फिफा विश्वकप: क्वार्टरफाइनल प्रवेशका लागि चार टोली भिड्दै
फिफा विश्वकप २०२२ अन्तर्गत आज क्वार्टरफाइनल प्रवेशका लागि चार टोलीबीच प्रतिस्पर्धा हुँदै छ।
गएराति भएका खेलमा जापानलाई पराजित गर्दै क्रोएसिया र दक्षिण कोरियालाई पराजित गर्दै ब्राजिल क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। क्रोएसियाले जापानलाई पेनाल्टीमा ३-१ गोल अन्तरले पराजित गरेको हो। निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए।
त्यस्तै, अर्को खेलमा दक्षिण कोरियालाई ४-१ ले पराजित गर्दै ब्राजिल क्वार्टरफाइनलमा प्रवेश गरेको हो। पहिलो हाफमा ब्राजिलले चार गोल गरेको थियो भने दोस्रो हाफमा दक्षिण कोरियाले एक गोल गरेको थियो।
यसअघि अमेरिकालाई पराजित गर्दै नेदरल्यान्ड्स, अस्ट्रेलियालाई पराजित गर्दै अर्जेन्टिना, पोल्यान्डलाई पराजित गर्दै फ्रान्स र सेनेगललाई पराजित गर्दै इङ्ल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरिसकेका छन्।
क्वार्टरफाइनल प्रवेशका लागि आज राति ८:४५ बजे मोरोक्को र स्पेन तथा राति १२:४५ बजे पोर्चुगल र स्वीट्जरल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ। जित हासिल गर्ने दुवै टोलीले क्वार्टरफाइनलमा भिड्नेछन्।
पहिलो क्वार्टरफाइनल मंसीर २३ गते राति ८:४५ बजे क्रोएसिया र ब्राजिलबीच हुनेछ भने दोस्रो क्वार्टरफाइनल राति १२:४५ बजे नेदरल्यान्ड्स र अर्जेन्टिनाबीच हुनेछ।
मंसीर २४ गते राति ८:४५ बजे तेस्रो क्वार्टरफाइनलमा आज राति हुने खेलका विजेता टोली भिड्नेछन्। त्यस्तै, चौथो क्वार्टरफाइनल मंसीर २४ गते राति १२:४५ बजे इङ्ल्यान्ड र फ्रान्सबीच हुनेछ।