अपरिहार्य स्थानीय अभिलेखालय
वर्चस्वशाली इतिहास बदल्न र इतिहासको स्थानीकरणका लागि स्थानीय अभिलेखालय स्थापना र सबलीकरणको विकल्प छैन।
मानिसले निजी र सामूहिक सम्झना बलियो राख्न पुराना चिजबिजको जतन गर्छ। भविष्यमा उपयोगी हुने ठानेर अनमोल वस्तु र सूचना (अभिलेख)को सङ्कलन गर्ने सामूहिक प्रयास साम्राज्य युगदेखि आजसम्म गरिँदै आएको छ।
धन र हैसियत जस्तै समाजमा पहिले अभिलेखको पनि असमान वितरण थियो। राज्यव्यवस्था बलियो भएसँगै राजकीय र प्रतिरोधी अभिलेखालय दुवै जन्मिए। व्यावसायिक, धार्मिक र भौगोलिक उद्देश्य तथा विपद् प्रतिकार्य र कौतुक शान्त गर्ने क्रममा अभिलेख सङ्कलन र संरक्षणको परम्परा जन्मिए। राज्यव्यवस्था इतर समाजका फरक फरक अवयवले पनि भिन्न किसिमका अभिलेख सुरक्षित राखे।
समय, स्थान, विषय र लक्षित समुदाय अनुरूप बनेका अभिलेखालयका सङ्कलन र संरक्षण नीति फरक थियो। बिस्तारै अभिलेखालय समाजको सबै तप्का र जनसमूहको साझा स्मृति जगाउने थलोको रूपमा विकास भयो। आधुनिक अभिलेखालयको विकासक्रममा औपचारिक केन्द्रीकरण भने एउटा साझा प्रवृत्ति रह्यो।
अभिलेखालयको केन्द्रीकृत ढाँचामा भौगोलिक र सामाजिक टाढा-नजिक छँदै छ, आर्थिक र व्यवस्थापकीय तलमाथि पनि छ। इतिहास बन्ने ठाउँबाट अभिलेख हराउँछन्। एउटा काल्पनिक इतिहासको खेस्रा नै समाजको अतीत जस्तो देखापर्छ। यो ढाँचाको विकल्प खोज्नु आवश्यक छ।
वर्तमान अभ्यास
सबैजसो घरमा निजी प्रयोजनका लागि केही कागजपत्र महत्त्वपूर्ण ठानिएको हुन्छ। घरैपिच्छे व्यक्तिगत र पारिवारिक उपयोगका दृष्टिले गौण लाग्ने, सरसफाइ गर्दा फालिने अथवा महत्त्वपूर्ण ठानेर जोगाइने सामग्री नै अभिलेखालयको स्वरूप लिन सक्ने संग्रह हो।
सरकारी, गैरसरकारी, सहकारी र पारम्परिक संस्थामा पनि अनेक अभिलेख पाइन्छन्। सरकारी वा गैरसरकारी प्रशासनिक कार्यका लागि बनेका कागजात सबै सार्वजनिक अभिलेख हुन्। डिजिटल माध्यमबाट उत्पादित सामग्रीलाई पनि अभिलेखका रूपमा ग्रहण गर्नुपर्ने हुन्छ। डिजिटल आर्काइभको स्थापना र संरक्षणको सन्दर्भमा भौतिक र विद्युतीय दुवै संरचनालाई अभिलेखालयको अभिन्न हिस्सा मान्नुपर्ने हुन्छ।
पुनरुपयोग गर्ने सम्भावना तौलेर प्रायः अभिलेख संरक्षणका मापदण्ड बनाइन्छन्, भविष्यको ऐतिहासिक जिज्ञासालाई ध्यानमा राखेर बनाइँदैनन्। पछिका पुस्ताले नेपाली समाजको एउटा यात्रालाई बुझ्नेछन् भनेर अभिलेख अधिकारीहरूले तिनको सङ्कलन र संरक्षणका निम्ति पहल गरेको प्रायः भेटिँदैन।
अभिलेखको सङ्कलन र संरक्षणबारे बहस जगाउँदा पारम्परिक पुस्तकालय र अहिले विस्तृत हुँदै गएको ई-पुस्तकालयलाई छाड्नु हुँदैन। सामान्यतः छापा सामग्रीको संग्रह पढ्ने व्यवस्था मिलाएको देखिए पनि नेपालको सन्दर्भमा पुस्तकालयलाई अभिलेखालयमा रूपान्तरण गर्ने सम्भावना छ।
स्थानीयता सम्बन्धी प्रश्न
अभिलेख उत्पादन, सङ्कलन, स्वामित्व र अपनत्व जस्ता पाटा नियाल्दा स्थानीय शब्दलाई व्यापक अर्थमा बुझ्नु उपयोगी हुन्छ। वरिपरिका मानिसबाट आफूलाई छुट्याउनेहरूले बस्ती बसाइ, वंश, परिवार, मूलथलो, स्वभाव, आस्था जस्ता फरक फरक कारण देखाई आफ्नो ठाउँका परिचय दिन्छन्। स्थानीयताका अनेक आधार हुन सक्छन्।
स्थानीयताको सिमाना कोर्ने प्रतिनिधि समूह वैधानिक र समावेशी हो/होइन भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ। स्थानीय पहिचानलाई स्पष्ट पार्दापार्दै कहिलेकाहीं कुनै वर्ग, जात, लिङ्ग अथवा समूहलाई बहिष्कार गर्ने काम भएको हुन सक्छ। भरसक उदार, पहिचानयुक्त, समावेशी र लचिलो परिभाषातिर लैजाने छलफल गर्न स्थानीयताको प्रश्न तेस्र्याइएको हो।
स्थानीय स्तरमा अभिलेख सङ्कलन र संरक्षणका योजना बनाउँदा थप प्रक्रियागत अलमल जन्मिन सक्छ। स्थानीयतासँग जोडिएकामध्ये मुख्य प्रश्न हुन्- स्थानीय परिवेश, भाषा-संस्कृति, स्मृति, इतिहास अथवा पात्रसँग अभिलेख सामग्रीलाई जोड्ने कि नजोड्ने? के व्यक्तिगत, सामुदायिक, साझा, सरकारी, संस्थागत र राजकीय जस्ता फरक फरक प्रकृतिका अभिलेखालयको सहअस्तित्व सम्भव छ?
के स्थानीय तहलाई प्राकृतिक स्रोत र संवैधानिक अधिकार सुम्पिँदै लैजाने वर्तमान अभ्यासभित्र केन्द्रीकृत अभिलेखालयसँगै स्थानीय अभिलेखालयको सञ्चालन सम्भव छ? के नेपालभित्र अभिलेखालय निर्माण र सञ्चालनको यात्रालाई बढी लचिलो, फराकिलो, जनउत्तरदायी र बलियो बनाउन सकिन्छ?
हाम्रो विचारमा, मुलुकका सबै भूभागमा ससाना तर सम्पन्न र दिगो अभिलेखालयको स्थापना र तिनलाई एउटा राष्ट्रिय सञ्जालमा जोड्ने नौलो अभ्यास सम्भव छ।
अभिलेखः स्थानीय उत्पादन
प्रत्येक मानिस अभिलेख उत्पादक र उपभोगकर्ता दुवै हो। प्रत्येक घटना अभिलेख उत्पन्न हुने समय हो। एउटा परिवारलाई अर्को परिवार र बृहत्तर समुदायसँग जोड्ने गतिविधिमा अभिलेख बन्छन्। यी विवरणले परिवारको आर्थिक-सामाजिक सम्बन्ध र सम्पत्तिको वर्गीय विश्लेषण गर्न मद्दत पुग्छ।
सरकारको सम्बन्ध एकातिर नागरिकका रूपमा व्यक्तिसँग र अर्कातिर घरधुरीका रूपमा परिवारसँग हुन्छ। सरकारी अभिलेखले राज्य र परिवारबीच रहेको सम्बन्ध केलाउन मद्दत पुग्छ। जनता र सरकारबीच अनेक सामाजिक संस्था हुन्छन्। यी मध्यवर्ती संस्थाका अभिलेखले सार्वजनिक जीवनका अनेक पाटा खुल्न सक्छन्। घरायसी, पारिवारिक र सामुदायिक कलह सुल्झाउने दायित्व सबैखाले मध्यवर्ती संस्थाको हो। मध्यवर्ती संस्थाले राखेका अभिलेखले स्थानविशेष, समुदाय विशेष, संस्कृति र धर्म परम्पराको विकास देखाउँछन्।
सबै अभिलेख स्थानीय उत्पादन हुन्। निजी र पारिवारिक जीवनमा ठूल्ठूला घटना थोरै हुने र ससाना घुम्ती धेरै हुने गर्छ। म्याद गुज्रेको र प्रयोजन सिद्धिएको सानातिना अभिलेखले नै जीवनको ठूलो हिस्सा सम्झिन, बुझ्न र बुझाउन सघाउने हुन्। त्यसैले अस्थायी भनिएका अभिलेखको व्यवस्थापन गर्दा तिनको संरक्षणप्रति विशेष संवेदनशील हुनुपर्छ। औपचारिक र निर्णायक सामग्री मात्र होइन, तिनका सहायक सामग्रीलाई पनि अभिलेख सम्झ्निुपर्छ।
अभिलेखमा स्थानीय भाषा, लेखन र वाचन परम्पराका प्रभाव देखिन्छन्। अभिलेखलाई उपेक्षा गरेर अथवा सुरक्षा प्रदान गर्ने भनेर स्थानान्तरण गरियो भने स्थानीय सन्दर्भको लाभ हामी गुमाउँछौं। अभिलेख नबुझिने मात्र होइन, त्यसले फरक व्याख्या र अमिल्दो अर्थतिर डोर्याउने जोखिम बढ्छ। अभिलेखलाई सम्बन्धित स्थान, परिवार, समुदायसँग राख्नु भनेको आफ्नो अतीतमाथि तिनको स्वामित्व र अपनत्व स्वीकार गर्नु पनि हो।
अभिलेखलाई मौलिक स्थानमा सुरक्षित राख्ने सिद्धान्त नै अभिलेख संरक्षणको मूल नीति हुनुपर्छ। सङ्कलक र प्रयोगकर्तामा रहेको फरक क्षमतालाई अभिलेख स्थानान्तरण गर्ने कार्यले विभेदको रूप दिन सक्छ। जानीनजानी नेपाली जनसमुदायलाई इतिहास सम्पन्न र विपन्न गरी दुई वर्गमा विभाजन गर्ने काम हुन सक्छ।
स्थानीयताको बनोट
उत्पादन, संरक्षण र उपयोगका दृष्टिकोणबाट हेर्दा अभिलेखलाई स्थानीय, क्षेत्रीय, प्रादेशिक अथवा राष्ट्रिय महत्त्व अथवा प्रकृतिको भनेर छुट्याउनु ठीक होइन। सबै अभिलेखको महत्त्व उत्तिकै भए पनि तिनको मूल्याङ्कन सन्दर्भविशेषका आधारमा गरिन्छ। फरक फरक तहमा भिन्न भिन्न रुचि, स्वार्थ र प्राथमिकता तय गरिन्छन्।
किन कोही अभिलेखलाई महत्त्वपूर्ण अथवा महत्त्वहीन भनेर वर्गीकरण गर्दै खास खास किसिमको अभिलेखालय बनाउन चाहन्छ, त्यस्तो अभिलेखालयले क-कसलाई बाहिर राख्तछ भन्ने जस्ता प्रश्न गरिनुपर्छ। स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय जस्ता भेद बलिया र प्रभावशाली समूहले बनाउने हो। उँचनीचको यस्तो स्तर निर्माण समाजको स्थायी पक्ष होइन।
कुनै ठाउँ र समाजबारे नयाँ खालको बुझाइ विकास गर्न अभिलेख सामग्री र विषयवस्तुमाथि चढेको महत्त्वको लेप उप्काएर हेर्नुपर्ने हुन्छ। निर्णायक अर्थ-राजनीतिमाथि समय समयमा प्रश्न गर्न अभिलेखले सक्षम बनाउने भएकाले अभिलेख सङ्कलन र संरक्षणमा तात्कालिक अर्थ-राजनीतिलाई हावी हुन दिनु हुँदैन। सबै किसिमका अभिलेखको सङ्कलन र संरक्षणमा समान लगानी र उस्तै चासो देखाउने आग्रह गर्नुपर्छ।
अबको बाटो
इतिहासको पुनःरचना भइरहन्छ। वर्चस्वशाली इतिहास बदल्न अतीतलाई हेर्ने परिपाटी फेर्नुपर्ने हुन्छ। नौला अभिलेख सामग्रीको प्राप्ति र तिनलाई पढ्ने नयाँ सन्दर्भले परिपाटी बदल्ने हो। स्थानीय अभिलेखालयको स्थापना र प्रवर्द्धनले यी दुवै मौका जुराउँछ। स्थानीय अभिलेखालय स्थापना र प्रवर्द्धनको अभियान इतिहासको स्थानीकरणको अभिन्न प्रक्रिया हो।
जनसमुदायले आआफ्नो अतीत खोतल्ने र इतिहास खोज्ने आजको परिवेशमा अभिलेख संरक्षणको एकमुष्ट दायित्व राष्ट्रिय स्तरका अभिलेखालयलाई मात्र सुम्पिनु व्यावहारिक हुँदैन। विद्यमान अभिलेख संरक्षण ऐनले एकात्मक प्रकृतिको केन्द्रीय अभिलेखालयको कल्पना गरेको देखिन्छ। तर, अभिलेख संरक्षणको प्रयास बहुकेन्द्रित हुनुपर्ने सिद्ध भइसकेको छ।
नेपालको अभिलेख संरक्षण योजनालाई लोकतान्त्रिक र समावेशी बनाउने सबैभन्दा अपरिहार्य कार्यक्रम स्थानीय अभिलेखालयको स्थापना र सबलीकरण हो। यसले राज्यको अभिलेख सङ्कलन र संरक्षण कार्यक्रमलाई स्थानीय तहमा सक्षम बनाउँछ र विस्तार गर्छ। स्थानीय अभिलेखालयको राष्ट्रिय सञ्जाललाई राष्ट्रिय स्तरका अभिलेखालयको प्रतिस्पर्धी होइन, परिपूरकका रूपमा हेर्नुपर्छ।
धेरै संख्यामा ससाना अभिलेखालय देशभर बनाउँदा प्रत्येक एकाइ कम खर्चिला हुन्छन्। तिनको व्यवस्थापन सहज हुन्छ। स्वामित्व लिनेले नै रेखदेख र निगरानी गर्न पाउँछ। यो लक्ष्य पूरा गर्न पहिलो चरणमा मुलुकका सात प्रदेशमा सात वटा नमूना स्थानीय अभिलेखालयको स्थापना र एउटा राष्ट्रिय सञ्जालको निर्माण, दोस्रो चरणमा प्रत्येक प्रदेशमा तीनदेखि पाँच वटासम्म स्थानीय अभिलेखालयको स्थापना र सबलीकरणको प्रस्ताव गरिएको छ। यी अभिलेखालयको दिगो सञ्चालनका निम्ति वित्तीय स्रोत, प्राविधिक सहयोग र व्यवस्थापकीय परामर्श जुटाउन राष्ट्रिय अभिलेखालयले सहजीकरण गर्ने एउटा स्थानीय अभिलेखालय प्रवर्द्धन मञ्च हुनेछ।
(मदन पुरस्कार पुस्तकालयद्वारा हालै प्रकाशित स्थानीय अभिलेखालयको बाटो पुस्तिकाबाट लिइएको यो बुँदागत संक्षेप योगेश राज, दीपक अर्याल र राजीव रञ्जन सिंहले तयार पारेका हुन्।)