पूर्वी पहाडको सुवास
वनस्पति अनुसन्धानका क्रममा डेढ शताब्दीअघि पूर्वी नेपालको भ्रमण गरेका अन्वेषक जोसेफ डाल्टन हूकरको यात्रावृत्तान्त तत्कालीन भूगोल र समाज बुझ्ने आँखीझ्याल हो।
विख्यात वनस्पतिशास्त्री, प्रकृतिविद् एवम् बेलायती अन्वेषक सर जोसेफ डाल्टन हूकर वनस्पतिकोे खोजयात्राका क्रममा सन् १८४८ देखि १८५१ सम्म भारत, तत्कालीन सिक्किम अधिराज्य, पूर्वी नेपाल र तिब्बतसम्म पुगे। त्यही यात्रामा आधारित भई हूकरले १८५४ मा हिमालयन जर्नल्स (भाग १ र २) पुस्तक प्रकाशन गरे। पुस्तकबाट नेपाल खण्डको अनुवाद पत्रकार हस्त गुरुङले गरेका छन्, जुन हालै कञ्चनजङ्घा जुहार पुस्तकका रूपमा छापिएको छ।
हूकरले यात्रावृत्तान्त मार्फत पूर्वी नेपालका इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङको भौगोलिक सौन्दर्य सहित विविध पक्षबारे आजभन्दा १६७ वर्षअघि बाँकी विश्वलाई जानकारी गराए। तर, हामीकहाँ अझै पनि हूकर धेरैका निम्ति अपरिचित छन्। यस लेखमा उनको वनस्पति खोजयात्राका तीतामीठा र उनले गरेका कामको सन्दर्भ जोड्दै अनूदित पुस्तकबारे चर्चा गरिनेछ।
जीवविज्ञान पढ्ने र वनस्पति नामकरण सम्बन्धी जानकारी राख्नेका निम्ति हूकर परिचित नाम हो। केही दशकअघिसम्म वनस्पति विज्ञान अन्तर्गत स्नातक तहमा हूकर र तिनका मित्र जर्ज बेन्थामले लेखेको वनस्पति वर्गीकरण प्रणाली पढ्नुपर्थ्यो। धेरै देशहरूमा करीब १३३ वर्षसम्म उक्त प्रणालीकै आधारमा वनस्पति वर्गीकरण गरियो। उक्त प्रणाली वनस्पतिको प्राकृतिक गुण सम्बन्धका आधारमा स्थापित थियो भने अहिले वनस्पतिको वर्गीकरणमा क्रम विकास सहित आनुवंशिक तथ्याङ्क समावेश गरिन्छ (उक्त प्रणाली मुख्य गरी वनस्पतिको मोर्फोलोजिक स्ट्रक्चर अर्थात् रूपात्मक संरचनाको आधारमा निर्माण गरिएको हो।
हिजोआज वनस्पतिको वर्गीकरणमा आनुवंशिक संरचना पनि समावेश गरिन्छ)। हूकर र बेन्थामको समयमा आनुवंशिक तथ्याङ्क सम्बन्धी अध्ययन शुरू भएकै थिएन। सन् २०१६ मा एन्जिओस्पर्म फाइलोजेनी ग्रूप (एपीजी) प्रणालीको चौथो संशोधन प्रकाशन भएयता हूकर र बेन्थामको वनस्पति वर्गीकरण प्रणाली अनुरूप वर्गीकरण गर्न छाडिएको छ। यद्यपि, आजपर्यन्त उक्त प्रणालीबारे नेपाल सहित विश्वभरका विश्वविद्यालयहरूमा पढाइन्छ। यस्तै, हूकरले फ्लोरा अफ ब्रिटिश इन्डिया पुस्तक सात भागमा लेखे। नेपालमा दुई दशकअघिसम्म मुख्य गरी तिनै पुस्तकका आधारमा वनस्पति पहिचान गरिन्थ्यो।
हूकर यात्रा
हूकर सन् १८४८ मा दार्जीलिङ पुगेका थिए। उनी शुरूमा सिक्किममा वनस्पति खोज गर्न चाहन्थे। तर, सिक्किमका तत्कालीन राजा सुग्फु नाम्ग्याल र इस्ट इन्डिया कम्पनी सरकारबीच राम्रो सम्बन्ध नभएका कारण हूकरलाई प्रवेश दिन कम्पनी सरकारले पठाएको अनुरोधपत्र अस्वीकृत भयो।
त्यो वेला हूकरका एक मित्र तथा बेलायत महारानीकी भायसरायका प्रतिनिधि डा. आर्चिबल्ड क्याम्पबेल दार्जीलिङमै थिए। राजा नाम्ग्याललाई मनाउन समय लाग्ने बुझेर क्याम्पबेलले हूकरलाई पूर्वी नेपालको तिब्बती सीमासम्म पठाउन प्रधानमन्त्री जंगबहादुर राणाबाट अनुमति लिन अनुरोध सहित कम्पनी सरकारका नेपाल प्रतिनिधि चाल्र्स थोर्सबीलाई पत्र लेखे। बेलायतसँग नजिकिन खोजिरहेका जंगबहादुरका लागि यो एउटा कडी बन्न पुग्छ। उनले तुरुन्तै ६ जना सिपाही र दुई जना कर्मचारी दार्जीलिङ पठाए।
उनीहरूले हूकरलाई पूर्वी नेपालको कुनै पनि ठाउँमा यात्रा गर्न सक्ने अनुमति लिएर गएका थिए। लाइफ एन्ड लेटर्स अफ सर जोसेफ डाल्टन हूकर भाग १ (सन् १९१८) पुस्तकका अनुसार, कवास्स् (खवास?) जातिको एक हवल्दार (कर्पोरल)को नेतृत्वमा नेपाली सुरक्षा टोली भारतीय सीमासम्म पुगेको थियो। नेपाली टोली पुग्दा सशङ्कित बनेको सिक्किम सरकारका प्रतिनिधिलाई हूकरले त्यो टोली आफ्नो सुरक्षाका निम्ति मात्र खटिएको भनेर बुझाउनुपरेको थियो। त्यसपछि हूकरले कञ्चनजङ्घा पश्चिमको ओलाङचुङगोलासम्म जाने तय गरे।
हूकरको टोली बाहिरी संसारबाट अलग रहेको भूभागको यात्रामा जाँदै गरेकाले आवश्यक सरसामान भरियालाई बोकाएर लैजानुको विकल्प थिएन। खोज्दै जाँदा भुटानबाट भागेर आएका बलियाबाङ्गा भोटेहरू भरिया बन्न तयार भए। अन्ततः ३० जना भरिया सहित हूकरको टोली ५६ जनाको भयो। नेपाली सुरक्षा टोलीले पहिले आफूहरूलाई धेरै जना भरिया चाहिने बताए पनि तिनका लागि दुई भरिया र एक भाषा अनुवादकको व्यवस्था गरिएको थियो।
वनस्पति सङ्कलक प्रमुख एक जना लेप्चा थिए। टोली २७ अक्टोबर १८४८ मा दार्जीलिङबाट इलामतर्फ लाग्यो। भुटानी भरियाहरूले शुरूकै दिनबाट बाटामा दुःख दिन थाले। तिनले हूकरका सामान बिगारिदिन्थे, आफ्ना नाइके र गोरखाली सिपाहीको आदेश मान्दैनथे। त्यसपछि हूकरले नयाँ भरिया खोज्न सिपाहीहरूलाई बाटोमा पर्ने गाउँतिर पठाएर भरियाहरू साटफेर गर्दै गए। यसबाट यात्रामा ढिलाइसँगै झन्झट पनि भयो।
हूकर हरेक साँझ् खानापछि दिनभर सङ्कलन गरेका वनस्पतिको विवरण डायरीमा लेख्थे। टिपोटपछि वनस्पतिको नमूना कागजमा राखेर खात मिलाएर राख्न लगाउँथे। त्यसपछि यात्रा गरेको ठाउँ सहित आसपासको नक्शा बनाउँथे। सबै काम सकेर १० बजेतिर सुत्थे। बिहान हुनासाथ वनस्पति सङ्कलकले राति राखिएको कागजको ठाउँमा नयाँ कागज राख्थे। कागजले वनस्पतिमा रहेको चिसो सोस्छ। दिनैपिच्छे करीब एक साता कागज फेर्दा वनस्पतिमा भएको पानी सोसिन्छ र वनस्पति प्राकृतिक रङ र आकारमा सुक्खा रहन्छ। जसलाई अध्ययनका निम्ति मोटो कागजमा टाँसेर संग्रहालयमा राखिन्छ।
विभिन्न ठाउँको चर्चा गर्दै प्रत्येक दिनजसोको विवरण हूकरले पुस्तकमा लेखेका छन्। त्यसमध्ये यो पंक्तिकारलाई भने ताप्लेजुङको मेरिङदेनस्थित दोभानको विवरण उल्लेखनीय लाग्यो। सन् १८४८ ताका ठूलो बजार रहेछ दोभान, जहाँ नेपाली र तिब्बतीहरू व्यापार गर्थे। तिनले नुन, ऊन, कम्बल, चामल र अन्य वस्तु साटासाट गर्थे। दोभानमै रहँदा हूकरले डा. क्याम्पबेलले पठाएको चिठी पाए। सिक्किमका राजाले हूकरलाई राज्यको कुनै पनि भागमा जान सक्ने अनुमति दिएको व्यहोरा चिठीमा उल्लेख थियो। उनी दङ्ग परे।
हूकरको टोली १८ नोभेम्बरमा ताप्लेजुङको मैवाखोला उपत्यका छाडेर ओलाङचुङगोलातिर अघि बढ्छ। त्यस क्रममा एकपछि अर्को लिम्बू गाउँ भेटिन्छ। पुस्तकमा लिम्बू गाउँ तापेथोकको विशेष चर्चा गरिएको छ। ठूलो र समथर भागमा बसेको तापेथोक पुग्दा हूकरलाई स्कटल्यान्डमा पुगे जस्तो अनुभूति हुन्छ। तापेथोकबाट उनीहरू भोटे बस्ती लेलेपतिर लागे। लेलेपमा काठले बनेका ५० जति घर थिए।
त्यहाँ उस वेला फापर, गहुँ र कोदो रोपिँदो रहेछ। टोली २३ नोभेम्बरमा ओलाङचुङगोला पुग्यो। हूकरले तोङ्बाको स्वादको बयान गर्दै बनाउने विधिबारे पनि विस्तारमा चर्चा गरेका छन्। विशेष गरी गर्मी याममा लामो यात्रा गर्दा शीतल ठाउँमा बसेर बाँसको भाँडोबाट तोङ्बा तान्दाको आनन्द उनको सम्झनामा गहिरो गरी बसेको देखिन्छ।
कुनै वेला हिमनदीले बगाएर ल्याएको ढुङ्गा, माटो थुप्रिएर बनेको ठाउँ कालान्तरमा मैदान भएको र त्यही ओलाङचुङगोला भएको हूकरको अनुमान छ। करीब १०० वटा घर रहेको त्यस ठाउँमा ठूलो संख्यामा तिब्बती मूलका मानिसहरूको बसोबास थियो। एउटै घरमा अहिलेको अपार्टमेन्टमा जस्तो थुप्रै परिवार बस्थे। गाउँभरि सयौं अग्ला लिङ्गा ठड्याएर तिनमा ध्वजा-पताका झुन्ड्याइएका थिए। हिजोआज त्यहाँ ५५ वटा जति घर छन्।
हूकरले जङ्गली याकबारे पनि चर्चा गरेका छन्। उनले सुने अनुसार जङ्गली याकले मानिसलाई चाट्यो भने त्यो भागको छाला र मासु नै निकाल्छ। जङ्गली याकलाई हत्तपत्त समाउन सकिन्न, यसले सिङ र छाती दुवैले आक्रमण गर्छ। तिब्बतीहरूले विवाह र अन्य ठूला उत्सवका भोजभतेरमा याकको सिङमा रक्सी भरेर पिउँदा रहेछन्। ओलाङचुङगोलासँग जोडेर जङ्गली याकको विवरण लेखिनुको कारण त्यहाँ जङ्गली याक थिए। हिजोआज त्यहाँका बासिन्दाले बताए अनुसार, चार-पाँच दशकअघि त्यता जङ्गली याक यदाकदा देखिन्थे।
ओलाङचुङगोलामा तिब्बती समुदायले नेपाल सरकारलाई तिरो तिर्थ्यो। त्यस बापत नेपाल सरकारले उनीहरूलाई त्यहाँ व्यापार गर्न छूट दिएको थियो। उनी गाइड र केही भरिया लिएर २५ नोभेम्बरमा ओलाङचुङ भञ्ज्याङतर्फ लागे। त्यस यात्रामा करीब चार हजार मिटर उचाइमा उनलाई पहिलो पटक लेक लाग्यो। एक पाइला पनि सार्न नसक्ने भए।
त्यस दिन नजिकैको पाटीमा बास बसेर उनीहरू भोलिपल्ट ओलाङचुङ भञ्ज्याङ पुगे। त्यहाँबाट तिब्बती भूमि देखियो। ओलाङचुङ फर्केर उनीहरूले याङ्मा, कांगलाछे भञ्ज्याङ र कञ्चनजङ्घालाई नजिकैबाट नियाले। तार्बु गाउँ हुँदै हालको सिरजंघा ७ स्थित खेबाङ गाउँ पुगे। नेपालमा ४९ दिनको बसाइपछि हूकर सिक्किमतर्फ लागे। सिक्किममा राजाले पठाएका मानिसबाट खातिरदारी पाए।
उति वेला जुन्नु भनिने कुम्भकर्ण हिमालको दृश्यपान गरेर हूकर मोहित भए। उनले लेखेका छन्, “हिमालयको लगातार भइरहेको परिवर्तनको दृश्यले मलाई नयाँ दृष्टि दियो। त्यो प्राकृतिक सिर्जना साँच्चै जादुमयी थियो र त्यसको प्रभाव चलायमान दृश्य हेरेको जस्तो थियो। विज्ञान र कलाको कुनै पनि स्तरको संयोजनले यस्ता दृश्य सिर्जना गर्न सकिंदैन।”
हूकरले पुस्तकमा उल्लेख गरेको ‘मुर्मी’ भनेको तामाङ जाति हो। उनले मुर्मीलाई ‘निशुङ’ भन्छन् भनेर पनि लेखेका छन्। निशुङ जातिको बसोबास भुटानमा छ। यस्तै, उनले मगर जाति सिक्किममा उहिलेदेखि थिए भनेका छन्। पूर्वी नेपालमा सेन राज्य रहँदा मगरलाई राज्यको किल्ला रक्षा गर्न लगेको हुनुपर्छ। शाहकालमै नेपालको सिमाना टिष्टासम्म पुर्याइएको थियो।
शरदचन्द्र दासले जर्नी टु ल्हासा एन्ड सेन्ट्रल टिबेट पुस्तक (सन् १९०३)मा पनि पूर्वी नेपालको तिब्बती नाका नजिक मगर जातिको नाइकेसँग सम्पर्क भएको उल्लेख छ। ताप्लेजुङ जिल्लाको सुदूर उत्तर-पूर्वी गाउँहरूमा पटक पटक पुगेर अध्ययन गरेका मानवशास्त्री दिलविक्रम आङ्देम्बेका अनुसार, त्यहाँ मगरगढी अर्थात् मगरजोङ छ। त्यहाँका भोटेहरूले अझै पनि मगरको देउता ग्याप्लो मान्छन्।
जंगबहादुरसँगको भेट
२७ फेब्रुअरी १८४९ मा हूकर नेपाल सम्बन्धी विविध विषयका अन्वेषक ब्रायन हज्सन बसेको ठाउँ तित्लैया जान्छन्। त्यहाँबाट पंखबारीमा बास बस्छन् र त्यसपछि मेची नदीसम्म पुग्छन्। नेपालतर्फको बयान गर्दै उनले त्यस वेला मेची नदी आसपासका क्षेत्रमा बाघ, गैंडा र हात्ती प्रशस्त पाइने लेखेका छन्। नदीको पश्चिमतिर साल र सिसौका ठूल्ठूला रूख काटेर उजाड पारिएको देख्दा हूकर खिन्न भएका थिए। रूख फँडानी गरी काठ भारत निकासी गरिन्थ्यो।
सिक्किमका जुनसुकै भागमा जाने अनुमति पाएपछि हूकर गुराँस फुल्ने याममा त्यहाँको लाचेन, लाचुङ, युम्थाङ लगायत ठाउँमा पुगे। नेपाल र सिक्किममा सङ्कलित गुराँस प्रजातिबारे पुस्तक लेख्ने क्रममा उनलाई बेलायतको रोयल बोटानिक गार्डेन्स, क्यूका निर्देशक रहेका बुबा सर विलियम ज्याक्सन हूकरले सघाउँछन्। सन् १८४९ मा उनको पुस्तक रोडोडेन्ड्रन्स अफ सिक्किम हिमालय बेलायतबाट प्रकाशन भयो। सन् २०१७ मा प्रकाशित ‘रिट्रेसिङ जोसेफ हुकर्स रुट्स इन द सिक्किम हिमालय’ शीर्षकको लेख अनुसार, हूकरले सिक्किमबाट पठाएका गुराँसको १८ प्याकेट बीउ १८५० अप्रिलमा रोयल बोटानिक गार्डेन्स क्यूमा प्राप्त भएको थियो। यसको केही वर्षपछि बेलायतमा गुराँसको बिरुवा प्रशस्त उमारिएका थिए।
वनस्पति अनुसन्धान गर्न हूकर फेरि एक पटक नेपाल प्रवेश गर्न चाहन्थे। उनले दार्जीलिङबाट काठमाडौं जाने योजना बनाएका थिए, तर त्यसका निम्ति प्रधानमन्त्री जंगबहादुर राणा समक्ष बिन्ती चढाउनुपर्थ्यो। जंगबहादुर करीब एक वर्षका लागि बेलायत भ्रमणमा जाने सिलसिलामा कलकत्ता पुगेका थिए। हूकर कलकत्ता पुग्दा जंगबहादुरले शिष्टाचार भेट दिए। उनले हूकरलाई नेपालमा स्वागत गर्न ठूलो इच्छा रहेको तर आफू नै देश बाहिर भएको वेला सुरक्षा सुनिश्चितता गर्न नसक्ने बताए। बरु बेलायतबाट फर्के लगत्तै अनुमति दिने बताए।
हूकर त्यति लामो समय पर्खन सक्दैनथे। उनी विश्वविद्यालय पढ्दा ताकाको साथी थोमस थोम्सनसँग असमस्थित खासिया पर्वत शृङ्खलामा गए। उनले २८ जनवरी १८५१ मा भारत छाडे।
‘हूक्डटएफडट’
हूकर र थोमस थोम्सन लिखित फ्लोरा इन्डिका भाग १ (सन् १८५५) मा नेपालबाट सङ्कलित फूल फुल्ने वनस्पतिका ५० भन्दा बढी प्रजाति समेटिएका छन्। त्यसमध्ये आधा दर्जन प्रजाति लेखकद्वयले नयाँ पत्ता लगाएका छन्। फ्लोरा इन्डिकाको दोस्रो भाग प्रकाशन भएन। हूकरले दार्जीलिङ-सिक्किमबाट मात्र वनस्पतिका करीब तीन हजार नयाँ प्रजाति पत्ता लगाएका छन्। तीमध्ये धेरैजसो नेपालमा पनि पाइन्छन्। नेपालमा सूचीकृत ३२ प्रजातिका गुराँसमध्ये १८ प्रजाति उनैले पत्ता लगाएका हुन्।
गुराँस प्रजातिको अध्ययनमा हूकरले गरेको योगदानको सम्मान गर्दै सन् १८५३ मा बेलायतका जीव वैज्ञानिक थोमस नुटलले एक गुराँस प्रजाति उनकै नामबाट रोडोडेन्ड्रन हूकेरी राखे। हूकरको सम्मानमा वनस्पति प्रजातिको वैज्ञानिक नाम जुराएर हूकेरी, हूकेरियना, हूकेरियनम राखिएको प्रशस्त पाइन्छ।
हूकरले दक्षिण र दक्षिण-पूर्व एशियाका साथै विश्वका विभिन्न भागमा पुगेर वनस्पतिको खोज-अनुसन्धान गरे। उनले २५ वर्ष लगाएर फ्लोरा अफ ब्रिटिश इन्डिया पुस्तक तयार पारे। त्यसमा वनस्पतिका करीब १७ हजार प्रजाति समावेश छन्, जसमा नेपालबाट सङ्कलन गरिएका ७०० भन्दा बढी प्रजाति छन्। आफ्नो वनस्पति अध्ययन यात्रामा हूकरले जम्मा १६ हजार हाराहारीमा नयाँ प्रजाति पत्ता लगाए। उनले पत्ता लगाएका सम्पूर्ण वनस्पति प्रजातिको वैज्ञानिक नामपछि हूक्डटएफडट लेखिन्छ। नेपालमा पाइने तिउरी जाति (इम्पाटियन्स)का ५७ प्रजातिमध्ये २७ वटा उनैले पत्ता लगाएका हुन्।
हूकरको समग्र काम र योगदानबारे पायोनियर प्लान्ट जियोग्राफीः द फाइटोजियोग्राफिकल रिसर्चेज् अफ सर जोसेफ डाल्टन हूकर पुस्तक (सन् १९५३) प्रकाशित छ। हूकरको वनस्पति अनुसन्धानबारे चर्चा गर्दा उनी तिब्बतमा पुगेको कुरा छुटाउन हुन्न। उनी तिब्बत अनधिकृत प्रवेश गरेको आरोपमा जेल परेका थिए। उनले सङ्कलन गरेका नमूनाहरू खोसिएका थिए।
वनस्पति खोजमा जस्तोसुकै मूल्य चुकाउन पछि नपर्ने वैज्ञानिकको पूर्वी नेपालको भ्रमणबारे नेपालीमा पढ्न पाउनु हाम्रो निम्ति हर्ष र गौरवको विषय हो। इतिहास, भूगोल, समाज, मानव, राजनीतिशास्त्र तथा जैविक विविधतामा रुचि राख्नेहरूलाई कञ्चनजङ्घा जुहार पठनीय सामग्री हो।
(मादेन वनस्पतिविद् हुन्। हिमालको २०७९ मंसीर अंकबाट।)