‘हाम्रा माग सम्बोधन गर्नेलाई समर्थन गर्छौं’
‘हामीलाई न्याय देऊ भनेर तीन पटक हाम्रो पक्षमा मतदान भइसकेको छ। जनताको अदालतबाट त हामीले मुक्ति पाइसकेका छौं, तर राज्यले त्यसलाई सम्बोधन गरेको छैन।’
प्रतिनिधि सभा सदस्यको निर्वाचनमा तीन सीट जितेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक हुन्, रेशम चौधरी। उन्मुक्ति पार्टीले प्रदेशमा आठ सीट जितेको छ। समानुपातिकतर्फ ‘थ्रेसहोल्ड’ कटाउन मुश्किल भइरहेको उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ६९६ मत पाएको छ।
२०७२ भदौ ७ गते कैलालीको टीकापुर घटनामा संलग्न भएको अभियोगमा जेल सजाय भोगिरहेका चौधरी निर्वाचन परिणाम आएसँगै चर्चामा छन्। सरकार गठनका लागि बहुमत जुटाउन कसरत गरिरहेका नेताहरूले उन्मुक्ति पार्टीको समर्थन खोजिरहेका छन्। यसै सन्दर्भमा चौधरीसँग राससका लागि टीकाराम सुनार र सीबी अधिकारीले गरेको कुराकानीः
भर्खरै आम निर्वाचन सम्पन्न भएको छ। निर्वाचनलाई कसरी लिनुभएको छ?
निर्वाचन जनमत परीक्षण गर्ने विधि हो। यसलाई नागरिक उन्मुक्ति पार्टीले स्वाभाविक रूपमा लिएको छ। यस पटकको निर्वाचनमा पुराना दलप्रतिको वितृष्णा र नयाँ दलप्रतिको आकर्षण देखियो। जनताले परिवर्तन चाहेको देखिएको छ।
निर्वाचनमा पहिलो पटक भाग लिएको नागरिक उन्मुक्ति पार्टीले ल्याएको मतपरिणामलाई कसरी समीक्षा गर्नुभएको छ?
निर्वाचनबाट हाम्रो पार्टीको विचार र मुद्दा अनुमोदन भएको छ। जनताले हाम्रा मुद्दालाई २०७४ देखि नै समर्थन गरिरहेका छन्। हामीलाई न्याय देऊ भनेर तीन पटक हाम्रो पक्षमा मतदान भइसकेको छ। जनताको अदालतबाट त हामीले मुक्ति पाइसकेका छौं, तर राज्यले त्यसलाई सम्बोधन गरेको छैन।
जहाँसम्म परिणामको कुरा छ, हामीले छोटो समयमा संघ र प्रदेशमा गरी १२ सांसद पाउँदै छौं। पाँच निर्वाचन क्षेत्रमा हाम्रो पार्टीका उम्मेदवार २०० भन्दा कम र नौ स्थानमा एक हजारभन्दा कम मतले पराजित हुनुभएको छ। स्थानीय तहमा करीब १०० जना साथीहरू निर्वाचित भइसक्नुभएको छ।
तपाईंको पार्टीले पाएको मतलाई कसरी विश्लेषण गर्नुहुन्छ?
टीकापुर घटना राजनीतिक प्रकृतिको हो। तर, पनि हाम्रा साथीहरू जेलमा हुनुहुन्छ। कैयौंले मुद्दा खेपिरहनुभएको छ। यस पटक हामीले तीन प्रकारका मतदाताबाट माया पायौं। टीकापुर घटनाले मन दुःखेका, हाम्रो न्यायका लागि मत राख्नेहरू र नयाँ अपेक्षा राख्ने मतदाताले हामीलाई सहयोग र समर्थन गरी मतदान गर्नुभएको छ।
अरूबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ?
म पुराना दल तथा नेताबाट व्यक्त विचार हेरिरहेको र सुनिरहेको छु। उहाँहरूले हामीलाई बिलाएर जान्छन्, अस्तित्व छैन, दृष्टिकोण नै नभएका भन्ने खालका लाञ्छना लगाइरहनुभएको छ। तर, हामीलाई यस्तो आरोप लगाइरहँदा हाम्रो घोषणापत्र एक पटक अध्ययन गरेर मात्र बोलिदिएको भए हुन्थ्यो भन्ने लाग्छ।
मधेशकेन्द्रित दल र पूर्व सहकर्मीप्रतिको बुझाइ के छ?
उहाँहरूप्रति खास केही भन्नु छैन। मैले उहाँहरूलाई सडकमा गइदिनुस्, माइकमा मात्रै बोलेर हुँदैन भनेको थिएँ। तर, उहाँहरूले सहानुभूति बटुल्न मात्रै बोल्नुभयो। यसमा निकै दुःख लागेको छ। त्यहाँका जनताले पनि मत मार्फत उहाँहरूप्रतिको गुनासो व्यक्त गरिसकेका छन्।
अर्को, चन्द्रकान्त (सीके) राउत मूलधारको राजनीतिमा आउनु स्वागतयोग्य कुरा हो। उहाँको जनमत पार्टी मधेशमा वैकल्पिक शक्तिका रूपमा उदाएको छ। बाँकी त हेर्नु नै छ।
निर्वाचनको अन्तिम परिणाम पनि आउने क्रममा छ, सरकार गठनका लागि छलफल पनि भइरहेको छ। यसबीचमा तपाईंसँग कसैको कुराकानी भएको छ?
म आठ वर्षदेखि जेलमा छु। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) सधैं सरकारमै छन्। मधेशकेन्द्रित दलका नेताहरू पनि कुनै न कुनै रूपमा सरकारमै हुनुहुन्छ। उहाँहरूबाट हेर्न केही बाँकी छैन। कुराकानी भए पनि नतीजा नदेखिएसम्म अर्थ रहन्न।
सरकार गठनमा तपाईंहरूको भूमिका के हुन्छ?
हामी सबैसँग सकारात्मक नै छौं। जबसम्म हाम्रा मुद्दा सम्बोधन हुँदैनन्, तबसम्म कुनै विकल्पमा जाँदैनौं। कुरा प्रष्ट छ, जुन बाटोबाट म लगायत थुप्रै साथीहरू थुनियौं, मुद्दा खेप्यौं, त्यसबाट मुक्त गर्नुपर्यो।
त्यसो भए तपाईंहरूको मुख्य माग के हो त?
हाम्रा माग पुरानै छन्। पटक पटक उहाँहरूलाई भनिएकै हो। टीकापुर घटना राजनीतिक प्रकृतिको हो, त्यही अनुसार व्यवहार गरिनुपर्थ्यो, हालसम्म गरिएको छैन। फेरि पनि ती माग जसले सम्बोधन गर्ने प्रतिबद्धता जनाउँछ, उसैसँग सहकार्य हुन्छ। त्यो भनेको रिहाइ र सम्मानजनक क्षतिपूर्तिको व्यवस्था गरिनुपर्छ।