फ्रान्सद्वारा इंग्ल्याण्ड पराजित, सेमिफाइनल समीकरण पूरा
कतारमा जारी विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ।
मंसीर २५ गते बिहान भएको अन्तिम क्वाटरफाइनलमा फ्रान्सले इंग्ल्याण्डलाई २–१ गोल अन्तरले पराजित गर्यो। पहिलो हाफको १७औं मिनेटमा औरेलियन चुवामेनीको गोल मद्दतले फ्रेन्च टीमले अग्रता लियो। दोस्रो हाफ शुरु भए लगत्तै ५४औं मिनेटमा इंग्ल्याण्डका कप्तान ह्यारी केनले पेनाल्टीमा गोल गर्दै १–१ को बराबरीमा ल्याए।
७८औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाए। त्यसको पाँच मिनेटपछि पाएको पेनाल्टी प्रहारलाई ह्यारी केनले गोलमा परिणत गर्न नसकेपछि इंग्ल्याण्डले बराबरी गर्ने अवसर गुम्यो।
साविक विजेता फ्रान्सले भने मंसिर २८ गते बुधबार मध्यराति पौने १ बजे हुने मोरक्कोसँगको सेमिफाइनल भेट पक्का गर्यो। अर्को सेमिफाइनल खेल क्रोएसिया र अर्जेन्टिनाले मंसिर २७ गते मध्यराति पौने १ बजे खेल्ने छ।