गलत समाचार नियन्त्रण गर्न एक करोड ८० लाख पाउण्ड
संयुक्त राष्ट्रसङ्घले पूर्वी यूरोपमा बेलायतविरोधी गलत तथा भ्रामक समाचारलाई नियमन गर्न एक करोड ८० लाख पाउण्डस्टर्लिङ बजेटको व्यवस्था गर्ने भएको छ ।
उक्त बजेटले पश्चिमी बाल्कन क्षेत्रमा बेलायतविरोधी भ्रम छर्न प्रयोग हुने झुटा समाचार प्रकाशनमा नियमन गर्ने र स्वतन्त्र सञ्चार माध्यमलाई मजबुत गरिने बताइएको छ ।
“कोषले केही दबिएका समुदायका बारेमा लेख्ने पत्रकारलाई सहयोग गर्ने र भ्रामक तथा तथ्यहीन समाचारलाई हतोत्साहित गर्ने छ,” बेलायती विदेशमन्त्री जेरमी हन्टलाई उद्धृत गरी जारी गरिएको सरकारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
द्वन्द्व, स्थिरता र सुरक्षा कोषबाट लिइने उक्त बजेट आगामी तीन बर्षमा खर्च गरिने बेलायती अधिकारीले बताएका छन् । “विश्वका जम्मा १० प्रतिशत सञ्चारमाध्यमले स्वतन्त्र सञ्चारमाध्यममा पहुँच राख्ने गरेकाले भ्रामक तथा गलत समाचारले समाजमा भ्रम छर्ने र यसका कारण समाजको अवमूल्यन हुनुका साथै समाजमा अस्थिरता निम्त्याउने गरेको देखिएको छ,” सरकारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सार्वजनिक विज्ञप्तिमा खासगरी सालिसबरी घटनापछि बेलायतले भ्रामक समाचारविरोधि अभियानलाई विश्वव्यापी बनाएको जनाइएको छ ।
बेलायतले यसै हप्ता सञ्चारमाध्यमको स्वतन्त्रताका लागि विश्वव्यापी सम्मेलनको आयोजना गरेको केही दिन पछि भ्रामक समाचार विरोधी अभियानका लागि नयाँ व्यवस्था भएको हो ।
प्याकेज पूर्वी यूरोप तथा मध्य एशियामा स्वतन्त्र सञ्चारमाध्यमका लागि भ्रामक सूचना प्रवाहलाई रोक्ने पाँच बर्षे अभियानस्वरूप ल्याइएको हो ।
एएनआई