भूकम्पपछि रित्तिँदै सुदूरका गाउँ
भूकम्प गएको एक महीनासम्म पनि राहत तथा पुनःस्थापनाको काम नभएपछि खाद्यान्नको अभाव, चिसोमा पालमूनिको कष्टकर दैनिकबाट निरास डोटी र अछामका पीडित परिवार गाउँ छोडेर भारत तथा तराईतिर बसाइ सर्न थालेका छन्।
भूकम्पले घर भत्किएपछि एक महीनादेखि पालमूनि बस्दै आएका अछामको साँफेबगर नगरपालिका-७, रेनीकोटका भीमबहादुर कार्कीको परिवारका सदस्य बिरामी परे। तीन महीने छोरी सिकिस्त भएपछि बयलपाटा अस्पताल त लगे, तर चिकित्सले बचाउँन सकेनन्।
“निमोनिया भएछ, औषधि त खुवाइ रहेका थिए,” अस्पताल सञ्चालन गरिरहेको न्याय हेल्थ नेपालका कर्मचारी धर्म कडायतले भने, “चिकित्सकले सक्दो प्रयास गरेका थिए, तर उपचारका क्रममा ज्यान गयो।”
तीन महीने बालिकाको चिसोले ज्यान गएपछि कार्की परिवार त शोकमा डुबेकै छ, छरछिमेकी पनि डराएका छन्। भूकम्पले घर भत्किएपछि पालमूनि बस्दै आएका पीडित परिवार चिन्तित बनेका छन्।
साँफेबजार-१२, खप्तड पुत्रुका दलबहादुर भूल भने सात जनाको परिवार सहित भारत जाने तयारीमा छन्। किनकि, उनका छोराछोरी पनि चिसोले विरामी परेका छन्, खानलाउन समस्या भएको छ भने चिसोमा छोराछोरीलाई कसरी जोगाउने भन्ने चिन्ताले सताएको छ। “महिना दिनदेखि पालमा छन्। छोराछोरी पनि चिसोले विरामी भएका छन,” उनका छिमेकी गोम रावलले भने, “आम्दानी छैन, कतैबाट सहयोग पाएका छैनन्। चिसोमा ज्यान फाल्नुभन्दा त विदेश जान ठिक भनेर परिवारसहित भारत जाँदै छन्।”
राम्रोसँग बोल्न पनि नसक्ने भूल घर बनाउने पैसा कमाएपछि मात्रै घर फर्किने निर्णयमा पुगेका छन्। कात्तिक २२ र २३ गते गएको भूकम्पले उनको घर भत्किएको छ। दुई दिन लगातार गएको भूकम्पले अछाम र डोटीका जनधनको क्षति पुगेको छ।
डोटीको पूर्वीचौकी गाउँपालिका तथा अछामको साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकामा ६ जनाको मृत्यु भयो। मृत्यु हुने सबै पूर्वीचौकी गाउँपालिका-३, गैरागाँउका छन्। घर भत्किँदा १० जना घाइते भए।
त्यस्तै, भूकम्पले साँफेबगरका १४ वटै वडाका ९० प्रतिशत घरमा क्षति पुगेको नगरपालिका कार्यालयले जनाएको छ। प्रत्येक वडामा कम्तिमा २० घरमा पूर्ण क्षति भएका छन्।
पूवीचौकी गाउँपालिकामा १२० घर पूर्ण क्षति भएका छन् भने एक हजार एक सय घरमा आंशिक क्षति पुगेको छ। भूकम्पबाट तीन हजार परिवार प्रभावित भएको गाउँपालिकाले जनाएको छ। घर क्षतिग्रस्त हुँदा स्थानीय बासिन्दा पाल टाँगेर बसेका छन् भने केही बसाइ सरेका छन्।
भूल जस्तै खप्तड वलयन्त र पुत्रु गाउँका पाँच परिवार पनि तराई र भारततिर जाने तयारीमा छन्। नेकपा (एकीकृत समाजवादी) को अछाम जिल्ला समिति सदस्य समेत रहेका रावलका अनुसार खप्तड क्षेत्रमा घर क्षतिग्रस्त भएका परिवार बसाइ सर्ने क्रम बढ्दै गएको छ। आफ्नो घरमा पनि क्षति पुगेको बताउँदै रावल भन्छन्, “घर हुँदा पो गाउँठाउँको माया हुदोरहेछ, घरै नरहेपछि के भनेर बस्नु!”
साँफेबगर-७, रेनीकोटकी पूजा कडायत भारतको बेंगलोर पुगिसकेकी छन्। उनका श्रीमान भारतमा काम गर्छन्। भूकम्पले घर पनि भत्किएपछि उनी श्रीमानसँगै भारत गएको उनका काका धर्म कडायतले बताए। “हामी पनि बालबच्चासँगै पालमा बसेका छौं। चिसोमा पालमा बस्नु साह्रै गाह्रो छ, धेरै अवस्था दयनीय छ,” कठायतले भने, “सक्नेहरू तराईतिर गएँ, अलि कमजोर भारततिर लागे। कतै जान नसक्ने यता बसिरहेका छौं।”
उपमेयर शिवबहादुर कुँवरका अनुसार साँफेबगर नगरपालिकामा ६ हजार घर चर्किएका छन्। केही घर भत्किएका छन्। चर्किएका घरमा बस्न पनि जोखिम रहेको उनको भनाइ छ।
डोटी केन्द्रबिन्दू भएर गएको भूकम्पले सबैभन्दा ठूलो क्षति अछाम र डोटीमा भएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। त्यसमा पनि डोटीको पूर्वीचौकी गाउँपालिका तथा अछामको साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकामा धनजनको धेरै क्षति भएको छ।
यस्तै, चौरपाटी गाउँपालिका अध्यक्ष भीमबहादुर साउँदका अनुसार सबैभन्दा बढी वडा नंं ५, ६ र ७ मा क्षति भएको छन्। वडा नं. ७ मा मात्रै ६० घर पूर्णरुपमा क्षति भएको र पाँच हजार पाँच सय घर चर्किएको साउँदले बताए।
भूकम्प गएको एक महीना बितिसक्दा पनि संघ र प्रदेश सरकारले वास्ता गरेको छैन। स्थानीय सरकार र संघसंस्थाले पाल र खाद्यान्नको व्यवस्था गरेका छन्। तर, केही दिनको खाद्यान्न र एक थान पालले मात्र सुरक्षित नरहने भन्दै तराई बसाई सरिरहेको साँफेबगरा उपमेयर शिववहादुर कुँवरले बताए।
“आर्थिक अवस्था राम्रो भएकाहरू बसाई सरे पनि धेरै जसो पीडित पालमूनि नै छन्,” कुँवरले भने, “उनीहरूको व्यवस्थापनमा ढिलाइ भए अझै थप समस्या आउनसक्छ।”
यस्तै अव्यवस्थित बसाई र समयमा नै राहत र व्यवस्थापन नभएपछि साँफेबजार-७ का १० परिवार बसाई सरेको उपमेयर कुँवरले बताए। “अहिलेको भूकम्पले मात्र बसाइसराइको समस्या आएको हैन, सधैको प्राकृतिक प्रकोपले पनि हो। त्यसमाथि यस पटक भूकम्पले झन धेरै घर बस्न लायक रहेनन्,” उनले भने।
भूकम्पले घर भत्किँदा ६ जनाको ज्यान गएको पूर्वीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्याय तीन हजार परिवार प्रभावित भएकाले बसाईसराईको समस्या बढ्ने बताउँछन्। “तत्काल राहत सहयोग र व्यवस्थापनको काम नहुने हो भने समस्या आउँछ, यस्तो चिसोमा पालमा धेरै दिन बस्न सकिँदैन,” उनी भन्छन्, “तीन परिवार तराई झरिसकेको सुनेको छु, आश्रय नपाएर अझै धेरै परिवार गाउँ छोड्न सक्छन्।”
पातलकोट पीडा
साँफेबगर नगरपालिका-१४, पातलकोटका दानी थापा कैलालीको डुडियाँ जाने तरखरमा छन्। श्रीमती, छोराबुहारी र दुई नातिनातिना सहित बसाई सर्न वडा कार्यालयबाट कागजात बनाइसकेका छन्। गएको कात्तिकमा भूकम्पले उनको घर पनि ढल्यो। “घरसँगै पातलकोटमा बस्ने मन पनि ढल्यो,” उनीबारे पातककाेटका वडाध्यक्ष सञ्जु थापा भन्छन्।
पातलकोटका अन्य पाँच परिवारले पनि बसाई सर्ने तयारी गरिरहेका छन्। गाउँ छोडेर उनीहरू जान लागेको वडाध्यक्ष सञ्जु थापाले थाहा पाएका छन्। तर, आफूले उनीहरूलाई गाउँमै रोक्न नसकेको थापा सुनाउँछन्। स्रोतको अभावले भूकम्पपछि गाउँमा व्यवस्थापन गर्न नसकेको बताउँदै वडाध्यक्ष थापा भन्छन्, “केही वर्षयता बाढी, पहिरो, भूकम्प लगायतका कारण असुरक्षित बनेपछि गाउँ रित्तिदै छ। उनीहरूलाई गाउँमै व्यवस्थापन गर्न केही गर्न सकेका छैनौं। हाम्रो स्रोत नै कम छ।”
वडाध्यक्ष थापाका अनुसार पछिल्ला केही वर्षमा नै पातलकोटबाट एक सयभन्दा बढी परिवार बसाई सरिसकेका छन्। सयभन्दा बढी परिवार यसअघि नै बसाइ सरेका थिए भने भूकम्पछि थप ९० परिवार गाउँ छोड्ने तयारीमा रहेको जानकारी आएको उनले बताए।
भूकम्पले यहाँका ५८३ घरमा क्षति पुगेको छ। घर भत्किएपछि ३७३ परिवार पालमा घरबाहिरै बसिरहेका छन्। “भूकम्पपछि त गाँउ नै खाली होला कि भन्ने डर लागेको छ,” वडाध्यक्ष थापा भन्छन्, “दिनदिनै बसाइ सर्न थालेपछि पातलकोट नै बाँझो रहने पो हो कि!”
यसअघि २०६७ सालमा पातलकोटमा गएको पहिरोले एकै परिवारका १० जनाको ज्यान गएको थियो। वरपरका धेरै घरमा क्षति पुगेको थियो। एक सयभन्दा बढी घर जोखिममा परेका थिए। त्यसबाट पाठ सिकेर सुरक्षित स्थानबारे कुनै अध्ययन अनुसन्धान नभएको र प्रत्येक वर्ष मनसुनमा पहिरोले ज्यान जाने गरेको वडाध्यक्ष थापा बताउँछन। “यो वडा सुरक्षित नभएको भन्दै भारत र तराई झरिरहेका छन,” उनी भन्छन्, “फेरि भूकम्पले धेरै क्षति गरेको छ। चाँडै सम्बोधन नभए अरुले पनि विकल्प खाज्न थाल्लान।”
स्थानीय बासिन्दाले गाउँ छोड्न थालेपछि विद्यालयमा विद्यार्थी पनि घटिरहेको छन्। साँपेबगर-४, भण्डारीगाँउस्थित भगवती आधारभूत विद्यालयका शिक्षक मिनबहादुर कुँवरले एक वर्षमा एक सय भन्दा बढी विद्यार्थी घटेको बताए। अघिल्लो केही वर्षमा ३३० को हाराहारीमा विद्यार्थी हुन्थे, अहिले दुई सय विद्यार्थी रहेको उनले बताए।
शिक्षक कुँवरका अनुसार विद्यार्थी कम भएकै कारण साँफेबगरका आठ विद्यालय बन्द भएका छन्। “बन्द भएका विद्यालयका कतिपय शिक्षकलाई नगरपालिकाले काजमा राखेको छ, कतिपय सरुवा भएर गए,” उनले भने।
केही दशकअघिसम्म अछामको साँफेबगर क्षेत्रका धेरै पुरुष कामका लागि भारततिर जान्थे। महिला र बालबालिका गाउँमै हुन्थे। अहिले भने महिला पनि रोजगारीका लागि भारत जान थालेका छन्। यससँगै बाढी, पहिरो तथा भूकम्पको जोखिमले गर्दा कामका लागि भारत जानेहरू परिवारै लग्ने गरेको शिक्षक कुँवर बताउँछन्।
भूकम्पछि बसाइ सर्ने क्रम फेरि बढेको उनको भनाइ छ। मजदुरी गरेर खानेहरू भारततिर गइरहेको र आर्थिक रुपमा अलिकति सबलहरू कैलाली, कञ्चनपुर, बाँकेतिर बसाइ सरिरहेको उनले बताए। “अब त गाउँमा कि वृद्धवृद्धा छन्, कि त खाली घर मात्र भेटिने अवस्था आयो।”
व्यवस्थापनमा ढिलाइ
भूकम्प गएको एक महीना भइसकेको छ। तर, भूकम्पले के कति क्षति भयो भन्ने विवरण छैन। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले भरखर क्षतिको विवरण संकलन गर्न शुरू गरेको छ।
भूकम्पले क्षति पुगेका तीन स्थानीय तहले प्रारम्भिक विवरण संकलन गरेका छन्। जसमा ६ जनाको मृत्यु भएको र १५ हजारभन्दा बढी घरमा क्षति पुगेको उल्लेख छ। घर चर्किएको, आधा भत्किएको र पूर्ण क्षति भएको विवरण छुट्याइएको छैन। तत्कालका लागि केही राहत र पाल उपलब्ध गराइएको स्थानीय तहले जनाएका छन्। सबै विवरण आउन नसक्दा पनि समयमा सहयोग गर्न नसकिएको चौरपाटी गाउँपालिका अध्यक्ष साउँदले बताए।
प्राधिरकणले भने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका कारण भूकम्पपछिको व्यवस्थापनमा ढिलाइ भएको जनाएको छ। प्राधिकारणका प्रवक्ता डा.डिजन भट्टराई निर्वाचन आचारसंहिता लगायतका कारण स्थलगत काम गर्न नसकिएको बताउँछन्।
अहिले पहिलो चरणमा प्रारम्भिक सर्वेक्षण भइरहेको र त्यसबाट क्षतिको विवरण आएपछि फेरि घरघुरी अनुसार सुक्ष्म अध्ययन गरिने उनको भनाइ छ। “पुनर्निर्माणको काम हचुवाको अध्ययनले हुँदैन,” प्रवक्ता भट्टराई भन्छन्, “दिर्घकालिन समाधान खोज्न क्षतिको प्रतिवेदन तयार भएपछि पुनर्निर्माणको काम अघि बढनेछ।”
भूकम्प गएको एक महीनापछि विवरण संकलन गरिरहेको प्राधिकरणले त्यसपछि राहत उपलब्ध गराउने जनाएको छ। प्राधिकरणले अहिलेसम्म मनसुनका कारण घर भत्किएका परिवारलाई हिमाली क्षेत्रमा पाँच लाख, पहाडी क्षेत्रमा चार र तराई क्षेत्रमा तीन लाख दिँदै आएको छ। “अब क्षतिको विवरण लिएपछि घर बनाउने निर्णय गर्ने र उपभोक्ताको ब्यांंक खातामा घर बनाउने पैसा किस्ताकिस्तामा हाल्छौं,” प्राधिकरणका उपसचिव ध्रुवबहादुर खड्का भन्छन्।
उनका अनुसार अहिले प्राधिकरणको टोलीले घर बनाउनुपर्ने तथ्याङ्क पनि संकलन गरिरहेको छ। त्यसपछि राहत र पुनर्निर्माणको लागि नीतिगत तहमा निर्णय हुने उनको भनाइ छ। “हामीले यो पुनर्निर्माणको काम सात महीनासम्म सक्ने भनेका छौं। भ्ूकम्प गएपछिको प्रत्यक्ष र अप्रत्यक्ष क्षति थप हुन नदिन चाडो काम सक्न प्रयासरत छौं,” खड्का भन्छन्।
ढिलो व्यस्थापनले बसाइसराइको जोखिम
कुनै पनि द्वन्द्व होस् वा प्राकृतिक प्रकोप, जसको ढिलो व्यवस्थापनले निम्त्यिाउने जोखिममध्ये बसाइसराइ पनि एक हो। माइग्रेसन पोलिसि इन्स्टिच्युटको ‘नेपालको पुनःपरिभाषाः द्वन्द्वपछिको आन्तरिक बसाइसराइ, विपत पछिको समाज’ अध्ययनमा पनि बसाइसराइलाई उल्लेख गरिएको छ। सन् २०१५ मा गरिएको यस अध्ययनले भूकम्पबाट प्रभावित भएका जिल्ला फेरि आउनसक्ने विपत्तिअघि नै आन्तरिक बसाइसराइ सबैभन्दा बढि हुने गरेको औल्याएको छ।
एकपटक भूकम्प गइसकेकोे स्थानका मानिसले बसाइसराइको योजना बनाउने गरेको समाजशास्त्री गणेश गुरुङ पनि बताउँछन्। “बसाइसराइको योजना बनाउने पनि सबैभन्दा धेरै विपन्न वर्ग हुन्छन्,” गुरुङ भन्छन्, “हामी भूकम्पले धनी गरिब छुट्याउँदैन भन्छौं, तर कमजोर घर त गरिबका नै हुन्छन् र ढल्छन पनि तिनै।”
यसको ज्वलन्त उदाहरण २०७२ सालको भूकम्प भएको उनको भनाइ छ। पछिल्लो पटक डोटी र अछाममा गएको भूकम्पले पनि निमुखा वर्गको घर नै धेरै क्षति भएको उनले स्मरण गराए। त्यसैले यो क्षेत्रका मानिस तत्काल र धेरैपछिसम्म पनि बसाइ सर्ने मनस्थितिमा हुने गरेको उनी बताउँछन्। “त्यसमा पनि यी दुई जिल्लासँग भारत नजिक भएकाले हाम्रो जनशक्ति पलायन र सामाजिक पक्षमा खलबल आउने जोखिम छ,” समाजशास्त्री गुरुङ भन्छन्, “त्यसैले भूकम्पपछिको पुनर्निर्माण तुरुन्त गर्नुपर्छ।”
अर्का समाजशास्त्री राम गुरुङ पनि ढिलो व्यवस्थापन गर्नु भनेको बसाइसराइलाई मलजल गर्नु सरह भएको बताउँछन्। “किनकि, जति उनीहरू घरविहीन, खाद्यन्न र अन्य कुराको अभाव महसुस गर्छन्, उति नै आफ्नो थातथलो छाड्नेबारे सोच्न समय पाउँछन्,” गुरुङ भन्छन्।
यसरी प्रभावित व्यक्तिलाई पनि ‘अब म यहाँभन्दा माथि उठ्न नसक्ने रहेछु, केही विकल्प रहेन, गाउँ छाड्छु’ भनेर मानसिकरुपमा तयार हुनसक्ने समाजशास्त्री गुरुङ बताउँछन्। त्यसैले छिट्टै पुनर्निर्माण वा अन्य रोजगार सिर्जना गर्न नसके पनि उनीहरूलाई मनोपरार्श दिन अत्यावश्यक रहेको उनको भनाइ छ।
अन्यथा, बसाइसराइसँगै सामाजिक विचलन, उब्जनि कम हुने, अपराधिक क्रियाकलाप बढने, अवसरमा प्रतिस्पर्धा, असन्तुलित जनसंख्याको समस्या आउने उनको विश्लेषण छ। गुरुङ भन्छन्, “सरोकारवाला निकायले अछाम र डोटीमा भूकम्पपछि, यो वा त्यो कारणले ढिलो भयो भन्ने छुट छैन।”