने ठाउँ भएकाले।
कतिलाई लाग्ला फेस्टिभल आयोजना गर्न एक महिना त लाग्ला। तर‚ हामीले धेरै राउन्डको तयारी गर्नुपर्छ। दर्शकका लागि त किम्फ सकियो तर हाम्रो लागि सकिएको छैन। दाताहरुलाई प्रतिवेदन बुझाउने कामसक्दा फेब्रुअरी छुन्छ। त्यसपछि अर्को किम्फका लागि फिल्म माग्ने, त्यसको छनोट गर्ने लगायतको काममा जुट्नुपर्छ। सबैभन्दा ठूलो काम त पैसा खोज्ने भइहाल्यो। माथि नै भनें यो काम अन्तिम समयसम्म चल्छ।
मेरो कपाल फुल्नुमा यो फिल्म फेस्टिभलको ठूलो हात छ। दशैं होस् तिहार जे गर्दा पनि किम्फ आउँदैछ भन्ने चिन्ता हुन्छ। त्यही चिन्ताले सारा कुरा प्रभावित भइरहेको हुन्छ। यस्ता दुःख भए पनि कुनै दुखेसो छैन मलाई। लामो समय काम गरें, धेरै कुरा सिकें। कार्यकारी भूमिकाबाट अब विश्राम लिन चाहन्छु। अरुले यसलाई अगाडि बढाऊन् भन्ने चाहन्छु। यो निजी उद्यम होइन, व्यापारिक उद्यम होइन।
चाहेको जस्तो अवस्था छैन। कता कता मनमा यसले निरन्तरता पाउन सक्दैन कि भन्ने त लागेको छ। छोराछोरी‚ नातिनातिले कसो गर्लान् भन्ने पीर भएजस्तै पीर त छ। मलाई लाग्छ, हामीसँग काम गरिरहेका युवा पुस्तामा त्यो क्षमता र उत्साह छ। प्रोत्साहन र साथ दियो भने उनीहरूले गर्न सक्छन्।
फिल्मसँग यति नजिक भएको मान्छेलाई फिल्म बनाउने वा खेल्ने रहर किन लागेन होला?
सिनेमा वा सिर्जनात्मक कामलाई म गम्भीरतापूर्वक लिन्छु। क्यामेरा बोक्दैमा फिल्ममेकर वा ल्यापटप बोक्दैमा लेखक बनिन्न। फिल्म टिमवर्क हो। त्योभन्दा एउटा कुनामा बसेर लेख्ने काम मेरा लागि सजिलो छ। फिल्ममा धेरै विधा र धेरै पक्षको संयोजन हुन्छ। एउटा पक्ष मात्र राम्रो भएर हुँदैन। यो कामको गम्भीरता देखेरै यता लागिनँ।
ऐना हेर्दै हिरो बन्न पाए हुन्थ्यो भन्ने रहर धेरैमा हुन्छ। मभित्र पनि त्यस्तो इच्छा थियो भने त्यसको तुष्टि केसाङ छेतेनको अ कास्ट अवे म्यानबाट पूरा भयो। नाम डोरबहादुरको विष्टको, तर अनुहार मेरो छ।