किम्फमा ३० देशका ६० फिल्म
आगामी साता आयोजना हुने काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)मा ३० देशका ६० फिल्म प्रदर्शन गरिने भएको छ।
किम्फको २०औं संस्करणमा ६० वटा फिल्म प्रदर्शन गर्न लागिएको छ। यस वर्ष नेपाली पानोरामा विधामा २२ वटा फिल्म प्रदर्शन गरिनेछ। विगतको तुलनामा नेपाली फिल्म निर्माता र नेपाली कथामा फिल्म बन्ने अभ्यास बढेको किम्फ फिल्म निर्देशक रम्यता लिम्बूले बताइन्।
सन् २००० देखि शुरू भएको महोत्सवमा विशेष गरी पर्वत, पर्वतीय क्षेत्रका बासिन्दा, संस्कृति र वातावरण सम्बन्धी फिल्म प्रदर्शन गरिंदै आएको छ। यस वर्षको २०औं संस्करणमा पर्वतीय क्षेत्रका समस्या, चुनौतीलाई विशेष जोड दिएको किम्फ निर्देशक लिम्बूले बताइन्। “नेपाललाई विश्वसामु चिनाउन र नेपालको पर्यटनमा टेवा पुर्याउने उद्देश्यले दुई दशकदेखि किम्फ आयोजना गरिंदै आएको छ, यसले विश्वसामु नेपालको उचाइ बढाउनेछ,” लिम्बूले भनिन्।
२०७२ को विनाशकारी भूकम्प र पछि कोभिड–१९ महामारीले गर्दा किम्फले आर्थिक कठिनाइ बेहोर्दै आएको थियो। यस पटक काठमाडाैं महानगरपालिका लगायतका संघसंस्थाको सहयोगले हौसला मिलेको निर्देशक लिम्बू बताउँछिन्।
किम्फ-२०२२ को उद्घाटनमा हेर्ने कथा शृङ्खला अन्तर्गत बाघको बंगारा प्रदर्शन गरिने भएको छ। त्यस्तै, समापन समारोहमा अस्ट्रेलियन प्याराग्लाइडरले सगरमाथाबाट गरेको प्याराग्लाइडिङमा आधारित फिल्म फ्लाई फ्रम एभरेस्ट प्रदर्शन गरिने भएको छ।
महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ पहिलो, दोस्रो र तेस्रो हुने फिल्मले क्रमशः दुई लाख, एक लाख ५० हजार र एक लाख रुपैयाँ पुरस्कार पाउनेछन्। नेपाली पानारोमा अन्तर्गत उत्कृष्ट फिल्म र डकुमेन्ट्रीले ७५ हजार रुपैयाँ पाउनेछन्।
त्यस्तै, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) सदस्य मुलकबाट छानिएको फिल्मले ‘वेस्ट इसिमोड माउन्टेन फिल्म अवार्ड’ सहित एक हजार अमेरिकी डलर पाउनेछ। दर्शकले मन पराएको फिल्मले ‘किम्फ अडियन्स अवार्ड’ सहित ५० हजार रुपैयाँ पाउनेछ।
किम्फमा भारतीय फिल्म निर्देशक प्रकाश झाको ‘किनोट स्पीच’ रहेको छ। झाले गंगाजल, राजनीति, आरक्षण, सत्याग्रह, डण्र्टी पोलिटिक्स लगायतका चलचित्र निर्देशन गरेका छन्।
जुरीमा जर्मन लेखक, निर्देशक तथा निर्माता माइकल पज, नेपाली एनिमेशन फिल्म निर्माता तथा निर्देशक किरणभक्त जोशी र कोरियाको उल्जु माउन्टेन फिल्म फेस्टिभलका कार्यक्रम निर्देशक जिन्ना ली छन्।
हिमाल एशोसिएशनले आयोजना गर्ने महोत्सव मंसीर २२ देखि २६ गतेसम्म चल्नेछ। महोत्सवमा सहभागी फिल्म राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा प्रदर्शन गरिनेछन्।