विश्वकपमा कसरी चम्किए एशियाली टोली?
फिफा विश्वकप-२०२२ को दुई साताको समूह चरणका खेल सम्पन्न भएसँगै एशियाबाट खेलेका देशको जितको चर्चा चुलिएको छ।
कतार विश्वकपमा एशियाली टोलीले यसअघि हासिल गर्न नसकेका उपलब्धि प्राप्त गरेका छन्। एशियाबाट विश्वकपमा सहभागी ६ राष्ट्रमा दक्षिण कोरिया, जापान र अस्ट्रेलियाले एकै पटक समूह चरण पार गरेका छन्।
समूह चरण पार गर्न नसके पनि साउदी अरबले अर्जेन्टिनालाई हराउनु अर्को सनसनी भयो भने इरानले वेल्सलाई निराश बनायो।
जापान जर्मनी र स्पेनलाई उछिन्दै आफ्नो समूहको शीर्षस्थानमा रहन सफल भयो भने साउदी अरबले गोल अन्तर घटाएर (१-२) मेक्सिकोलाई समूह चरणबाटै घर पठायो। त्यसको फाइदा पोल्यान्डले लियो। तथापि, गएराति भएको नकआउट चरणको पहिलो खेलमा फ्रान्ससँग ३-१ पराजित हुँदै पोल्यान्ड बाहिरिएको छ।
समूह ‘जी’ को महत्त्वपूर्ण खेलमा दक्षिण कोरियाले पोर्चुगल र उरुग्वेलाई पराजित गरेको थियो। जसले गर्दा उरुग्वे समूह चरणबाटै बाहिरिएको थियो।
अस्ट्रेलियाले ट्युनिसिया र यूरो २०२० को सेमिफाइनलमा पुगेको डेनमार्कलाई हराउँदै समूह चरण पार गर्यो।
एशियाबाट खेल्ने राष्ट्रले यी सबै नतीजा उत्कृष्ट टोलीका विरुद्ध हासिल गरेका हुन्। यो विश्वकपमा आयोजक कतार मात्र यस्तो देश रह्यो, जसले आफ्नो समूहमा एक अङ्क पनि जोड्न सकेन।
फूटबल विश्लेषक एशियाली टोलीले आफूभन्दा उत्कृष्ट टोली विरुद्ध खेल्दा साहसी खेल प्रदर्शन गरेको बताउँछन्। उनीहरूले ‘डिफेन्सिभ’ खेल्दै ‘काउन्टर अट्याक’ मा गोल गर्ने शैली पछ्याएकै कारण विपक्षीले धेरै प्रहार गर्न सकेनन्। अर्जेन्टिनामाथि साउदी अरब र जर्मनीमाथि जापानको जित त्यसकै उदाहरण हुन्।
साउदी अरबका डिफेन्डरले अर्जेन्टिनाको खेलमा ‘अफसाइड ट्र्याप’ राखेर रक्षात्मक खेल खेलेका थिए, जसको कारण अर्जेन्टिनाका खेलाडी पहिलो हाफमा मात्रै सात पटक ‘अफसाइड ट्र्याप’ मा परे।
यसैबीच, जापानले जर्मनीलाई कति दबाबमा राख्यो भने विश्वकै उत्कृष्ट लिग खेलिरहेका जर्मन खेलाडीले रोक्न सकेनन्। जापानका आठ खेलाडी जर्मनीका लिगमा व्यावसायिक फूटबल खेलिरहेकाले पनि उनीहरूलाई जर्मन खेलाडीको रणनीति बुझ्न सहज भयो। जर्मन विरुद्ध रित्सु डोआन र ताकुमा असानोले गोल गरेका थिए, जो जर्मन लिगमा खेल्छन्।
यति हुँदाहुँदै पनि एशियाबाट खेलेका देशको जित कम्ता संघर्षपूर्ण थिएन। जापान, साउदी अरब र दक्षिण कोरिया तीनै टीमले आफूपछि परेको अवस्थामा ‘आइकोनिक कमब्याक’ गरेका थिए। एशियाली टोलीका चारै ठूला जित शुरूआतमा ०-१ ले पछि परेको अवस्थामा सम्भव भएको थियो।
उनीहरूले लगातार आफ्ना विपक्षीको कमजोरीमा खेल्दै अवसरलाई खेर जान दिएनन्। जापान र दक्षिण कोरियाले निरन्तर एशियाली देशको प्रतिनिधित्व गर्दै आएका छन्। कोरिया पछिल्ला १० विश्वकपमा सहभागी हुँदै आएको छ। कोरिया सन् २००२ मा सेमिफाइलमा पुगेको थियो।
सन् २०१४ मा कुनै पनि एशियाली टोलीले सन् १९९० पछि पहिलो पटक एउटै खेल पनि जित्न सकेका थिएनन्। गत विश्वकपमा एशियाली टोली धेरै अगाडि नपुगे पनि सन् २०१४ को निराशाबाट भने केही राहत पाएका थिए। सन् २०१८ मा पोल्यान्ड र सेनेगललाई पछि पार्दै जापान ‘नकआउट’ चरणमा पुगेको थियो। त्यसमा भने बेल्जियमसँग ३-२ गोल अन्तरले पराजित भएको थियो।
यसपटक जापान, कोरिया र अस्ट्रेलियाको यूरोपका उत्कृष्ट टोली विरुद्धको जित त्यसै निस्किएको होइन। कोरिया र अस्ट्रेलियाले पछिल्ला वर्षमा फूटबलमा गरेको लगानी लोभलाग्दो नै छ।
त्यस्तै, गत ३० वर्षमा गरेको लगानीको कारण जापानको फूटबल विकसित भएको मानिन्छ। जापानसँग पूुटबलको ‘पावरहाउस’ बन्न विश्वको तेस्रो ठूलो अर्थतन्त्र, फूटबलप्रति राष्ट्रिय भोक, एक प्रमुख घरेलु लिग (जे-लिग) र विश्वकपको सह-आयोजनाबाट प्राप्त आफ्नै पूर्वाधार रहेको एट्लान्टिकले लेखेको छ। सन् २००२ पछिको २० वर्षमा जापानले फूटबलमा गरेको प्रगति यो विश्वकपमा देखिएको छ। जापान र कोरिया सन् २००२ को विश्वकपका संयुक्त आयोजक थिए।
जापानमा ६० भन्दा बढी व्यावसायिक फूटबल क्लब छन्। सन् १९९२ मा स्थापित जे-लिग जापानको सफल फूटबल लिग हो। जापानी राष्ट्रिय टोलीका खेलाडीले जे-लिग खेल्ने गरेका छन्।
अहिले जे-लिगलाई ‘प्रिमियर लिग अफ एशिया’ को रूपमा हेरिन्छ। जे-लिग स्थापित भइसकेपछि जापानको ध्यान यूरोपेली क्लबमा खेल्न सक्ने खेलाडी विकास गर्नेतर्फ केन्द्रित रह्यो। विगतमा यूरोपेली क्लबले जापानी खेलाडी शारीरिक रूपमा सबल नभएको पूर्वाग्रह राख्थे। सोही कारण केही क्लबले जापानी खेलाडीलाई सस्तोमा किनेर सम्भावित ठूलो नाफामा बेच्न थाले। तर, यो संख्या सीमित थियो।
सोही कारण जापानले ६ वर्षअघि सन् २०३० सम्ममा फूटबलर निर्यात गर्ने महत्त्वाकांक्षी योजना ‘प्रोजेक्ट डीएनए’ सार्वजनिक गर्यो। त्यसपछि उधारोमा खेलाडी लिने क्लबसँग नभई उत्कृष्ट एकेडेमी भएका वेस्ट ह्याम युनाइटेड जस्ता टोलीसँग सहकार्य गर्यो। यसपछि जापानी फूटबल स्तर सुदृढ भएको मानिन्छ।
जापानले सन् २००२ को विश्वकप खेल्दा टोलीका चार सदस्य मात्रै विदेशी लिगमा खेलिरहेका थिए। अहिले जापानी राष्ट्रिय टोलीका आठ जना जर्मनको बुन्डेसलिगा खेल्छन्। यो प्रोजेक्ट डीएनएकै परिणाम हो।
नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान राकेश श्रेष्ठ यसअघिका संस्करणमा एशियाली देशले समूह चरण पार गर्नु अविश्वसनीय लागे पनि यो पटक सक्षम देखिएको बताउँछन्। पछिल्ला वर्षमा एशियाली टोलीले शारीरिक र रणनीतिक दुवै रूपमा फड्को मारेको उनको भनाइ छ।
उनका अनुसार, यसअघि यूरोपेली देशको तुलनामा एशियाली देश शारीरिक रूपमा मात्रै कमजोर नभएर रणनीतिक रूपमा समेत फितलो देखिन्थे। तर, यस पटक दुवै पक्षमा बलियो देखिएका छन्। “एशियाली देशले यो पटक नै विश्वकप जित्छ भनेर भन्न हतार हुन्छ, तर यो विश्वकपले त्यो सम्भावना नजिक रहेको देखाएको छ,” पूर्व कप्तान श्रेष्ठ भन्छन्।
आज नकआउट चरणमा एशियाका दुई देश जापान र दक्षिण कोरियाका खेल हुँदै छन्। आज राति ८:४५ बजे जापान र क्रोएसिया भिड्नेछन् भने राति १२:४५ बजे दक्षिण कोरिया र ब्राजिलबीच प्रतिस्पर्धा हुँदै छ।