प्रतिनिधि सभामा कुन पार्टीले कति सीट जिते?
समानुपातिकतर्फको मतगणना सकिएसँगै प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ।
निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको मतपरिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ। यससँगै आयोगले सबै दलले पाएको समानुपातिकतर्फको सीट संख्या पनि तोकेको छ।
प्रत्यक्ष र समानुपातिक गरी नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ। कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सीट जितेको छ। दोस्रो नम्बरमा रहेको नेकपा (एमाले)ले प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ गरी ७८ सीट जितेको छ।
नेकपा (माओवादी केन्द्र) तेस्रो दल बनेको छ। माओवादीले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ १४ गरी ३२ सीट जितेको छ। चौथो पार्टीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ। स्वतन्त्र पार्टीको प्रत्यक्षतर्फ सात र समानुपातिकमा १३ गरी २० सीट पुगेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौं नम्बरमा आएको छ। राप्रपाले प्रत्यक्षतर्फ सात र समानुपातिकमा सात गरी १४ सीट जितेको छ। त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)ले प्रत्यक्षमा सात र समानुपातिकमा पाँच गरी १२ सीट जितेको छ।
प्रत्यक्षतर्फ १० सीट जितेको नेकपा (एकीकृत समाजवादी)ले समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन सकेन। जसले गर्दा समानुपातिकको मत खेर गएको छ। एकीकृत समाजवादीको १० सीट मात्रै भएको छ।
जनमत पार्टीले प्रत्यक्षतर्फ एक र समानुपातिकतर्फ पाँच गरी ६ सीट जितेको छ। प्रत्यक्षतर्फ चार सीट जितेको लोकतान्त्रिक समाजवादी पार्टीले समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन सकेन। जसले गर्दा लोसपाको समानुपातिकको मत खेर गएको छ। लोसपाको चार सीट मात्रै भएको छ।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टीको तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टीले एक–एक सीट जितेका छन्। यी पार्टीले प्रत्यक्षतर्फ जित हासिल गरे पनि समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन सकेनन्।
यसै गरी, प्रतिनिधि सभामा पाँच जना स्वतन्त्र उम्मेदवार पनि निर्वाचित भएका छन्।