समावेशी समूहबमोजिम समानुपातिक सांसदको नाम सच्याउन पत्राचार
निर्वाचन आयोगले समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूलाई बन्दसूचीमा रहेका उम्मेदवारबाट सिफारिश भएका सांसदहरूको नामावली सच्याउन पत्राचार गरेको छ।
आयोगले दलहरूलाई समावेशी समूहबमोजिम सच्याएर पठाउन दुई दिनको समयसहित आइतबार पत्राचार गरेको हो। दलहरूले यही मंसीर २६ गते सोमबार साँझ ४ बजेसम्म सच्याइएको सूची बुझाउनुर्नेछ।
प्रतिनिधि सभातर्फको नाम सिफारिश गर्न मंसीर २४ गते अपराह्न ४ बजेसम्म समय दिएको थियो। त्यसअनुसार, दलहरूले नामावली सिफारिश गरेका थिए।
आयोगमा पेश भएको नामावलीमध्ये कतिपय दलले समावेशी समूहबाट उपयुक्त प्रतिनिधित्व नगराएको, कतिपय दलले प्राप्त स्थानभन्दा बढी स्थानमा सिफारिश गरेको पाइएको छ।
नामावली सच्चिएर प्रतिनिधित्व भई आएपछि आयोगले निर्वाचित भएको घोषणा गर्ने समानुपातिक प्रणाली तर्फका प्रवक्ता गुरूप्रसाद वाग्लेले जानकारी दिए।
मंसीर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ मतगणना सकिएपछि आयोगले यही मंसीर २२ गते ‘थ्रेसहोल्ड’ कटाउने दलहरूलाई बन्दसूचीमा समावेश समावेशी समूह मिलाएर नाम पठाउन पत्राचार गरेको थियो।