मकवानपुरका दुई पत्रकारमाथि हातपात, कारबाहीको माग गर्दै प्रहरीमा किटानी जाहेरी
मकवानपुरका दुई जना पत्रकारमाथि हातपात गर्ने नेपाली कांग्रेसका कार्यकर्तालाई कारबाही गर्न सञ्चार माध्यमसँग संलग्न संघसंस्थाले माग गरेका छन्।
कांग्रेसभित्र आन्तरिक द्वन्द्व रहेको र अन्तर्घातकै कारण गठबन्धनले हार बेहोर्नुपरेको उल्लेख गर्दै बागमती एक्सप्रेस साप्ताहिकमा समाचार प्रकाशित भएको थियो। त्यसलाई लिएर कांग्रेस कार्यकर्ताले पत्रिकाका प्रकाशक रमेश बञ्जरा ‘इन्द्र’ र पत्रकार रामकुमार रिजाल ‘एलन’ माथि हातपात गरेका हुन्। उनीहरूले कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर १ ‘ख’ बाट नवनिर्वाचित प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँ विरुद्ध समाचार लेखेको भन्दै हातपात गरेका हुन्।
गएराति कांग्रेसका युवा नेता राजेश भेटवालको नेतृत्वमा आएको समूहले कुटपिट गरेको बञ्जरा र रिजालले बताएका छन्। कुटपिटमा संलग्न भेटवाल, राजु नगरकोटी, रञ्जन बनियाँ लगायत विरुद्ध जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा किटानी जाहेरी दिइएको छ।
कुटपिट गरेको आरोप लागेका व्यक्तिहरूले भने राजनीतिक आरोप–प्रत्यारोप भन्दा पनि मादकपदार्थ सेवन गरिरहेको वेला भनाभन भएको र सामान्य हात हालाहाल भएको दाबी गरेका छन्।
यसैबीच नेपाल पत्रकार महासंघ, समाजवादी प्रेस संगठन र प्रेस चौतारीले प्रेस विज्ञप्ति जारी गरी कुटपिटमा संलग्नमाथि कारबाही गर्न माग गरेका छन्। पत्रकार मकवानपुर शाखा सचिव शुभलक्ष्मी विश्वकर्मा, समाजवादी प्रेस संगठनका महासचिव भूपराज खड्का र प्रेस चौतारी मकवानपुरका सचिव रुपक कालिराजले प्रेस विज्ञप्ति जारी गरी घटनाको विरोध गरेका हुन्।