आइएमईबाट १४ हजार पठाउँदा १० लाखको उपहार
आइएमईले दशैं, तिहार, छठ, नेपाल सम्वत् लगायत चाडपर्वका अवसरमा ल्याएको अफरको अन्तिम नतिजा सार्वजनिक गरेको छ।
‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ योजनामा मेखलाल तामाङ मुख्य विजेता बन्न सफल भए। मलेसियाबाट आइएमई मार्फत १४ हजार ५० रुपैयाँ पठाएका तामाङले नगद १० लाख रुपैयाँ उपहार पाएका छन्।
काठमाडौं पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकाबीच आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र आइएमईका ब्रान्ड एम्बेसडर दीपकराज गिरीले संयुक्त रूपमा सफ्टवेयर पद्वतिमा आधारित लक्की ड्र मार्फत नतिजा सार्वजनिक गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पौडेलले आइएमईले समय समयमा ल्याउँदै आएको सेवाग्राहीमुखी अफरले नेपालमा रेमिटेन्स आप्रवाह बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए। आइएमई सबैको माया र विश्वास प्राप्त ब्रान्ड भएको उल्लेख गर्दै पौडेलले यो ब्रान्ड सबैसँग जोडियोस् र सबैमा अपनत्व कायम होस् भन्ने सोचेर कम्पनीलाई पब्लिकमा लैजाने प्रक्रिया शुरू भएको जानकारी दिए।
चाडपर्वलाई लक्षित गरेर भदौ १६ गतेदेखि कात्तिक १६ गतेसम्म सञ्चालनमा ल्याइएको अफरअन्तर्गत विदेशबाट आइएमईमार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीमध्ये दैनिक एक जनालाई सामसुङ मोबाइल, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने दुई जनालाई जनही २५ हजार रुपैयाँ उपहार प्रदान गरिएको थियो। आईएमईले विगत दुई दशकभन्दा लामो समयदेखि रेमिटेन्स सेवा प्रदान गर्दै आएको छ।