ग्लोबल आईएमई ब्यांकको साधारण सभाद्वारा मर्जरका लागि अन्तिम स्वीकृति प्रदान
ग्लोबल आइएमई ब्यांकको साधारणसभाले मर्जर प्रस्ताव अनुमोदन गरेको छ। ब्यांकको १६औं वार्षिक साधारणसभाले ग्लोबल आइएमई र ब्यांक अफ काठमान्डुबीच मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो।
साधारणसभाले ग्लोबल आइएमई ब्यांक र ब्यांक अफ काठमान्डु गाभ्ने गाभिने (मर्जर) सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मत पारित गरेको हो। साधारणसभाले मर्जरका लागि मूल्याङ्कनकर्ताबाट प्राप्त चल/अचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन (डीडीए) का आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात एक बराबर एकलाई समेत अनुमोदन गरेको छ।
ग्लोबल आइएमई र ब्यांक अफ काठमान्डुबीच मर्जर सम्बन्धी सम्झौतापत्र स्वीकृत गर्ने तथा मर्जर सम्बन्धी अन्य प्रक्रिया पूरा भइसकेको छ। साधारणसभाले ब्यांकको अधिकृत पु‘जी २५ अर्ब रुपैयाँलाई वृद्धि गरी ५० अर्ब रुपैयाँ पुर्याउने प्रस्तावलाई समेत पारित गरेको छ।
साधारणसभाले सञ्चालक समितिको तर्फबाट ब्यांकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गरेको छ। त्यस्तै, आर्थिक वर्ष २०७८/७९ को कुल मुनाफाबाट ब्यांकले आफ्ना शेयर धनीलाई प्रस्ताव गरेको ३ प्रतिशत बोनश शेयर र १०.६ प्रतिशत नगद लाभांश गरी जम्मा १३.६ प्रतिशत लाभांश दिने प्रस्तावलाई समेत पारित गरेको छ।
आर्थिक वर्ष २०७८/७९ मा ब्यांकले सञ्चालन मुनाफा सात अर्ब १८ करोड रुपैयाँ र कर पछिको मुनाफा चार अर्ब ९५ करोड रुपैयाँ आर्जन गरेको थियो। प्रस्तावित बोनश शेयर वितरण पश्चात ब्यांकको चुक्ता पुँजी २४ अर्ब ५० करोड पुग्नेछ।
साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई ब्यांक नेपाल सरकार एवं नेपाल राष्ट्र ब्यांकद्वारा घोषित नीतिहरूको परिपालना गर्दै आफ्ना शेयरधनीलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए। अध्यक्ष ढकालले शेयरधनीको आकांक्षाअनुरुप आगामी दिनमा उच्च लाभांश प्रदान गर्न ब्यांक प्रयासरत रहने समेत बताए।
हाल ब्यांकले दुई खर्ब ८९ अर्बभन्दा बढी निक्षेप संकलन गरेर दुई खर्ब ७३ अर्बभन्दा बढी कर्जा लगानी गरेको छ। ग्लोबल आइएमई ब्यांकका ७७ वटै जिल्लामा २९२ शाखा सञ्जाल र तीन अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय सञ्चालनमा छन्।