नेपालमा विद्यालय शिक्षाको गुणस्तर सुधार्न एडीबीले २६ अर्ब ऋण दिने
एशियाली विकास ब्यांक (एडीबी)ले नेपाललाई २० करोड अमेरिकी डलर (करीब २६ अर्ब रुपैयाँ) ऋण दिने भएको छ।
ब्यांकले नेपालको शिक्षा क्षेत्रको सुधारका लागि यो सहुलियतपूर्ण ऋण दिने प्रस्ताव अनुमोदन गरेको जनाएको छ। नेपाल सरकारको विद्यालय शिक्षा क्षेत्र योजना सन् २०२१–३० कार्यान्वयनका लागि यो रकम खर्च गरिनेछ। यो योजनामा एडीबी सहित आठ विकास साझेदारले सहायता गर्नेछन्।
यो योजनाले आधारभूत र माध्यमिक विद्यालयका विद्यार्थीको सिकाइमा सुधार ल्याउन, विद्यालयमा शिक्षणको गुणस्तर उकास्न, कोभिड–१९ का कारण विद्यार्थीको सिकाइमा परेको असरलाई न्यूनीकरण गर्न तथा शिक्षा क्षेत्रको योजना र कार्यक्रम निर्माणका लागि स्थानीय तहको क्षमता अभिवृद्धि गर्न सहयोग गर्नेछ।
कक्षा ११ र १२ का विद्यार्थी खास गरी छात्राको विज्ञान शिक्षा पढ्ने अवसर वृद्धि गर्न यो योजनाले विद्यालयको स्तरोन्नति गर्नेछ। त्यसै गरी, कक्षा ९ देखि १२ सम्मको गरीब विद्यार्थी छात्रवृत्ति कार्यक्रमलाई विस्तार गरेर कक्षा ६ देखि १२ सम्म पुर्याइनेछ।
एडीबीले १० लाख अमेरिकी डलर (करीब १३ करोड रुपैयाँ) बराबरको प्राविधिक सहायता अनुदान पनि दिने निर्णय गरेको छ। नर्वे सरकारले दिएको ६ लाख अमेरिकी डलर (करीब सात करोड ८० लाख रुपैयाँ) अनुदान एडीबी मार्फत परिचालन हुनेछ। यो रकम शिक्षा मन्त्रालयको योजनाको क्षमता विकासका गतिविधि, कार्यक्रम व्यवस्थापन, समन्वय आदिमा खर्च हुनेछ।