२२ प्रतिशत खेतमा मात्र रोपाइँ
यो वर्ष पर्याप्त वर्षा नहुँदा पश्चिम दाङका अधिकांश खेतमा अझै धान रोपाइँ हुनसकेको छैन ।
२२ असारसम्म बढीमा २२ प्रतिशत खेतमा मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र घोराहीका प्रमुख कृष्णबहादुर बस्नेतले बताए ।
पानी नहुँदा तुलसीपुर उपमहानगरपालिकाका अधिकांश वडा, दङ्गीशरण, बबई र शान्तिनगर गाउँपालिकाको धेरै खेत बाँझै छन् ।
कतिपय ठाउँका किसानले अझै बीउ पनि राख्न पाएका छैनन भने कतिपय ठाउँमा जसोतसो राखेर रोपाइँका लागि तयार भएको बीउ मर्न थालेको छ ।
छिटफुट रुपमा वर्षा भए पनि खोलामा भेल आउने गरी अझै पानी नपरेको कारण रोपाइँ गर्न नपाएको शान्तिनगर गाउँपालिका–७ धनौराका किसान भानु चौधरीले बताए । “खेत जोतेर ठिक्क पारेको छु, ब्याड पनि रोप्ने भइसक्यो तर कुलोमा पानी छैन ’’, उनले भने ।
समयमा पानी नपरेपछि बोरिङको पानी निकालेर ब्याड पनि पर्याप्त पानी नहुँदा रोप्न नसकेको तुलसीपुर उपमहानगरपालिका–१३ ढकनाका ५० वर्षीया रेशमी भट्टराईले बताइन् ।
कृषि ज्ञान केन्द्र प्रमुख बस्नेतले दाङको देउखुरी, क्षेत्र, घोराही नगरपालिकाका विभिन्न वडा, तुलसीपुर नगरपालिकाका केही वडामा मात्र धान रोपाइँ भएको बताए ।
दाङमा ३९ हजार हेक्टर जमीनमा धान खेती हुँदै आएको केन्द्रले जनाएको छ ।