आरोहणमा पाइला चाल्दै नेपाली आमा
पुरुषप्रधान पर्वतारोहण व्यवसायमा महत्त्वाकांक्षी महिला आरोहीले नयाँ धार सिर्जना गर्दै छन्।
नेपाली आरोही पूर्णिमा श्रेष्ठको अनुभव के छ भने हिमालमा असीमित ऊर्जा छ। “मैले हिमाल आरोहण गर्दा अद्वितीय अनुभव गर्न पाएँ। साथै आरोहणका चुनौती र सफलता पनि उत्तिकै रामोञ्चक लाग्नेछ,” श्रेष्ठ भन्छिन्, “कञ्चनजंघाको सफल आरोहणपछि शिखरमा खुशीले कराएँ। जबकि, चौथो शिविरबाट शिखरसम्म पुग्न २२ घण्टा लाग्यो। त्यो गजबको अनुभवबारे सोच्दा अझै पनि भावुक हुन्छु।”
३१ वर्षीया श्रेष्ठ पुरुष बहुल आरोहण व्यवसायमा नयाँ पुस्ताकी महिला हुन्। उनले नेपालका आठ हजार मिटर माथिका साट वटा शिखरको सफलतापूर्वक आरोहण गरेकी छन्। त्यसोे गर्ने उनी एक्ली महिला हुन्। अब उनको लक्ष्य १४ वटा हिमशिखर आरोहण गर्नेछ। त्यसमा सफल भइन् भने उनी १४ चुचुरा आरोहण गर्ने विश्वकै थोरै मान्छेमा पर्नेछिन्।
उनको आरोही बन्ने सपना तथा चाहना केही थिएन। गोरखाबाट काठमाडौं आएपछि उनी पढाइ सकेर फोटो पत्रकार बनिन्। कामको सिलसिलामा जब सन् २०१६ मा उनले सगरमाथा क्षेत्रमा आयोजना गरिएको ‘एभरेस्ट म्याराथन’ को फोटो खिच्न जानुपर्यो, तब हिमाली संसारबारे थाहा पाइन्।
“हिमाल देखेपछि म त यति साह्रै रत्तिएँ कि मलाई हिमाली क्षेत्रमा आउन किन यत्रो वर्ष लगाएँ भन्ने थकथकी भइरह्यो। मैले साथीहरूलाई सगरमाथा शिखर आरोहण गर्ने आफ्नो अभिलाषा सुनाएँ,” श्रेष्ठ भन्छिन्, “मलाई संसारको सर्वोच्च शिखर आरोहण गर्नुको अनुभव हासिल गर्न मन लाग्यो। शिखरबाट हेर्दा कस्तो देखिएला भन्ने जान्न मन लाग्यो। त्यो काम कति गाह्रो छ भन्ने जान्न मन लाग्यो।”
साथीहरूसँग ऋण सापट लिएर उनले ८,१६३ मिटरको मनास्लु हिमशिखरको सफलतापूर्वक आरोहण गरिन्। त्यो उनको पहिलो उच्च शिखरको आरोहण थियो। साथै, त्यस आरोहणले उनको क्षमताको पनि परीक्षण गरेको थियो। “ओहो, त्यो आरोहण त साँच्चै गाह्रो थियो,” श्रेष्ठ भन्छिन्।
उनले आरोहण कति गाह्रो रहेछ भन्ने महसूस गरिन्। “त्यति खेर मैले थाहा पाएँ कि मानिसहरूले किन मलाई आरोहण जान निरुत्साहित पार्न खोजेका रहेछन्। तर, भाग्यले हामीलाई साथ दियो, त्यो दिन मौसम पनि राम्रो थियो र हाम्रो टोली पनि राम्रो थियो,” उनी भन्छिन्, “जसै मैले आरोहण सम्पन्न गरें, मेरो वाहवाही हुन थाल्यो। आखिर आरुघाटकी मैले त्यसअघि पाँच हजार मिटरमाथिको शिखर चढेकी पनि त थिइनँ।”
मनास्लु चढेको एक वर्षमै उनले सगरमाथाको सफलतापूर्वक आरोहण गरिन्। “सगरमाथा आरोहण मनास्लुभन्दा गाह्रो थियो। सगरमाथापछि त मलाई अब फेरि फोटो पत्रकारितामा फर्किऊँ कि जस्तो लागेको थियो,” श्रेष्ठ भन्छिन्, “तर, आफूसँग भएको भन्दा धेरै चाहनु मानवीय स्वभाव नै हो। आरोहण यात्रा सगरमाथापछि पनि जारी रह्यो, त्यो नै अन्तिम आरोहण भएन। त्यसयता आरोहण निरन्तर जस्तै छ।”
सन् १९५३ मा पहिलो पटक मानव पाइला सगरमाथामा राख्ने सर एडमन्ड हिलरीसँगै नेपाली आरोही तेन्जिङ नोर्गे शेर्पा पनि थिए। नेपालीले पहिलो पटक सगरमाथामा पाइला राखेको ४० वर्षपछि पासाङ ल्हामु शेर्पाले सफलतापूर्वक सगरमाथा आरोहण गरेकी थिइन्, तर दुर्भाग्य शिखरबाट फर्कने क्रममा उनले मृत्युवरण गर्न पुगिन्।
सन् २०२१ अप्रिलमा श्रेष्ठ र पाँच अन्य महिलाले ८,०९१ मिटरको अन्नपूर्ण प्रथमको आरोहण गरे। उनीहरू यो शिखर आरोहण गर्ने पहिलो नेपाली महिला थिए।
“अन्नपूर्णको आरोहण तयारी गरिरहँदा मलाई के लाग्यो भने नेपाली महिला आरोहणमा कति पछि परेका छन्, किनभने अहिलेसम्म कुनै नेपाली महिलाले अन्नपूर्ण आरोहण गरेकै रहेनछन्,” उनी भन्छिन्, “आरोहणमा समर्पित महिला त औंलामा गन्न सकिने गरी सीमित छन्।”
पहिलो सगरमाथा सफल आरोही पासाङ ल्हामु शेर्पालाई नेपालले राष्ट्रिय विभूतिमा राखेको छ। यद्यपि सांस्कृतिक र आर्थिक कारणले महिलालाई आरोहणमा लाग्न सजिलो छैन।
सन् २०१४ को आरोहणले महिला आरोहणलाई चर्चामा ल्याएको थियो। नेपालकी पत्रकार तथा कमेडियन शैली बस्नेतले महिला टोलीको नेतृत्व गरेकी थिइन्, जसले सातवटै महादेशका सात उच्च शिखर आरोहण गर्ने लक्ष्य लिएको थियो।
दावा याङ्जुम शेर्पा, पासाङ ल्हामु शेर्पा अकिता र माया शेर्पाले ‘बौलाहा शिखर’ को उपनाम पाएको पाकिस्तानस्थित ‘केटू’ हिमशिखर चढ्ने पहिलो नेपाली महिलाको रेकर्ड राख्न सफल भए।
पूर्वी नेपालको रोल्वालिङ उपत्यकामा हुर्केकी दावा याङ्जुम शेर्पा जो ट्रेकिङ गाइडका रूपमा कार्यरत थिइन्, उनले सन् २०१२ मा सगरमाथा आरोहण अभियानमा संलग्न हुने अवसर पाइन्। त्यो उनले पाएको ऐतिहासिक अवसर थियो, किनकि त्यसले उच्च हिमाली शिखरमा गाइडका रूपमा महिलालाई सहभागी हुने अवसर प्रदान गरेको थियो।
सन् २०१७ मा २७ वर्षको उमेरमा उनले ‘माउन्टेन गाइड एशोसिएशन’ को अन्तर्राष्ट्रिय संगठनबाट महिला गाइडको प्रमाणपत्र पाउनु पनि आफैंमा एउटा अर्को कीर्तिमान थियो।
“त्यसपछि त मेरा लागि अवसरका ढोका खुले। प्रमाणपत्र पाएपछि मैले नेपाल बाहेक रसिया र अमेरिकामा आरोहणको नेतृत्व गर्न पाएँ। मैले पहिलो नेपाली नर्थ फेस एथलिट हुने सौभाग्य पनि पाएँ,” उनले भनिन्।
जब पासाङ ल्हामु शेर्पा अकिताले विद्यालय शिक्षापछि आरोहण गाइडका रूपमा तालीम लिन थालिन्, त्यो वेला सबै आरोहण गाइड पुरुष मात्रै थिए। यसले पनि उनलाई पहिलो महिला गाइड हुने हुटहुटी जाग्यो। सन् २००६ मा उनले फ्रान्समा ‘माउन्टेनीयरिङ’ पढ्न जाने छात्रवृत्ति पाइन् र नेपालको पहिलो ‘माउन्टेनीयरिङ इन्स्ट्रक्टर’ हुन सफल भइन्।
उनले नेपाल र अमेरिकामा गाइडका रूपमा काम गरेकी छिन्। हाल उनी काठमाडौंमा बसोबास गर्छिन्। सन् २०१६ मा छोरा जन्मिएपछि उनले केही समय विश्राम लिएकी थिइन्।
“छोरासँग बिताएका यी चार वर्ष मेरो जीवनको उत्कृष्ट दिनमा पर्छन्। तर, मलाई हिमालको न्यास्रो पनि लागिरहेको छ,” ३८ वर्षीया शेर्पा भन्छिन्, “त्यसै वेला कोभिड महामारी फैलियो, म केही मोटाएँ, मानसिक, भावनात्मक सबै कुरा नै परिवर्तित भएका थिए। म फेरि आरोहणमा जान पाउँछु/पाउँदिनँ भन्ने पनि थाहा थिएन।”
तर, सन् २०२१ मा उनी दावा याङ्जुम शेर्पा, पूर्णिमा श्रेष्ठ र अन्य तीन महिला आरोहीसँग अन्नपूर्ण पहिलोको आरोहणमा गइन्। “म गाइडका रूपमा नगएकीले खासै दबाब पनि लिइनँ। मलाई छोराको खूब न्यास्रो लागेको थियो, तर धेरै साथीहरूसँग उच्च शिखरमा जान पाउनु पनि राम्रै अनुभव थियो,” उनी भन्छिन्।
कोरोना महामारीले आरोहण ठप्पै भयो। व्यावसायिक आरोहण र ट्रेकिङका पहिला गरिएका बुकिङहरू रद्द हुँदै गए। यसले महिला आरोहीलाई आनन्दपूर्वक आरोहण गर्ने अवसर दियो।
दावा याङ्जुमको आफैं आरोहणमा जाने सोच थिएन। “यसअघि म १४ उच्च हिमशिखर आरोहण गर्ने काममा संलग्न भएको थिइनँ। म त आरोहण गाइड र आरोहण प्रशिक्षणमै बढी ध्यान दिन चाहन्थें। यसलाई पेशा बनाउन चाहन्थें, आफैं आरोहण गर्ने भन्ने सोच थिएन,” दावा भन्छिन्, “तर, आठ हजार मिटर माथिको आठ वटा शिखर चढिसकेपछि मलाई आरोहण पनि राम्रो लाग्न थाल्यो। जब म आफैं आरोहणमा गएकी हुन्छु, त्यो वेला बिदा मनाउन गएको जस्तो लाग्छ।”
१४ वटा चुचुरो चढ्न यी तीनै जना आरोहीलाई सबैभन्दा ठूलो बाधा भनेको आर्थिक समस्या हो। श्रेष्ठले नेपाल बाहिरबाट अहिलेसम्म कुनै सहयोग पाएकी छैनन्, तर सहयोग मिल्यो भने अग्ला १४ हिमशिखर एक-दुई वर्षभित्रै चढिसक्ने उनको अठोट छ।
“मैले यस ग्रहको सर्वोत्तम उचाइ देखिसकेकाले यसको गहिराइ पनि नाप्ने रहर छ। न्याशनल जियोग्राफी र डिस्कभरी च्यानलहरूका लागि आउटडोर फोटोग्राफर र साहसिक काम गर्ने मन छ,” श्रेष्ठ भन्छिन्।
हाल दावाले महिलालाई आरोहण तालीम दिइरहेकी छन्, जसले एक दिन उनले जस्तै आरोहणको बाटो पछ्याउनेछन्। उनले हालसम्म खुम्बु क्लाइम्बिङ सेन्टरमा ४० महिलालाई आरोहण प्रशिक्षण दिइसकेकी छन्। यो काममा ‘दिदी अभियान’ ले सघाएको छ, जसले हिमाली क्षेत्रको महिलालाई जीविकोपार्जनमा सघाउने उद्देश्य लिएको छ।
पासाङ ल्हामु शेर्पा अकितालाई उनको उपलब्धिले युवा महिलालाई प्रेरणा जगाउने आशा छ। “म के चाहन्छु भने अरू दिदीबहिनीले पनि यस्तो काम गर्न सकिन्छ भन्ने बुझून्। मलाई धेरैले ‘बिहा गरेपछि के गर्छौ’ भनेर सोध्थे। यदि मैले बच्चा पाइसकेपछि पनि आरोहण जारी राखें भने अब आरोहणमा लाग्नेले ‘ए गर्ने हो भने त सकिंदो रहेछ नि’ भन्ने बुझ्नेछन्,” उनी भन्छिन्, “मलाई एक दिन यो सुन्ने अभिलाषा छ कि मानिसले (मेरो छोरालाई) भनून्- ए, तिम्री आमा हिमालमा छिन्, ठिकै छ नि, के भो र!”
(गार्डियनमा प्रकाशित रिपोर्टलाई महेश्वर आचार्यले अनुवाद गरेका हुन्।)