महाअभियोग जीवितै छ, आगामी संसद्मा छलफल हुन्छ: सरकार
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव जीवितै रहेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्।
बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीले महाअभियोग प्रस्ताव अघि बढ्ने बताएका हुन्। “महाअभियोग प्रस्ताव जीवितै छ,” सरकारका प्रवक्ता कार्कीले भने, “यसमाथि अब आउने प्रतिनिधि सभामा छलफल गरेर एउटा निर्णयमा पुग्छौं।”
उनले महाअभियोग प्रस्तावमाथि संसदीय समितिमा छलफल भएर प्रतिवेदन तयार भइसकेको उल्लेख त्यो संसद्को सम्पत्ति भएको जिकिर गरे। “महाअभियोगमा छलफल भएर, त्यो छलफलको प्रतिवेदनमाथि अर्को प्रतिनिधि सभामा छलफल हुन्छ,” उनले भने, “यो सार्वभौम सम्पन्न संसद्को सम्पत्ति हो।”
सत्तारुढ गठबन्धनका ९५ जनामा सांसदले गत फागुन १ गते जबराविरुद्ध प्रतिनिधि सभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए। त्यसमा संसद्को महाअभियोग सिफारिश समितिले छानबिन गरेर प्रतिवेदन बुझाएको थियो। जसमा महाअभियोग लगाउन सिफारिश गरिएको थियो।
तर, आम निर्वाचन घोषणा भइसकेकाले गत असोज १ गते संसद् अधिवेशन अन्त्य भएको थियो। जसले गर्दा महाअभियोग प्रस्ताव टुंगो लाग्न सकेको थिएन।
बुधबार संसद् सचिवालयले महाअभियोग प्रस्ताव निष्क्रिय भएको उल्लेख गर्दै जबरालाई पत्र पठाएको थियो। त्यसमाथि प्रक्रिया जनाउँदै सरकार प्रवक्ता कार्कीले महाअभियोग प्रस्ताव जिवित रहेको दाबी गरेका हुन्।