स्थानीय सरकारलाई सचेत गराउन ‘रंगपालिका’को प्रदर्शनी
स्थानीय सरकारले गर्नुपर्ने कार्य तथा भए गरेका विकृति विसंगतिमा केन्द्रित रहेर तयार पारिएका कार्टुन तथा चित्रको प्रदर्शनी गरिएको छ।
गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो महाधिवेशनको अवसर पारेर काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा ‘रंगपालिका’ शीर्षकमा प्रदर्शनी गरिएको छ। प्रदर्शनीको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन्।
प्रदर्शनीमा दुई दर्जन कार्टुनिस्टले बनाएका ५० कलाकृति राखिएको छ। कार्टुनिस्ट क्लब अफ नेपालको सहकार्यमा महासंघले प्रदर्शनी आयोजना गरेको हो। प्रदर्शनीमा गाउँपालिकाले गर्नुपर्ने कार्ययोजना, विकास निर्माणसँगै त्यहाँ रहेका विकृति विसंगतिलाई चित्रण गरिएका चित्र तथा कार्टुन राखिएको छ।
गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले कार्टुन सन्देशसहितको स्पष्ट ऐना भएको र जहाँ आफैंलाई हेरेर व्यक्ति वा संस्थाले आफूलाई सच्याउन सक्ने बताए। “देशभरका ४६० गाउँपालिकाले गरेका राम्रा काम वा सुधार्नुपर्ने पक्ष मानव जीवनका विविध रंग जस्तै हुन्। त्यसैले त कार्टुन तथा चित्र प्रदर्शनीलाई रङ्गपालिकाको नाम दिइएको हो,” श्रेष्ठले भने।
कार्टुनिस्ट क्लबका अध्यक्ष वासु क्षितिजले कला दृश्यभाषाको सशक्त माध्यम भएकाले सबै आमजनले सहज ढंगले बुझ्न कार्टुन कला प्रभावकारी हुने बताए। “प्रदर्शनीमा राखिएका कलामा स्थानीय सरकारको कार्यक्षेत्रलाई समेटिएको छ। स्थानीय सरकारले कला, संस्कृति, भाषा, लोकजीवन, प्राकृतिक स्रोत, आर्थिक, सामाजिक, पूर्वाधार, वन, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा काम गर्ने अधिकार राख्छ। यिनै सेरोफेरोमा रहेर कलाकारले कार्टुन तथा चित्र बनाएका छन्,” क्षितिजले भने।