अर्जेन्टिना र नेदरल्यान्ड्स आज राति भिड्दै, को बलियो?
फिफा विश्वकप अन्तर्गत आज राति दोस्रो क्वार्टरफाइनलमा नेदरल्यान्ड्स र अर्जेन्टिना भिड्न लागेका छन्।
नेदरल्यान्ड्स र अर्जेन्टिनाको खेल आज राति १२ः४५ बजे कतारको लुसैल आइकोनिक रङ्गशालामा हुनेछ। यो रङ्गशालाको क्षमता ८८ हजार ९६६ दर्शक अटाउने रहेको छ।
कतार विश्वकपमा अमेरिकालाई प्रिक्वार्टरफाइनलमा हराउँदै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा पुगेको हो। त्यस्तै, अस्ट्रेलियालाई हराउँदै अर्जेन्टिनाले क्वार्टरफाइनलको यात्रा तय गरेको हो।
नेदरल्यान्ड्सले खेलका पछिल्ला पाँच खेलमा चार खेल जितेको छ भने एउटा खेल बराबरी भएको थियो। त्यस्तै, अर्जेन्टिनाले पछिल्लो पाँच खेलमा चार खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ।
यसै गरी, नेदरल्यान्ड्स र अर्जेन्टिनाबीच भएका विश्वकपका पछिल्ला पाँच खेलमा दुवै टोली बराबर देखिएका छन्। पाँच खेलमा दुवै टोलीले दुई-दुई खेल जितेका थिए भने एउटा खेल बराबरीमा टुङ्गिएको थियो।
पछिल्लो पटक नेदरल्यान्ड्स र अर्जेन्टिनाको सन् २०१४ को विश्वकपको सेमिफाइनलमा भेट भएको थियो। यो खेलमा अर्जेन्टिनाले पेनाल्टीमा ४-२ गोल अन्तरले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो।
त्यसअघि सन् २००६ को विश्वकपमा समूह चरणको खेल बराबरीमा टुङ्गिएको थियो। सन् १९९८ को विश्वकपको क्वार्टरफाइनलमा पनि नेदरल्यान्ड्स र अर्जेन्टिना भिडेका थिए। जसमा नेदरल्यान्ड्सले अर्जेन्टिनालाई २-१ ले गोल अन्तरले पराजित गरेको थियो।
त्यस्तै, नेदरल्यान्ड्स र अर्जेन्टिनाबीच सन् १९७८ को विश्वकपको फाइनलमा भेट भएको थियो। फाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो।
विश्वकपमा नेदरल्यान्ड्स र अर्जेन्टिनाको पहिलो भेट सन् १९७४ मा भएको थियो। समूह चरणको खेलमा नेदरल्यान्ड्सले अर्जेन्टिनालाई ४-१ गोल अन्तरले पराजित गरेको थियो।
नेदरल्यान्ड्सले विश्वकपमा खेलेका सबै क्वार्टरफाइनलमा खेल जितेको छ। यसअघि सन् १९९८, २०१० र २०१४ मा क्वार्टरफाइनल खेलेको थियो।
अर्जेन्टिनाको विश्वकपको नकआउट चरणमा यूरोपियन देश विरुद्धको रेकर्ड भने राम्रो छैन। अर्जेन्टिनाले नकआउट चरणका पछिल्ला नौ खेलमा यूरोपियन देशसँगै हार बेहोर्नुपरेको छ। जसमा नेदरल्यान्ड्ससँगको सन् १९९८ को क्वार्टरफाइनल खेल पनि समावेश छ।