समानुपातिकको मतगणना सकियो, एकीकृत समाजवादी राष्ट्रिय दल बन्नबाट वञ्चित
निर्वाचन आयोगले मंसीर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको जनाएको छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको कुल मतदानमध्ये एक करोड पाँच लाख ६० हजार ६७ मत सदर भएको जानकारी दिए। अन्तिम मतपरिणाम अनुसार सबैभन्दा धेरै नेकपा (एमाले)ले समानुपातिकतर्फ २८ लाख ४५ हजार ६४१ मत पाएको छ। यो कुल सदर मतको २६.९४ प्रतिशत हो।
नेपाली कांग्रेसले समानुपातिकमा २७ लाख १५ हजार २२५ मत पाएको छ। यो कुल सदर मतको २५.७१ प्रतिशत हो। एमालेले कांग्रेसको भन्दा एक लाख ३० हजार मत बढी पाएको छ।
समानुपातिकको अन्तिम परिणाम अनुसार, एमाले र कांग्रेस सहित सात दलले मात्र समानुपातिकतर्फको ११० सीटको हिस्सा पाउने भएका छन्। कानून अनुसार, समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत पाउने दल मात्र समानुपातिकतर्फको सीट बाँडफाँडका लागि योग्य हुन्छन्। यो सीमा पार गर्ने मत नल्याउने दलको समानुपातिकतर्फको मत खेर जान्छ अर्थात् सीट पाउँदैन।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनको दफा ६० (१२)ले ‘दलहरूले प्राप्त गरेको कूल सदर मत गणना गर्दा ३ प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दलले प्राप्त गरेको मत दलले प्राप्त गरेको कूल मतमा गणना गरिने छैन’ भन्ने व्यवस्था गरेको छ।
नेकपा (माओवादी केन्द्र)ले ११ लाख ७५ हजार ६८४ मत पाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकतर्फ चौथो स्थानमा रहँदै ११ लाख ३० हजार ३४४ मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार ८४९ मत ल्याएको छ।
त्यसै गरी, जनता समाजवादी पार्टी नेपालले समानुपातिकतर्फ चार लाख २१ हजार ३१३ मत ल्याएको छ। सीके राउतको जनमत पार्टीले पनि समानुपातिकतर्फ ‘थ्रेसहोल्ड’ पार गर्दै तीन लाख ९४ हजार ६५५ मत पाएको छ।
माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी)ले भने समानुपातिकतर्फको ‘थ्रेसहोल्ड’ पार गर्न सकेन। एकीकृत समाजवादीले दुई लाख ९८ हजार ३९१ मत मात्र पाएको छ। ‘थ्रेसहोल्ड’ पूरा गर्न तीन लाख १६ हजार ८०२ मत चाहिन्थ्यो। एकीकृत समाजवादीले तोकिएको सीमाभन्दा १८ हजार ४११ मत कम पाएको छ। ‘थ्रेसहोल्ड’ पूरा गर्न नसक्दा एकीकृत समाजवादीले समानुपातिक प्रणालीमा सीट र राष्ट्रिय दलको मान्यता पाउँदैन।
निर्वाचन आयोगका अनुसार, एक करोड ७९ लाख ८८ हजार मतदातामध्ये यो निर्वाचनमा ६१ प्रतिशत अर्थात् एक करोड नौ लाख ७२ हजार हाराहारी मतदाताले मतदान गरेका थिए।