११ सय वर्ष पुरानाे पुस्तक रहेकाे पुस्तकालय अस्थायी टहरामा
एघार सय वर्ष पुरानो संस्कृति शब्दकोष सहित २८ हजार पुस्तक र हजारौं दस्तावेज संकलित केशर पुस्तकालय सरकारको प्राथमिकतामा पर्न सकेको छैन।
सरकारी सम्पत्तिको संरक्षणमा कुन हदसम्म लापर्बाही हुन्छ भन्ने ताजा उदाहरण हो, केशरमहल प्राङ्गणमा छरपस्ट कागजात। हुन त यी कागजात तथा दस्तावेज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका हुन्, तर केशर पुस्तकालय पनि यस्ता गतिविधिबाट दोषमुक्त छैन।
२०७२ सालमा गएको भूकम्पले काठमाडौंको लाजिम्पाटस्थित केशरमहल क्षतिग्रस्त बन्यो। महलभित्र रहेका शिक्षा मन्त्रालय तथा सरकारी कार्यालय अन्यत्र सारिए। केशर पुस्तकालय भने त्यहीँ अस्थायी टहरा बनाएर राखियो।
पुस्तकालयमा २८ हजार पुस्तक छन्। हस्तलिखित ग्रन्थ, ताडपत्रमा लेखिएका तान्त्रिक, बौद्ध, हिन्दूधर्मसँग सम्बन्धित पाण्डुलिपि तथा पुराना पत्र ‘केशर कलेक्सन’ अन्तर्गत राखिएका छन्। त्यस्तै, अन्तर्राष्ट्रिय जर्नल, रिपोर्ट, पत्रपत्रिका पनि संकलन गरिएका छन्। यी सबै गरेर ६० हजार सामग्री रहेको पुस्तकालयले जनाएको छ।
केशर कलेक्सनमा रहेका सबै किताब केशर शम्शेरको मृत्युपछि उनका परिवारले २०२५ भदौ २७ मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। अहिले यी सबै पुस्तक अस्थायी टहरामा राखिएका छन्।
भूकम्पमा केशर कलेक्सनकै एकतिहाई किताब क्षति भएको पुस्तकालयका पूर्व कर्मचारी बताउँछन्। कति पुराना सामग्री क्षति भए, अहिले भएका पनि कस्तो अवस्थामा छन्? यसबारे पुस्तकालयले कुनै जानकारी सार्वजनिक गरेको छैन।
केशर कलेक्सनमा राखिएका दस्तावेज, पत्र सयौं वर्ष पूराना हुन्। यी सामग्री कति महत्वपूर्ण छन् भने फ्रान्सबाट प्राध्यापक सिल्विं लेविले १२० वर्षअघि पठाएको पत्रले पनि झल्काउँछ। १९५९ असोज २५ गते फ्रान्सको कलेज द फ्रान्सेमा संस्कृतका प्राध्यापक लेविले चन्द्रशम्शेर राणालाई पठाएको संशोधन-मण्डलले प्रकाशन गर्ने त्रैमासिक पत्रिका ‘पूर्णिमा’मा छापिएको थियो। यो पत्रलाई पुराविद् महेशराज पन्तले नेपाली भाषामा अनुवाद गरेका थिए।
त्यसबारे पुराविद् पन्त भन्छन्, “सिल्विं लेविले फ्याक्सबाट पठाएको पत्र मैले प्राध्यापक मुकुन्द अर्यालबाट प्राप्त गरेको हुँ। उहाँले केशर पुस्तकालय जाँदा कयौं पुराना हस्तलिखित चिठीहरू फालिएको पाउनुभएको रहेछ। त्यसको एक प्रति नक्कल कपी मलाई प्रकाशन गर्न दिनुभएको थियो।”
त्यो पत्रमा लेविले केशर पुस्तकालयमा रहेका तन्त्राख्यानकथा, नीत्युपदेशश्लोक संग्रहको उतार पठाइदिएकोमा चन्द्रशम्शेरलाई धन्यवाद दिएका थिए। उनले केशर पुस्तकालयमा आउँदा अश्वघोष बोधिसत्व, बृहत्जातकमाला, नागार्जुनकृत धर्मशास्त्र र तालपत्रका ग्रन्थमध्ये शकुन्दल देवपुत्र, महासंवर्तनकथा, बुद्धचरितकाव्य, षट्चक्र पिङ्गलामततन्त्रको सूची उपलब्ध गराईदिन आग्रह गरेका थिए।
यस्तै, पुराना दस्तावेज केशर पुस्तकालयमा सुरक्षित नराखिएको पाइएको थियो। पुराविद् पन्त भन्छन्, “यस्ता कयौं पत्रहरू केशर पुस्तकालयमा फालिएका रहेछन्। इतिहासका कुरा भएकाले प्राध्यापक मुकुन्द अर्यालले टिपेर ल्याउनु भएको रहेछ।”
पुस्तकालयका कर्मचारीको लापर्बाहीले पुराना महत्वपूर्ण सामग्री हराएको पन्तको गुनासो छ। अहिले केशर महल पुनःनिर्माणका क्रममा पुस्तक लगायतका सामग्री असुरक्षित बनेका छन्। पुराविद् पन्त भन्छन्, “पुस्तकालयका कर्मचारीको लापर्बाहीका कारण कति महत्त्वपूर्ण ऐतिहासिक पत्र तथा दस्तावेज हराएका छन्। यसको कुनै व्यवस्थित सूची पनि राखिएका छैन।”
भूकम्पपछि लथालिङ्ग पुस्तकालय
२०७२ सालको भूकम्पले केशरमहलमा क्षति पुग्यो। पुनःनिर्माणमा लामो समय वेवास्ता गरियो। अहिले भने पुरानै शैलीमा ‘रेट्रोफिटिङ’ गरिँदै छ।
यससँगै पुस्तकालयमा पनि क्षति पुग्यो। दराजहरू ढलेपछि किताब पनि छरपस्ट भए। पुस्तकालयका कर्मचारीले ती किताबलाई अस्थायी टहरामा राखेका छन्। तर, पुनःनिर्माणको काम चलिरहेकाले अस्थायी टहरा पनि भत्काउने र बनाउने प्रक्रिया चलिरहँदा किताब पनि यताउता सार्नु परिरहेको कर्मचारी बताउँछन्।
हालै मात्र केशर महलको अगाडि बनाइएको टहरा भत्काइएको छ। त्यहाँ बगैंचा निर्माण गर्न फेरि पुस्तक अन्यत्र सारिएको पुस्तकालय सहायक गंगा खड्काले बताइन्। “अहिले किताबलाई बारोमा राखेर अर्को टहराको पछाडि राखेका छौं,” खड्का भन्छिन्।
अहिले पुस्तक र कर्मचारी काम गर्ने ठाउँ एउटै टहरा छ। पाठकले पुस्तक पढ्ने शान्त वातावरण पनि हुँदैन। यससँगै तत्काल धेरै पुराना पत्रपत्रिका पनि पढ्न नपाइने भएको छ। “केशर कलेक्सन भएको टहरा भत्काइसकेको छ। यी किताब झनै महत्त्वपूर्ण भएकाले हामीले पत्रपत्रिकाहरुलाई अन्यत्र सारेर किताब राख्ने व्यवस्था गरेका छौं,” पुस्तकालय प्रमुख सुरेशकुमार यादव भन्छन्, “अब दश वर्षभन्दा अघिका पत्रपत्रिका तत्काल पाठकलाई उपलब्ध गराउन नसक्ने भएका छौं।”
केही समयअघि मात्रै कार्यालय प्रमुख भएर आएको बताउँदै यादव सक्दो प्रयास भइरहेको सुनाउँछन्। हातले लेखेका पुराना दस्तावेज तथा ग्रन्थको संरक्षण गर्न तीन वर्षदेखि ‘डिजिटाइजेशन’ भइरहेको छ। “पाठक तथा आगन्तुकलाई मूल किताब दिन सक्दैनौं,” यादव भन्छन्, “डिजिटल कपी बनाउँदा सहजै पुराना किताब पाउन सक्ने भएकाले डिजिटाइजेशनको काम थालिएको हो।”
अहिलेसम्म एक हजार पाँच सय किताब डिजिटलमा रुपान्तरण गरिएको छ। यो वर्ष थप पाँच सय किताबको काम हुने यादवले बताए। “बजेट अभावका कारण धेरै किताब डिजिटल रुपमा राख्न सकिएको छैन,” उनले भने। सरकारले डिजिटाइजेशनका लागि वर्षमा आठ लाख रुपैयाँ मात्रै दिने गरेको छ।
नेहरू पुगेको पुस्तकालय
प्रधानमन्त्री चन्द्रशम्शेर राणा बेलायत भ्रमणमा जाँदा केशरशम्शेर पनि सँगै गएका थिए। १९६२ वैशाख २० देखि साउन ७ गतेसम्मको बेलायत बसाईमा केशरशम्शेर त्यहाँका पुस्तकालय तथा संग्रहालय देखेर निकै प्रभावित भए। त्यसपछि उनी मौलिक तथा पुराना पुस्तकको संग्रह गर्न थाले र केशर पुस्तकालय जन्मियो।
त्यो नितान्त निजी प्रयोगका लागि बनाइएको पुस्तकालय थियो। केशरशम्शेर जीवित रहँदासम्म प्रख्यात नेपाली तथा विदेशी विद्वानलाई मात्र पुस्तकालय प्रवेश गर्न दिइन्थ्यो। नेपाल भ्रमणका क्रममा भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरु पनि पुस्तकालय पुगेका थिए। त्यस्तै, प्राच्यविद् तथा प्राध्यापक पर्सेवल लन्डन र सिल्विं लेविहरूलाई पुस्तकालयमा भ्रमण गर्न अनुमति दिइन्थ्यो। यो पुस्तकालय मात्र नभई संग्रहालयका रुपमा पनि चिनिन्थ्यो।
त्यतिवेलै संकलन गरिएको ऐतिहासिक दस्तावेज पुस्तकालयमा छन्। यहाँ ११ सय वर्ष पुरानो हातले ताडपत्रमा लेखिएका ग्रन्थ छन्। यसमध्ये वि.स. ११३४ मा लेखिएको ‘सुश्रुसमिता’ आर्युवेदिक औषधिसँग सम्बन्धित पाण्डुलिपिलाई संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को ‘मेमोरी अफ द वल्र्ड’मा दर्ता भएको छ।
केशर पुस्तकालय आफैमा आकर्षक संग्रहालय पनि हो। जहाँ राणाहरूले शिकार गरेर ल्याएका बाघ तथा मृगका टाउको, छाला राखिएका छन्। त्योसँगै महलभित्र पुराना ग्रन्थ, रोयल पेन्टिङ, संसारभरिका प्रख्यात व्यक्तिका जीवनी, संसारका पूराना नक्सा राखिएका छन्।
यी सबै सामग्री उचित तरिकाले सुरक्षित राखिएको छैन। पुराविद् पन्तका अनुसार केशर कलेक्सन अन्तर्गत अझै पनि कयौं पुराना पुस्तकलाई राम्ररी ‘क्याटालग’ गरिएको छैन। हातले लेखेका ४७ वटा पुस्तक हराएको जानकारीमा आएको पन्त बताउँछन्। “पहिले केशरशम्शेर हुँदा नै एक जना व्यक्तिले पुस्तकलाई व्यवस्थित गरेर राखेका थिए। एकसरो ‘क्याटालग’ बनाएर छाडेका थिए,” पन्त भन्छन्, “अहिले पनि राम्ररी ‘क्याटालग’ बनाइएको छैन। झन् भूकम्पपछि के होला पुस्तकहरूको हालत!”
सन् १९७६ मा पन्तले नेपाल-जर्मन हस्तलिखित ग्रन्थ संरक्षण परियोजनामा काम गरेका थिए। “मेरो काम केशर पुस्तकालयमा रहेका हातले लेखेका किताबको ‘क्याटालग’ बनाउने थियो,” त्यतिवेलाको स्मरण गर्दै पन्त भन्छन्, “धेरै जसो ताडको पत्रमा लेखिएका अनमोल किताब थिए, जुन सात-आठ सय वर्ष पुरानो थिए।”
त्यहि क्रममा उनले ११ सय वर्षअघि रचना गरिएको संस्कृत शब्दकोष फेला पारे। पन्तले मूल किताब फेला पार्नुअघि धेरै व्यक्तिले त्यो किताबबारे ‘कोट’ गरिसकेका थिए। तर, कसैले पनि मूल किताब हेरेर लेखेका थिएनन् भने त्यो शब्दकोष कहाँ छ भन्ने पनि थाहा पाएका थिएनन्। “भारतमा पनि नभएको त्यो मूल किताब मैले केशर पुस्तकालयमा पाएँ। त्यो किताब अध्ययन गरेर त्यहीँ किताबमा पीएचडी नै गरेको हुँ,” पुराविद् पन्त भन्छन्।