प्रधानमन्त्रीमा माओवादी दाबी स्वाभाविक: देव गुरुङ
नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले आगामी सरकारको नेतृत्वका लागि आफ्नो पार्टीको दाबी रहने बताएका छन्।
केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महासचिव गुरुङले सरकारको नेतृत्वमा माओवादीको दाबी स्वाभाविक भएको बताएका हुन्। गुरुङले भने, “विगतदेखि भन्दै आएकाले स्वाभाविक ढङ्गले त्यो कुरा उठाउने विषय स्वतः भयो।”
अहिलेको परिवर्तनको वाहक भएको नाताले पनि नेतृत्वको दाबी गर्न स्वाभाविक हुने उनको भनाइ थियो। “संविधान निर्माणमा खेलेको भूमिका, अहिलेको परिवर्तनको मूल वाहकका रूपमा सरकारको नेतृत्व (प्रधानमन्त्री)को दाबी हुने नै भयो,” गुरुङले भने।
यससँगै अहिले त्रिशंकु संसद् भएकाले दलहरूको सहमति आवश्यक हुने उनको भनाइ थियो। महासचिव गुरुङले भने, “अहिले त्रिशंकु संसद् रहेको अवस्थामा आपसी समझदारीबाट जानुको विकल्प देखिंदैन।”
त्यस्तै, माओवादीले अहिले नै गठबन्धनको विकल्प नसोचेको उनले बताए। पदाधिकारी बैठकमा निर्वाचनको समीक्षा भए पनि गठबन्धन र सरकार गठनका विषयमा निर्णय नभएको उनको भनाइ थियो। “गठबन्धन तोड्नुपर्छ, फेर्नुपर्छ भन्ने अवस्थामा पुगेको होइन,” गुरुङले भने।
गठबन्धनको बैठक बसेर यस विषयमा छलफल हुने गुरुङले बताए। त्यसपछि मात्रै अरू विषयमा पार्टीभित्र छलफल हुने उनको भनाइ थियो।