संस्कृतको महत्ता बुझाउने ‘संस्कृत-सुभाषितमाला’ सार्वजनिक
विद्यार्थीलाई संस्कृतको आधारभूत ज्ञान प्रदान गर्न विभिन्न स्तोत्र र पाठमा भएका छानिएका श्लोकहरू सङ्कलित ‘संस्कृत–सुभाषितमाला’ प्रकाशित भएको छ।
संस्कृत भाषाका माध्यमबाट पूर्वीय दर्शन, संस्कार, संस्कृति र सभ्यतालाई बालबालिकाको सिकाइसँग जोड्ने उद्देश्यले पुस्तक तयार पारिएको प्रकाशक अक्षरा स्कूलकी प्राचार्य अञ्जु भट्टराईले बताइन्। पुस्तकले अभिभावक तथा आजको पुस्ताका हरेक विद्यार्थीलाई पूर्वीय दर्शनप्रति रुचि जगाउने उनको भनाइ छ।
लेखक योगराज सापकोटाले संस्कृत भाषाको अध्ययन गरी यस वाङ्मयमा रहेको ज्ञानराशिबाट विश्वका सबै मानिसले लाभ उठाउन सकून् भन्ने सानो प्रयासले पुस्तकाकार रूप लिएको बताए। संस्कृत भाषाको आधारभूत ज्ञान र संस्कृत वाङ्मयका सार कुरा आजका सन्ततिलाई हस्तान्तरण गर्ने प्रयास यो पुस्तक मार्फत भएको सापकोटाको भनाइ छ।
पुस्तकको समीक्षकीय टिप्पणी गर्दै वाल्मीकि विद्यापीठका प्राचार्य प्राध्यापक भागवत ढकालले पूर्वीय दर्शनका विभिन्न उक्तिहरूको सङ्कलन सबैलाई उपयोगी हुने बताएका छन्।