फोहोरले जीवन धानेकाहरू
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान गर्ने खबरले पोखरेली त खुशी छन्, तर नजिकै रहेको ल्यान्डफिल साइटमा काम गर्ने मजदुरलाई भने चिन्तित बनाएको छ।
टाउकोमा दुई वटा टोपी, खुट्टामा गम्बुुट, हातमा पञ्जा। पोखरा महानगरपालिका-१४, बाच्छेबुडुवास्थित ल्यान्डफिल साइटमा बिहानै पुग्ने, गीता गोतामेकाे पहिरण हाे, याे। फोहोरको डंगुरमा गिद्धले आहारा खोजिरहँदा उनी भने नकुहिने फोहोर संकलन गरिरहेकी हुन्छिन्।
म्याग्दी स्थायी घर भएकी गोतामेले फोहोर संकलनका लागि ल्यान्डफिल साइट धाउन थालेको केही महीना मात्रै भएको छ। २८ वर्षीया गोतामे दुई वटा सन्तान पाल्नका लागि फोहोर संकलनको काम गरिरहेको बताउँछिन्। श्रीमानले छोडेपछि कामको खोजीमा उनले पोखराका थुप्रै ठाउँ चहारिन्। कतै केही काम नपाएपछि फोहोर संकलन गर्न थालेको उनी बताउँछिन्।
“शुरुमा गाह्रो भएको थियो, अब फोहोरमा काम गर्ने बानी परिसक्यो,” उनी भन्छिन्, “पढाइ-लेखाइ गर्न पाएको भए राम्रो काम पाउँथे। पढाइ छैन, अब अरू के काम पाउनु?”
त्यही फोहोरको डंगुरबीच भेटिइन्, रेखा बुढा मगर। उनी पोख्रेलीले फालेको फोहोरबाट नकुहिने फोहोर छुट्याँउदै थिइन्। दिनभर फोहोर छुट्याएपछि साँझ चार सय रुपैयाँ हात पर्छ। यहि पैसाले चार जना छोराछोरीको हातमुख जोर्ने गरेको उनी बताउँछिन्। “गुजारा चलेको छ,” उनी भन्छिन्।
उनी तीन वर्षअघि रोल्पाबाट पोखरा आएकी थिइन्। चार छोराछोरी हुर्काउन र स्कूल पढाउन अप्ठ्यारो भयो। मुस्किलले ल्यान्डफिल साइटमा प्लास्टिक छुट्याउने काम पाएको बताउँदै मगर भन्छिन्, “फोहोरमा काम गर्न गाह्रो छ, जेनतेन धानेकी छु।”
निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै छ ल्यान्डफिल साइट। विमानस्थल सञ्चालनका लागि ल्यान्डफिल साइट सार्ने तयारी हुँदै छ। त्यो खबरले भने यहाँ काम गर्ने मजदुरलाई चिन्ता थपेको छ।
पोखरा विमानस्थलबाट पुस १७ देखि व्यवसायिक उडान गर्ने तयारी छ। यसका लागि बाच्छेबुडुवाबाट ल्यान्डफिल साइट अन्यत्र सार्ने तयारी भइरहेको छ। उसो त ल्यान्डफिल साइटका लागि गरिएको १५ वर्षे सहमति पनि तीन वर्ष अघि नै सकिएको छ।
यसको विकल्पमा अर्को ठाउँ व्यवस्थापन गर्न पोखरा महानगरका मेयर धनराज आचार्य दौडधुपमा छन्। केही ठाउँमा अध्ययन भइरहेको महानगरले जनाएको छ। तर, अर्को ठाउँ भेटिएको छैन।
अहिले पोखरा महानगरभित्र दैनिक दुई सय टनभन्दा बढी फोहोर संकलन हुने गरेको छ। फोहोर संकलनका लागि पोखराको सडकमा २७ वटा गाडी गुड्छन्। ती फोहोरबाट नकुहिने फोहोरको व्यवस्थापन छुट्याउने जिम्मेवारी विश्वास कन्स्ट्रक्सनले पाएको छ।
कन्स्ट्रक्सनका सञ्चालक सुजन गुरुङ अहिले दैनिक एक हजार दुई सय किलोग्राम प्लास्टिक ल्यान्डफिल साइटबाट निकालिने गरेको छ। ल्यान्डफिलमा काम गर्ने मजदुरबाट कम्पनीले प्रतिकिलो ११ रुपैयाँको दरले प्लास्टिक किन्ने गरेको छ। अहिले दैनिक ज्यालादारीमा ५० भन्दा बढी मजदुर काम गर्दै आएका छन्।
यसरी बिहानदेखि साँझसम्म फोहोर छुट्याउने काममा अधिकांश महिला छन्। पोखराको फोहोरमा निर्भर उनीहरूको दैनिकी सजिलो छैन। पोखराको पृथ्वीचोककी ३२ वर्षीया मिना परियार ल्यान्डफिल साइटमा काम गर्न आएको तीन वर्ष भइसक्यो। श्रीमानले छोडेपछि तीन छोराछोरी हुर्काइरहेकी दैनिक चार सय रुपैयाँसम्म कमाउँछिन्। “फोहोरमा काम गर्न गाह्रो छ, काम गर्दागर्दै बिरामी भइन्छ,” उनी भन्छिन्, “के गर्नु, अरू काम पाइँदैन।”
दैनिकी चलाउनकै लागि हरेक दिन फोहोरको डंगुरमा पुग्ने शोभा गुरुङलाई शुरूको एक साता फोहोर छुनै सकसक लागेको थियो। विस्तारै बानी परेको बताउँदै उनी भन्छिन्, “अहिले त फोहोरको गन्ध गनाउँदैन, फोहोर छुन घिन लाग्दैन।” अहिले उनलाई काम गर्न लागेको नौ महीना भइसक्यो।
ससाना बालबालिका हुर्काउन मात्रै होइन, हुर्किसकेका छोराछोरी बेरोजगार हुँदा पनि आमाहरू फोहोरसँग संगत गर्न बाध्य छन्। ल्यान्डफिल साइट नजिकै बस्दै आएकी ओखलढुंगाकी फुर्वा शेर्पा ६० वर्षकी भइन्। छोराछोरी हुर्कि पनि सके, तर आफैले काम गर्नु परिरहेको छ। “सबै बेरोजगार छन्, मैले काम नगरे खानै पुग्दैन,” शेर्पा भन्छिन्।
पोखरा विमानस्थलसँगै उनलाई कुनै लिनुदिनु छैन। उनलाई लाग्छ, त्यहाँ उनले काम पाउने पनि होइन। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने लागेको खुशी भन्दा ल्यान्डफिल साइट सार्न लागिएकोमा चिन्ता लागेको छ। यसैबाट दैनिकी चलिरहेको बताउँदै उनी भन्छिन्, “ल्यान्डफिल साइट सार्दै छन् भन्ने सुनेकी छु। फोहोर जता जान्छ, म त्यतै जान्छु। काम गर्नै पर्यो।”