दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश
गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन्।
सांसद मनाङेले मंसीर १९ गते विज्ञप्ति जारी गरी एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका छन्। उनी मंसीर ४ गते मतदान हुनुअघि नै मनाङ ‘ख’ बाट प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित भएका थिए। पूर्व मन्त्री समेत रहेका मनाङेले स्वतन्त्र उम्मेदवारी दिएका थिए।
मनाङेले आफू कमाउने उद्धेश्यले नभई सेवाभावले राजनीतिमा प्रवेश गरेको दाबी गरेका छन्। “अतः मेरो यस पवित्र उद्धेश्यसँग मेल खाने नीति, सिद्धान्त र विचार अहिले हाम्रो देशमा रहेका राजनीतिक पार्टीहरू मध्ये नेकपा (एकीकृत समाजवादी) रहेको” मनाङेले विज्ञप्तीमा भनेका छन्, “त्यसमा रहेका नेता कार्यकर्ताहरूको स्वच्छ छवि, मुलुकका लागि केही गरौं भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भई आजैका मितिदेखि नेकपा (एकीकृत समाजवादी)मा आवद्ध हुँदै उक्त पार्टीको मार्ग निर्देशन अनुरुप जनसेवामा सक्रिय रहने कुरा सबैमा हार्दिक अनुरोध गर्दछु।”