विश्वकपमा बिर्सिइएको टोली
कतारमा जारी विश्वकपको रौनकले विश्वलाई छोपिरहँदा त्यहाँ रङ्गशाला बनाउँदा ज्यान गुमाउनेका परिवारको पीडा ओझेल परेको छ।
मंसीर ४ गते नेपालमा प्रदेश तथा प्रतिनिधि सभा सदस्य छान्न मतदान सकिएको केही घण्टापछि दोहामा विश्वकप फूटबलको उद्घाटन भयो। सन् २०१० मा आयोजक छानिँदादेखि नै कतारले खाडी क्षेत्रमा पहिलो पटक आइपुगेको अवसर शानदार र स्मरणीय बनाउन विशाल संरचना तयार पारेको थियो। २२० अर्ब अमेरिकी डलर खर्चेर छोटो समयमै आठ वटा रङ्गशाला, विमानस्थल, सडक र होटलहरू बनायो। ताकि विश्वभरका उत्कृष्ट ३२ फूटबल टोली, तीसँगै आउने पाहुना, दर्शक कसैले असुविधा भोग्न नपरोस्।
विश्व फूटबलका महारथीहरूबीच ट्रफी उचाल्ने उल्लास चलिरहँदा यो महाकुम्भ सफल बनाउन सघाउने खास टोलीको भने कुनै चर्चा छैन। त्यो फूटबल खेलको जस्तो ११ जनाको टोली होइन। न त त्यसको नेतृत्व लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो, क्लियन एमबाप्पेहरूले गरेका हुन्। यो त गरीब देशका लाखौं कामदारकोे टोली थियो जो जीविकाकै लागि कतारको रङ्गशाला रङ्ग्याउन खटिएको थियो।
काम सकियो, सँगै थुप्रैको जीवन सकियो। उपादेयता सकिएकाहरूलाई घर फर्काइयो। विश्वकपका संरचना तयार पार्दा ज्यान गुमाउनेमा नेपाली पनि थुप्रै छन्। हजारौं जना घाइते भएर फर्किएका छन्। चर्को गर्मीमा खटिँदा चक्कर लाग्ने समस्या उब्जिएपछि कति कामदार पैसाको साटो औषधि बोकेर गाउँ पुगेका छन्। ज्यान गुमाउनेका परिवार बेसहारा छन्। छोराछोरीको भविष्य उज्ज्वल बनाउन ४५ डिग्री तापक्रममा हड्डी खियाउनेहरू ‘कफिन’ मा बाँधिएर आए।
दशैं ताकाको एक शनिबार सर्लाहीको हरिवन पुग्दा सञ्जु जैसवालका तीन छोराछोरी आँगनमा खेलिरहेका थिए। एउटा घर तीन दाजुभाइलाई भाग लगाइएको छ। पतिको भागमा परेको दुइटा कोठामा गुजारा चलाउँदै छिन् सञ्जु। भर्खर २४ वर्षकी उनी छोराछोरीको जिम्मेवारी एक्लै उठाउँदै छिन्। पति अम्रिसको कतारमै सडक दुर्घटनामा ज्यान गयो। उनी निर्माणाधीन रङ्गशाला नजिकै खाना पुर् याउने काम गर्थे। परिवारलाई बीमा बापतको केही रकम आयो। तर, परिवारले सञ्जुले पैसा लिएर जालिन् भनेर ब्याङ्कबाट निकाल्नै दिएन। छोराछोरी नजिकै निजी विद्यालयमा पढ्छन्। विद्यालयले एक वर्षसम्मको ७५ हजार रुपैयाँ शुल्क नतिरे नपढाउने सूचना पठाएको छ।
अब बालबच्चाको पढाइ खर्च कसरी जुटाउने? बाँकी जीवन कसरी धान्ने? सामुन्ने चुनौतीको पहाड छ।
कतारले रङ्गशाला बनाउन थालेयता वार्षिक करीब दुई लाख नेपाली त्यहाँ गएका छन्। सन् २०१० यता तीमध्ये २१ सय जति बाकसमा फर्किएको सरकारी तथ्याङ्कले देखाउँछ। मधेशका गाउँ घुम्दा परिवारका सदस्य वैदेशिक रोजगारीमा नगएको घर भेट्न मुश्किल पर्छ। अनि वैदेशिक रोजगारीले आफन्त खोसेकाहरू टोलैपिच्छेजसो छन्। ज्यान गुमाउने अधिकांश २० देखि ४० वर्ष उमेर समूहका छन्।
रोजगारीमा जाने अधिकांशको प्रयोजन हुन्छ- घरव्यवहार चलाउने, छोराछोरी राम्रो विद्यालयमा पढाउने र दुई-चार पैसा जोगाएर भविष्य सुरक्षित गर्ने। आफूले भोगेको दुःख, अभाव, साहुको दबाब सन्ततिले नभोगून् भनेर गाउँ छाड्नेहरू थुप्रै छन्। अनि गाउँ छाड्न तम्तयार रहेकाहरूको लर्को अझ लामो छ।
दैनिक रातो बाकसमा फर्कनेहरूको लर्कोले तिनलाई रोक्न सकेको छैन। सरकारका लागि त यी सबै दृश्य सामान्य उपक्रमभन्दा बढी छैनन्। देशभित्रै रोजगारी सिर्जना गरेर ‘शव आपूर्ति’ को यो चक्र रोक्नेतर्फ कसैको ध्यान छैन। त्यसैले आफ्नो दुखेसो सबैलाई सुनाउँदै हिंड्नुभन्दा ऋण गरेर भए पनि खाडी पस्न उद्यत छन् नागरिक।
सञ्जुको घरभन्दा केही किलोमिटर माथि भुट्केनीका शम्भु चौधरीले २० वर्षअघि भेडा चढाएर कतारको जागीर थालेका थिए। पछिल्लो तीन वर्ष भने दोहामा रङ्गशाला बनाउन खटिए। रङ्गशाला ठडिएपछि कतारले बिदामा घर पठाइदियो। फेरि बोलाउँछ÷बोलाउँदैन, अत्तोपत्तो छैन। प्रयोजन सकिएपछि तीन महीनाका लागि घर फर्काइएका यस्ता थुप्रै कामदार महीनौं बित्दा पनि जान पाएका छैनन्।
जारी विश्वकपको अन्तिम खेल खेलाइने सबैभन्दा भव्य लुसैल रङ्गशाला बनाउन खटिएका शम्भु आफू चाहिं खपटाले छाएको एकतले घरमा बस्छन्। पक्की घर बनाउन सकेका छैनन्। भए जति पैसा जन्मजात हातखुट्टा नचल्ने छोराको उपचारमा सिध्याए। ऋणको पासोबाट उम्कन उनले उमेर नपुगेको छोरालाई पनि रोजगारीमा पठाएका थिए, तर कतारले नाबालक भन्दै फिर्ता पठाइदियो। त्यति वेला लिएको ऋण अझै तिरिसकेका छैनन्। त्यसका लागि अब आफैं कतार फर्कने मिति कुरिरहेका छन्। “अब छोरो ठूलो भइसक्यो, उसलाई पनि कुनै खाडी मुलुक पठाउनुपर्ला,” उनी भन्छन्।
सर्लाहीकै घुक्र्यौली चोक नजिकै निर्माण सम्पन्न भइनसकेको घरमा बस्छिन्, सुशीला सुनुवार। उनको परिवारै शोकमा छ। कतारबाट आई फेरि साउदी गएका रोहितकुमार सुतिरहेकै ठाउँमा मृत भेटिए। दुबईमा काम गरिरहेका माइला भाइ सुरेश दाहसंस्कारका लागि घर आएका थिए। रिहादमा काम गर्ने जेठा दाइ अर्जुनकुमार पनि बिरामी भएर फर्किएका छन्। गाउँमा खेती गर्न पुग्दो जमीन नभएकाले फेरि विदेश नगए परिवारको गुजारा चल्दैन। अब कसो गर्ने हो, अर्जुन अलमलमा छन्।
नेपाली अर्थतन्त्र वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको टेकोमा उभिएको छ। यसैबाट धेरैको घर चलेको छ। केहीको परिवार उजाडिएको पनि छ। तर, मधेशका भित्री गाउँ घुम्दा लाग्छ, वैदेशिक रोजगारी हुँदैनथ्यो त उहिल्यै सामाजिक विद्रोह भइसक्थ्यो।
हरेक वर्ष ६ लाख हाराहारी नेपाली युवा रोजगारी खोज्दै देश छोड्छन्। तिनमा आधाजसो मधेशतिरकै हुन्छन् । धनी-गरीबको खाडल निकै गहिरो छ त्यहाँ। दाइजो जस्तो कुप्रथाले यसरी जगडेको छ कि गरीबहरू ऋणको चक्रबाट उम्कनै सक्दैनन्। विकल्पहीन भएपछि सबैको बाटो उही हुन्छ, वैदेशिक रोजगारी। औपचारिक प्रमाणपत्रका लागि केही दिन वा साताको सीप लिए जस्तो गरे पनि अधिकांश व्यक्ति कुन कामलाई गएका हुन्, कुनै जानकारी हुँदैन। खाडीमा पुग्नु नै जीवनको सर्वाधिक सफलता जस्तो बनेको छ, उनीहरूलाई। नहोस् पनि किन? गाउँमा न खेतीपाती छ न रोजगारी। वार्षिक ३० प्रतिशतसम्म ब्याजमा ऋण लिएर कहिलेसम्म घर धान्न सक्नु?
वैदेशिक रोजगारीमा पठाउन ‘फ्री भिसा फ्री टिकट’ को सरकारी नियम भए पनि जानेहरू आफूसँग दुईदेखि तीन लाख रुपैयाँसम्म उठाइएको बताउँछन्। त्यसैले विदेश पुगेको कति समय त जाँदा लागेको ऋण तिर्ने सकसमै बित्छ। त्यहाँ पनि भने अनुसारको काम नपाए ऋण तिर्नु त परै, पूरै परिवारै झन् गहिरो आर्थिक सङ्कटमा परेका दृष्टान्त अनगिन्ती छन्।
सरकारी तथ्याङ्क अनुसार, २०६४ सालमा वैदेशिक रोजगार बोर्डको स्थापना भएयता ११ हजारभन्दा बढी नेपाली कामदारले विदेशमा ज्यान गुमाइसकेका छन्। तर, सरकारी प्रशासक र अन्य सरोकारवालाको काम देश छोड्ने युवाको संख्या र खाडीबाट फर्केका लास गन्ने मात्र भएको छ।
कतारमा भएको नेपाली नागरिकको मृत्यु, श्रम शोषण र दुव्र्यवहारका विषयमा विभिन्न अधिकारवादी संस्थाले आवाज उठाइरहेका छन्। तर, नेपाली कामदारको हकहितमा नेपाल सरकार र मातहतका कूटनीतिक निकायले पहल गरेका छैनन्। कामदारले उठाएका माग राज्यले उठाइदिए मात्र पनि रोजगारीका लागि त्यहाँ पुगेका नेपाली नै लाभान्वित हुने थिए।
दुःख पर्दा सहयोग गर्ने न परदेशमा छन् न स्वदेशमा। कोभिड-१९ महामारीमा सरकारले घर फर्कनसम्म दिएन। त्यति वेला ज्यान गुमाएकाहरूको लाससम्म ल्याउन रोक्यो। विदेशी भूमिमै तिनको अन्त्येष्टि गरियो। यी सबै यथार्थ आँखैसामु छन्। तापनि, युवासँग विदेशिनुको विकल्प छैन।
कतारमा फूटबल र नेपालमा मतदानको उत्सव चलिरहँदा पनि झण्डै दुई हजार नागरिकले रोजगारीको खोजीमा देश छोडे। “नेपालमा काम छैन। कतार त जानैपर्छ,” पहिलो पटक १८ वर्षको उमेरमा कतार पुगेका धनुषाका अर्जुन कुमार चौथो पटक जानुअघि त्रिभुवन विमानस्थलमा भन्दै थिए, “घरमा छोरा, आमाबाउ छन्। मैले काम नगरे के खाएर बस्ने? यहाँ त केही उपाय छैन।”