बुद्धिसागरको उपन्यास ‘एक्लो’ सार्वजनिक
लेखक बुद्धिसागरको उपन्यास ‘एक्लो’ शनिबार सार्वजनिक गरिएको छ।
काठमाडौंको प्रज्ञा प्रतिष्ठान, डबलीमा आयोजित समारोहमा १० जना पाठकले पुस्तक सार्वजनिक गरेका हुन्। उनीहरू गोलाप्रथाबाट छानिएका थिए।
कार्यक्रममा बोल्दै लेखक बुद्धिसागरले पुस्तक सार्वजनिक समारोहमा आउँदा निकै डर लागेको बताए। उनले भने, “बिहान उठ्दा एकदमै आत्मविश्वासी थिएँ, तर बाटोमा आउँदा आउँदै डर लाग्न थाल्यो। प्रज्ञा प्रतिष्ठानको गेटमा आइपुग्दासम्म खुट्टा नै काँपेको महसुस भयो।”
यो उनको तेस्रो उपन्यास हो। यसअघि उनले ‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’ उपन्यास लेखेका थिए। त्यस्तै, उनको कविताकृति ‘बुद्धिसागरका कविता’ पनि प्रकाशित छ।
यो उपन्यासलाई फाइनप्रिन्टले प्रकाशन गरेको हो।